भैरव अर्यालको मार्मिक राजीनामा : राजीनामामै संकेत गरेका थिए आत्महत्याको

भैरव अर्यालको मार्मिक राजीनामा : राजीनामामै संकेत गरेका थिए आत्महत्याको

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन १, २०७६

श्रीमान् अध्यक्ष तथा महाप्रबन्धक
गोरखापत्र संस्थान
धर्मपथ, काठमाडौं

श्रीमान्,
केही समययतादेखि मेरो स्वास्थ्य बिग्रँदै गएको र आफ्नो आफैँले नियन्त्रित गर्न मलाई असाध्यै गाह्रो पर्ने महसुस गरिरहेकाले र यस्तो स्थितिमा गहन जिम्मेवारी सकी–नसकी बोकिरहन मलाई अत्यन्त सङ्कोच लागेकाले यो लेख्तै छु ।

२०१८ साल फागुन ५ गतेदेखि अविच्छिन्न रूपले आफ्नो घर–परिवार र इष्टमित्र कसैको कत्ति परवाह नगरी मैले गोरखापत्रका सेवा गर्दै आएको मेरा सहकर्मीहरू सबैमा विदितै भएको कुरा हो । विगत पन्ध्र वर्षहरूभित्र मैले कुनै ठोस देखिने योगदान केही दिन नसके पनि प्रशस्त श्रम गोरखापत्रमा दिएको छु, कैयौँ, रात, बिहान र दिन दिएको छु । आफ्नो र आफ्नो परिवारको खुसीहरू त्यहीँ सेलाई काम गर्दै आएको छु ।

अहिले पनि आफू संस्थाकै भलाई सोचेर भोलिदेखि धेरै प्राणीको हातमुख नजोरिने स्थिति हुँदाहुँदै पनि यो जिम्मेदारीबाट अवकाश लिनु आफ्नो परमकर्तव्य सम्झिरहेको छु ।
मैले संस्थालाई दिनु केवल मैले लिएको सापटको बाँकी रु. ४ हजारजति छ । मेरो जहान–परिवारको आपतविपतलाई सोची सो माफी गरिदिनुहुन विनम्रतापूर्वक आवेदन गर्दछु र सो नमिलेमा मेरो सञ्चित कोषबाट त्यसको कट्टीमट्टी गरी त्यसमध्येको बाँकी र नियमपूर्वक मैले पाउने उपदान पाउने आशा पनि गर्दछु ।

श्रीमान् ! गोरखापत्र संस्थानले दिन प्रति दिन गर्दै गएको उन्नति देख्ता र आफूले पाएको जिम्मेवारीअनुसार अझ बढी काम गर्नुपर्ने बखत यसरी अवकाशको लागि राजीनामा प्रस्तुत गर्नुपर्दा मलाई अत्यन्त आत्मग्लानि लागेको छ । तर, पनि लेख्तै छु । यसैलाई नै मेरो राजनीनामा ठानी स्वीकृत गरियोस् । यता केही समयदेखिका मेरो जिम्मेदारीका काममा कुनै गल्ती–त्रुटि छन् भने तिनको लागि क्षमाप्रार्थी छु ।

मैले पाउने रकमसकम मेरी श्रीमती शोभादेवी अर्याल, जसको नुहारनको नाम नन्दकुमारी अर्याल पनि छ, को माध्यम मेरा छोराछोरीहरूलाई प्राप्त गराइदिने आशा गर्दछु ।
गोरखापत्रको सेवा छाड्नुको साथै म देश र धरतीलाई छाड्दै छु । कारण मेरो अब केही गर्न नसक्ने भई भित्रैदेखि कुँजिदै आएकाले र कलम वा कोदाली केही पनि चलाएर आफू र आफ्ना आश्रितलाई संरक्षण दिन या देशको निम्ति केही गर्न नसक्ने भएकाले मैले अब आफ्नो बाँच्नु पनि बेकार सम्झेको छु ।

आशा छ, मेरो राजीनामा स्वीकृत हुनेछ ।

आज्ञाकारी
भैरवप्रसाद अर्याल
लेख–रचना–सम्पादक गोरखापत्र, मधुपर्क
गोरखापत्र संस्थान, काठमाडौं ।