भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा बिहीवार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले घटेको हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १५ रुपैयाँले घटेको छ ।
स्थानीय बजारमा छापावाला सुनको मूल्य ७० हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रति तोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ७० हजार ४०० रुपैयाँ कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेर प्रति तोला ८५५ रुपैयाँ पुगेको छ । साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्व बजारमा सुनको मूल्य प्रति औँस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।