जनस्वास्थ्य बेहाल : स्वास्थ्यमन्त्रीको यस्तो छ ताल

मन्त्री कि मधेसतिर कि विदेशतिर

जनस्वास्थ्य बेहाल : स्वास्थ्यमन्त्रीको यस्तो छ ताल

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १, २०७६

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव २०७५ जेठ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न आउनुभयो । उपप्रधामन्त्रीसहित पाँच वर्षे स्थायी सरकारको स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिरहनुभएका यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि धेरैले स्वास्थ्य क्षेत्रको आमूल परिवर्तन हुने आशा गरेका थिए।

इतिहासमै सबैभन्दा बलियो स्वास्थ्यमन्त्री पाएपछि मन्त्रालयका उच्चदेखि तल्लो तहका कार्मचारीसमेतले स्वास्थ्य क्षेत्रमा अब ठूलो आमूल परिवर्त हुने आशा गर्नु स्वाभाविक नै हो ।

तर, मन्त्री यादवले जिम्मेवारी सम्हालेको एक वर्षभन्दा बढी भइसक्दा स्वास्थ्य मन्त्रालयको अवस्था हालसम्मकै दयनीय भएको विज्ञहरू बताउँछन्।

मन्त्रालयले संघीय संरचनाअनुसार पुनर्संरचनाको गति लिन सकेको छैन । त्यसमाथि संघीयतताअनुसार स्वास्थ्यका कर्मचारीहरूको समायोजन प्रक्रिया पूरा हुन सकेको पनि छैन भने अर्कोतिर देशभर डेंगुको माहामारीले देश थला पर्न लागेको अवस्था छ ।

मन्त्रीको ताल : कि मधेसतिर कि विदेशतिर

केही दिन अगाडि विश्व स्वास्थ्य संगठनले हेपाटाइटिस ुबीु नियन्त्रण गर्न सफल भएकोमा नेपाललाई बधाई दिने कार्यक्रममा मन्त्री यादव मन्त्रालयका केही उच्च अधिकारीसहित केही दिनका लागि दिल्ली पुग्नुभएको थियो । मन्त्री यादव आजै विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन दुई हप्ताका लागि अमेरिका उड्ने तयारीमा हुनुहुन्छ ।

नेपालमा भएको बेला पनि मन्त्री यादवलाई मन्त्रालयमा कम भेटिन्छ । धेरै समय उहाँ मधेसतिरै रहनुहुन्छ । स्वास्थ्यको काममा उहाँले खासै ध्यान नदिने गरेको मन्त्रालयका मर्मचारीहरू गुनासो गर्छन् ।

मन्त्री यादवले मन्त्रालयको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्र यादवलाई दिँदै आएको मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्रालयको कार्यभार सम्हालेको एक वर्षभन्दा बढी भइसकेको छ । यस समयमा मन्त्री यादव कम्तीमा महिनाको एक पटक कार्यक्रमका लागि भन्दै विदेश जाने गरेका मन्त्रालय स्रोतले बतायो ।‍

पछिल्लो पटक मन्त्री बनेको एक वर्षको अवधिमा यादव २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । लन्डन, टर्कीको आनटल्या, कजकास्तानको अस्तानामा, जेनेभा र भारतमा आयोजना गरिएका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा यादवले सहभागिता जनाइसक्नुभएको छ ।

फैलँदै डेंगुको महामारी, मन्त्रीलाई छैन वास्ता

गत वैशाखमा पहिलो पटक सुनसरीमा देखिएको डेंगु देशभर फैलिएको छ। सुनसरीको एक ठाँउबाट सुरु भएको डेंगुको संक्रमण अहिले ४२ जिल्लामा फैलिइसकेको छ ।

डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान ८५ वटा स्थानीय तहमा सञ्चालन गरिएको भए पनि पनि डेंगु नियन्त्रण हुन सकेको छैन । किट तथा किटजन्य रोग नियन्त्रणका लागि ६ करोड १७ लाख रुपैयाँ विनियोजन भएको भए पनि बजेट खर्च खोज र नष्ट गर्ने अभियानको प्रभावकारितामा हुन सकेको छैन। हालसम्म ४२ जिल्लामा फैलिइसकेको डेंगुका बिरामी पाँच हजारभन्दा बढीमा डेंगु देखिइसकेको मन्त्रालयले जनाएको छ।

हालसम्म देशभरका ५९ भन्दा बढी जिल्लाका ६ हजार ५९१ जनामा डेंगु देखिइसकेको छ भने ६ जनाले डेंगुकै कारणले ज्यान गुमाइसकेका छन् तर स्वास्थ्य मन्त्रालयले कुनै प्रभावकारी योजना ल्याउन सकेको छैन ।

कर्मचारी समायोजनमै अलमल

महिनौँ अगाडिदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको कर्मचारीको समायोजन न टुंग्याएको छ, न त डेंगुको संक्रमण नै नियन्त्रण गर्न सफल भएको छ । स्वास्थ्य मन्त्रालयलाई यी दुवै कुराको समाधान गर्दा हैरानी परेको छ । पछिल्लो समय स्वास्थ्यको समायोजनको काम अत्यन्त सुस्त भएको छ। हाल समायोजन प्रक्रिया स्थगित छ ।

यता, कर्मचारी समायोजनले गर्दा विभिन्न दुर्गम ठाउँका ठूला अस्पतालहरू नै चिकित्सकविहीन भइरहेका छन् । समायोजनको काम स्वास्थ्यले एक तिहाई पनि सकेको छैन तर स्वास्थ्य मन्त्रालयले भने कर्मचारीलाई एउटै सन्देशको सूचना बेलाबेलामा जारी गरी समायोजनपछिको पदस्थापना नहुन्जेल यथास्थानमा रहेर काम गर्न भनिरहेको छ।

ढिलो गरी सुरु भएको स्वास्थ्यको समायोजन पछिल्लो समय स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयबीचको नीतिगत अस्पष्टताका कारण अवरुद्ध भएको थियो। तर, अब समायोजन प्रक्रिया छिट्टै सुरु हुने बताइएको छ । स्वास्थ्यचौकीको नेतृत्व सीअहेवले गर्ने कि एचएले गर्ने भन्ने विवाद पटक पटक उठिरहेकाले ठूलो संख्यामा रहेका स्वास्थ्यका कर्मचारीहरू अनमी,  अहेव, हेल्थ असिस्टेन्ट, वैद्य, कविराजको समायोजन रोकिएको हो ।