नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनीमा लैजान कार्यदलद्वारा सुझाव (प्रतिवेदनसहित)

नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनीमा लैजान कार्यदलद्वारा सुझाव (प्रतिवेदनसहित)

लोकसंवाद संवाददाता  |  पर्यटन  |  आश्विन १, २०७६

काठमाडौं ।  पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा  नेपाल वायुसेवा निगम सुधारका लागि गठित कार्यदलले २०७६ असाेज १ गते संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई समक्षा प्रतिवेदन बुझाएकाे  छ 

मन्त्री योगेश भट्टराईले  पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदल  गठन गरेकाे  थियाे । कार्यदल सदस्यहरुमा  डा. सुवाेधकुमार कर्ण, डिमप्रसाद पाैडेल, सुधिर शम्सेर राई र बुद्धिसागर लामिछाने सदस्य रहनु भएकाे  थियाे । 

कार्यदलले  प्रतिवेदनमा रणनीतिक साझेदारी भित्र्याएर निगमलाई पब्लिक कम्पनी बनाउन सुझाव दिइएको हो । समितिले निगमको व्यवस्थापनबारे यसअघि तयार पारिएका ६ वटा प्रतिवेदनको समेत अध्ययन गरी नयाँ प्रतिवेदन तयार गरेकाे कार्यदलले जानाकारी  दिएकाे छ । 

प्रतिवेदनले निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था/निकायलाई पनि शेयर जारी गर्न  समेत सुझाव दिएको छ । रणनीतिक साझेदारीमा नजानु तथा राजनीतिक नियुक्ति निगमको समस्याको मूल जड भएको प्रतिवेदनले औँल्याएको छ । राजनीतिक नियुक्ति नै निगमको समस्याको मुल जड रहेको तथ्य अध्ययनबाट देखिएको छ,’ प्रतिवेदन बुझाउँदै समिति संयोजक घिमिरेले जानकारी  दिनुभयाे  । 

पब्लिक कम्पनी बनाउनेसहितका दीर्घकालीन सुझाव पनि प्रतिवेदनले दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले तोकिएको समयमै प्रतिवेदन तयार पारेकोमा समितिलाई धन्यवाद दिनुभयो । गत साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट गठित समितिले काम सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाएको हो । सो अवसरमा मन्त्री भट्टराईले प्रतिस्पर्धी बजारमा निगमलाई नाफामा लान प्रतिवेदनले सुझाएका उपायले सहयोग गर्ने बताउनु भयो ।

मन्त्री भट्टराईले  ‘सार्वजनिक कम्पनी मोडलमा लान दिएको सुझाव आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कार्यान्वयन गरिने' जानकारी दिनुभयाे  ।