स्वास्थ्यमन्त्री भन्नुहुन्छ : ५६ वटा जिल्लामा डेंगु रोग फैलिए पनि आपतकालीन घोषणा गर्नुपर्दैन

स्वास्थ्यमन्त्री भन्नुहुन्छ : ५६ वटा जिल्लामा डेंगु रोग फैलिए पनि आपतकालीन घोषणा गर्नुपर्दैन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १, २०७६

काठमाडौं ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले हाल देशभरका ५६ वटा जिल्लामा डेंगु रोग फैलिए पनि आपतकालीन घोषणा गर्नु नपर्ने अवस्था रहेको बताउनुभएको छ।

बुधवार संघीय संसदमा सार्वजनिक महत्त्वको विषयमाथि समय लिएर बोल्दै मन्त्री यादवले सो कुरा बताउनुभएको हो । उहाँले हालसम्म ५६ वटा जिल्लाका पाँच हजार ९५ जनामा डेंगु देखिएको र डेंगुकै कारणले हालसम्म ६ जनाले ज्यान गुमाएको जानकारी पनि दिनुभयो ।

उहाँले डेंगु नियन्त्रण गर्न तत्काल डेंगु प्रभावित ठाउँमा ‘सबैको साथ डेंगु नष्ट अभियान स‌चालन गरिने बताउनुभयो । प्रभावित ठाउँमा केन्द्रबाटै विज्ञ टोली  गठन गरी विज्ञलाई पठाउनेसमेत मन्त्री यादवको भनाइ थियो ।

यस्तै, मन्त्री यादवले  विगतका वर्षमा भन्दा बढी कडा रूपमा विश्वव्यापी रूपमा डेंगु फैलिएको भए पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो । हाल सरकारले डेंगु नियन्त्रका लागि विभिन्न खालका अन्तर्क्रिया र सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको मन्त्री यादवको भनाइ थियो ।

हाल संसारभर नै यस रोगका लागि निश्चित खोप र विशेष उपचार नभएका कारण पनि डेंगु नियन्त्रणमा समस्या भएको र डेंगु नियन्त्रणका लागि सबै जना मिलेर लामखुट्टे नष्ट गर्नु नै नियन्त्रणका लागि उपयुक्त विधि भएको उहाँले बताउनुभयो ।

गत वर्ष धेरै डेंगु देखिएका झापा, मोरङ, सुनसरी, चितवन तथा धादिङ जिल्लामा विशेष कार्यक्रमसमेत सञ्चालन गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

एक हजार ७५ जनामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको, ११ हजार डेंगु परीक्षण किट पठाइएको र पोखरा, धरानमा सुपरीवेक्षण गरिरहिएको उहाँको भनाइ थियो ।

यस्तै, काठमाडौं उपत्यकामा हेल्प डेस्क स्थापना गर्नुका साथै २० वटा बेड डेंगु बिरामीका लागि मात्र छुट्याइएको जानकारी पनि मन्त्री यादवले दिनुभयो ।