लोकसंवाद संवाददाता | समाचार | असोज ०२, २०७६
काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता कल्याणकारी कोषमा कम कटौती हुने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता अधिकृत तहको ९ देखि जवान तहको ८५ अमेरिकी डलरसम्म नकाट्ने निर्णय गरेको हो । यसलाई प्रधानसेनापतिले बढाएको नभई राष्ट्रसंघले दिएको पैसा कल्याणकारी कोषमा कम कटौती हुने भएको हो ।
राष्ट्रसंघले सन् २०१६ मा प्रति शान्ति सैनिक एक हजार ४२८ अमेरिकी डलर भत्ता उपलब्ध गराउँदै आएको छ । त्यसमा नेपाली सेनाको कल्याणकारी कोषमा २२ प्रतिशतसम्म रकम काटिने गरेको छ । तर, नेपाल प्रहरीमा ५ प्रतिशत र सशस्त्र प्रहरीमा भने कति पनि रकम काटिँदैन । नेपाली सेनामा पनि त्यसको असर परेको हो । नेपाली सेनाको कल्याणकारी कोषमा करिब ३९ अर्ब नगद र जिन्सी ४ अर्ब गरी ४३ अर्ब सम्पत्ति रहेको छ । अर्बौंको सम्पत्ति हुँदा पनि कल्याणकारी कोषमा २२ प्रतिशत रकम काट्दै आएको सेनाले अहिले भने न्यूनतम ९ डलर अधिकतम ८५ डलर भने प्रतिशतमा नछुट्याई रकम कटौती नगर्ने जनाएको हो । यसो गर्दा तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको न्यनूतम ९ डलरसम्म बढेको छ ।
शान्ति मिसनमा सहभागी फौजका सबै दर्जाको मासिक भत्तामा समान २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कट्टा हुने हुनेछ । पल्टनसहित मिलिट्री एड्भाइजर, स्टाफ अधिकृतलगायत नेपाली शान्ति सेनाबाट वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको अमेरिकी डलर भित्रिने गरेको छ ।
शान्ति मिसनमा तैनाथ फौजको मासिक सेवा सुविधा सेनाले राष्ट्रसंघबाट सैनिक कल्याणकारी कोषमार्फत् जम्मा गर्दै आएको छ । पछिल्लो निर्णयले ‘फलोअर्स’ (परिचर)को मासिक भत्तामा ८५ डलर वृद्धि भएको छ । त्यस्तै, पल्टनमा तैनाथ बटालियन कमान्डर (प्रमुख सेनानी)को २२ डलर भत्ता बढेको छ । राष्ट्रसंघले सन् २०१६ मा प्रति शान्ति सैनिक एक हजार ४२८ अमेरिकी डलर भत्ता उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये पोसाक, हातहतियार र विशेष भत्तावापत सैनिक कल्याणकारी कोषले प्रति महिना प्रत्येकबाट १३०.३५ डलर कट्टा गर्दै आएको छ । बाँकी एक हजार २९७.६५ डलरमा सैनिक कल्याणकारी कोषमा योगदान स्वरूप भन्दै प्रत्येकबाट २२ प्रतिशत कटौती हुने गरेको छ ।
यो पनि : शान्ति सैनिकको भत्ता वृद्धि
नयाँ व्यवस्थाअनुसार शान्ति मिसनमा तैनाथ प्रमुख सेनानी (कमान्डर)ले एक हजार ४०० अमेरिकी डलर पाउनेछन् । भत्ता बढ्नुअघि प्रमुख सेनानीको मासिक भत्ता एक हजार ३ सय ७८ थियो । त्यस्तै, सेनानी (मेजर)को एक हजार ३०८.१४ बाट बढेर एक हजार ३१८.०४ डलर पुगेको छ । सहायक सेनानीको भत्ता एक हजार २४७.१४ बाट बढेर १२ सय ५६ डलर पुगेको छ । सहसेनानीको एक हजार १९० बाट बढेर एक हजार १९९.१४ पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
यसरी नै सुवेदार मेजरको ११ सय ३८.१४ बाट ११ सय ४२.४०, सुवेदारको एक हजार ९८.१४ बाट ११ सय २८, जम्दारको एक हजार ७३.१४ बाट ११ सय २१ र हवल्दारको एक हजार ५३.१४ बाट ११ सय १३.८४ डलर कायम गरिएको छ । नायक, प्युट, सिपाही र फलोअर्सको मासिक भत्ता एक हजार ४४, एक हजार ३७, एक हजार ३२ र एक हजार २९ बाट समान एक हजार ११४ कायम भएको छ ।
कोषमा तल्लो दर्जाका कर्मचारीको बढी रकम कटौती हुने गरेकोमा पहिलेदेखि नै असन्तुष्टि थियो ।
द्वन्द्वग्रस्त ११ मुलुकका १२ मिसनअन्तर्गत १७ युनिटमा ५ हजार ८४ शान्ति सैनिक तैनाथ छन् । आगामी वर्षबाट थप एक हजार ३०२ शान्ति सैनिक परिचालन गर्न नेपाली सेनाले राष्ट्रसंघ समक्ष प्रस्ताव राखेको छ । उक्त प्रस्तावअनुसार सेनाले इन्फेन्ट्रीतर्फ ८५०, मिलिट्री पुलिस (एमपी)मा १३२ र र क्विक रेस्पोन्स रियाक्सन (क्युआरआर) १६० तैनाथ गर्नुपर्ने उल्लेख छ । सेनाको यो प्रस्तावअनुसार आगामी अक्टोबर २३ मा राष्ट्रसंघको ‘पिस किपिङ डिपार्टमेन्ट’को एड्भाइजरी एसेस्मेन्ट भिजिटअन्तर्गतको टोली नेपाल आउँदै छ ।