१२३ भाषा र १२५ जातिको  ‘लोकवार्ता कोश’ प्रकाशनकाे लागि सम्पादक  र विज्ञ समूह गठन

१२३ भाषा र १२५ जातिको  ‘लोकवार्ता कोश’ प्रकाशनकाे लागि सम्पादक  र विज्ञ समूह गठन

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन २, २०७६

काठमाडौँ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपालमा बोलिने १२३ भाषा र १२५ जातिको लोकसाहित्य र संस्कृतिको समग्र विषयबस्तुलाई समावेश गरेर परिचय प्रस्तुत गर्ने गरी ‘लोकवार्ता कोश’  प्रकाशन गर्ने  तयारी थालेकाे जनाएकाे छ ।

प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवसमेतको उपस्थितिमा र  साहित्य बालसाहित्य र लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकवार्ताको प्रमुख अवयव लोकसंस्कृतिका क्षेत्रमा प्रयुक्त भाषा र प्रयोक्ताहरूको समेत परिचय आउने गरी लोकवार्ता कोश निर्माण गरिने र मूर्त तथा अमूर्त संस्कृतिको क्षेत्रमा प्रयुक्त लिखित तथा अलिखित भाषिक अभिव्यक्तिहरूलाई अध्ययन गरी व्यवस्थित एवम् वैज्ञानिक ढङ्गले कोशमा राखिने कुराको जानकारी दिनुभएकाे छ ।

उपकुलपति डा. जगमान गुरुङले वर्तमानमा हरेक जातिका मौलिक चिनारी झल्काउने शब्दहरू, लोकप्रचलनहरू आदिको लोप हुन थालेको हुँदा लोकवार्ता कोशमा नेपालका सातवटै प्रदेश, सतहत्तरवटै जिल्ला र सातसय त्रिपन्नवटै स्थानीय तहमा बसोवास गर्ने विभिन्न जाति र ती जातिमा प्रचलित लोकवार्तासँग सम्बन्धित भाषिक अभिव्यक्तिको अध्ययन, अनुसन्धान र अभिलेखीकरणकाे लागि उक्त तयारी गरको बताउनुभयाे ।

‘लोकवार्ता कोश’ आगामी डेढ वर्षभित्रमा निर्माण गरी आउँदो आर्थिक वर्षको अन्त्यमा प्रकाशन गर्ने लक्ष्य राखिएको कुरा साहित्य (बालसाहित्य र लोकवार्ता) विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले जानाकारी दिनुभएकाे छ । डा‍. नेपालले भन्नुभयो -लोकवार्ताका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका डा. भक्त राई, डा. ध्रुव भट्टराई, प्रतिभा पुन, दिव्येश्वरी जोशी र वीरबहादुर महतोको पाँच सदस्यीय सम्पादक समूहबाट उक्त कार्यको प्रारम्भिक काम सम्पन्न गरिने छ । उक्त  सम्पादक समूहबाट तयार भएको  ‘लोकवार्ता कोश’लाई  डा. जगमान गुरुङ, प्रा.डा. प्रेम खत्री, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा. जीवेन्द्रदेव गिरीलगायतको विज्ञ समूहसँगको गहन परामर्शपछि यस कार्यलाई अन्तिम रूप दिइ प्रकाशनमा ल्याइने छ ।  साथै प्राज्ञ नेपालले आगामी छ महिनामा नेपालका सातै प्रदेश र दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोककथाहरूको सङ्कलन गरी ‘प्रज्ञा नेपाली लोककथा’ नामक बृहत् ग्रन्थ प्रकाशन गर्ने कामको पनि थालनी भइसकेको थप जानकारी दिनुभयो ।