८७ प्रतिशत नेपालीलाई थाहा छैन डेंगुको उपचार

८७ प्रतिशत नेपालीलाई थाहा छैन डेंगुको उपचार

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २, २०७६

काठमाडौं । हाल देशभर डेंगुले आतंक मच्चाएको छ । सरकारी तथ्यांकअनुसार हालसम्म देशभर सात हजार ३७० जना डेंगुबाट प्रभावित भइसकेका छन् भने डेंगुबाटै छ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म प्रदेश ३ मा तीन हजार ९२९ जना, प्रदेश १ मा ९५६ जना, गण्डकी प्रदेशमा एक हजार ९६४ जना डेंगु प्रभावित भएका छन् । यस्तै, हालसम्म सबैभन्दा धेरै काठमाडौंमा एक हजार ३३१, मकवानपुरमा ७८३, चितवनमा एक हजार २३७, झापामा ३०९ र सुनसरीमा ३८२ जनामा डेंगु देखिएको छ।

तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययन अनुसन्धानले ८७ प्रतिशत अर्थात् २ करोड ६१ लाख नेपाली डेंगुको उपचारबारे अनभिज्ञ रहेको बताएको छ।

परिषद्ले सन् २०१७ देखि २०१८ सम्म डेंगु प्रभावित क्षेत्रलाई केन्द्रविन्दु बनाएर गरेको अनुसन्धानले सो संख्याका नेपाली डेंगुको उपचारबारे अनभिज्ञ भएको पाइएको देखाएको हो ।

त्यस्तै, १३ प्रतिशत अर्थात् ९३ लाख नेपालीले त डेंगुको नामसमेत सुनेका छैनन् । तर,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबारे जनचेतना, लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट जस्ता अभियान सञ्चालनका लागि ९ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ। स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ताले ठूलो संख्या डेंगुबारे अनभिज्ञ रहेको बताएका छन् ।

पछिल्लो पाँच वर्षमा समेत यसको ज्ञानमा सुधार नभएको उनीहरूको भनाइ छ । सन् २०११ देखि सन् २०१२ मा पहिलो पटक अनुसन्धान गर्दा १२ प्रतिशत अर्थात् ९६ लाख जनताले डेंगुको नामै नसुनेको र त्यो संख्या पाँच वर्षमा १ प्रतिशतले मात्रै बढेको बताइएको छ । सरकारले डेंगुबारेमा गरेको जनचेतनाको स्तर कुन तहमा छ भनेर निर्धारण गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

परिषद्का अनुसार सन् २०११ देखि २०१२ मा पर्सा, हेटौँडा, काठमाडौं, ललितपुर, रसुवा र नुवाकोटलाई केन्द्रविन्दु बनाएर गरिएको अध्ययनले सो कुरा बताएको हो ।

अध्ययनमा ५९० जनालाई सहभागी गराइएको थियो । तर, पछिल्लो पटक सन् २०१७ देखि २०१८ सम्म गरिएको अध्ययनमा चितवन, धादिङ, काठमाडौं, ललितपुर र नुवाकोटलाई केन्द्रित गरिएको थियो । सो समयमा ६६० जनालाई सहभागी गराइएको थियो ।

अनुसन्धानले देखाएअनुसार उच्च भूभागका १६ प्रतिशत र तल्लो भूभागका ५३ प्रतिशत नेपालीलाई मात्रै डेंगुबारे जानकारी भएको देखाएको छ । अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिलाई डेंगु लामखुट्टेबारे २० वटा प्रश्न सोधिएको थियो, जसमा ८० प्रतिशत मिलाएको खण्डमा ज्ञान भएको मानिएको थियो । ८० प्रतिशत उत्तर मिलाउन नसकेको खण्डमा डेंगुबारे ज्ञान नभएको मानिएको थियो ।