प्रज्ञा–प्रतिष्ठानद्वारा तीन वटा पुरस्कारको स्थापना, ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ सत्यमोहनलाई

प्रज्ञा–प्रतिष्ठानद्वारा तीन वटा पुरस्कारको स्थापना, ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ सत्यमोहनलाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन १, २०७६

 काठमाडौँ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा चार चार वर्षमा प्रदान गरिँदै आइएको  पुरस्कार ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ २०७६/२०७८ का लागि वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई छनोट गरिएको घोषणा  २०७६ भदौ ३१ म‌ंगलबार गरिएको छ ।

राष्ट्रकै सर्वाधिक महत्वपूर्ण  मानिएको पुरस्कार ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ पुरस्कारको राशि नगद  चार लाख रहेको छ ।

यसै गरी प्रज्ञा–प्रतिष्ठानले  अन्य विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा समेत गरेको छ । जसअनुसार प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धरलाई, नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार २०७५–२०७६ का लागि प्रा. डा. टङ्कप्रसाद न्यौपानेलाई, यसरी नै प्रत्येक एक एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ का लागि मदन रेग्मीलाई, २०७६ का लागि भागीरथी श्रेष्ठलाई, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य)लाई, २०७६ का लागि अमृत योञ्जन तामाङलाई, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य)लाई, २०७६ का लागि अशोक थारू (थारू, भाषा–साहित्य)लाई प्रदान गरिने जानाकरी दिइएकाे छ । यी सबै पुरस्कारको राशि नगद एक एक लाख रहेको छ ।
यसै गरी प्रज्ञा–प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेकाे समेत बताएकाे छ । नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार, यसै गरी नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिइने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ । यी पुरस्कारको राशि नगद  एक एक लाख रहने प्रतिष्ठानले जनाएकाे छ । यसरी नै अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापनाको समेत निर्णय गरिएको छ ।

आज प्रज्ञा भवन, कमलादी, काठमाडौँमा बसेको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभाको ३४औँ बैठकले उक्त निर्णय गरेको कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिनुभएकाे छ । 

 साथै प्राज्ञसभाको सो बैठकले गत आ. व. को बजेट अनुमोदन गर्नुका साथै आगामी आ.व. २०७६/२०७७ का लागि नीति, योजना तथा कार्यक्रम पारित र विनियोजित  २३ करोड ७ लाख ३३ हजार रकम बजेट पारित  समेत गरेको छ ।