लोकसंवाद संवाददाता | समाचार | असोज ०१, २०७६
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त असक्त प्रहरी कर्मचारीहरुलाई २०७६ असाेज १ गते बुधबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमवीच चारपाङग्रे स्कुटर हस्तान्तरण गर्नुभएकाे छ ।
कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले घाइते भई असक्तताका कारण हिँडडुल गर्न कठिन भएका पूर्व प्रहरी निरीक्षक राम बहादुर चन्द र केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पासाङ लामालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त स्कुटर हस्तान्तरण गर्नुभएको नेपाल प्रहरीले जनाएकाे छ ।
नेपाल प्रहरीले आफ्ना सदस्यहरुको पीर, मर्कालाई सम्बोधन गर्ने प्रयास स्वरुप प्रहरी कल्याण कोष मार्फत विभिन्न सेवा सुविधा प्रवाह एवम् कल्याणकारी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सो क्रममा प्रहरी कल्याण कोषले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार ३ थान चारपाङग्रे स्कुटर खरिद गरी निःशुल्क उपलब्ध गराएको हो । उक्त स्कुटरमध्ये १ थान जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक देवी नेपालीलाई प्रदान गरिने छ ।
स्कुटर हस्तान्तरण कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।