यस कारण हुन्छ मिर्गौलामा पत्थरी

यस कारण हुन्छ मिर्गौलामा पत्थरी

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  आश्विन २, २०७६

काठमाडौं । हाम्रो शरीरमा विभिन्न कारणले  सामान्यदेखि जटिल किसिमसम्मका मिर्गौलाको समस्या देखिने गर्छ । तीमध्ये धेरैमा देखापर्ने एउटा समस्या हो- मिर्गौलाको पत्थरी । 

पिसाबमा पाइने विभिन्न विकार र खनिज पदार्थको सम्मिश्रणबाट बनेको ठोस पदार्थ मुत्र प्रणालीमा बन्ने पत्थरी हो । प्रायः पिसाबमा भएको पानीको मात्राले नै विकार पदार्थलाई पखालेर शरीरबाट बाहिर फाल्छ ।
पिसाबमा पानीको मात्रा कम भएको बेला ती खनिज पदार्थ एकअर्कासँग टाँसिदा ढुंगा बन्ने प्रक्रिया सुरु हुन्छ। त्यसैलाई नै मिर्गौलाको पत्थरी भन्ने गरिन्छ । 

गर्मीमा बस्ने, पानी कम पिउने मानिसमा मिर्गौलामा पत्थरी बढी देखिने गर्छ । त्यस्तै, धेरै तातो वातावरणमा लामो समयसम्म काम गर्ने मानिसमा समेत पत्थरीको समस्या हुन्छ । होटेलको भान्सामा लामो समय बिताउने तथा तातो वस्तुसँगको सम्पर्कमा रहने अधिकांशमा मिर्गौलामा पत्थरी हुन सक्छ । 

शरीरमा क्याल्सियमको मात्रा बढी भएमा समेत पत्थरीको सम्भावना रहन्छ । 

नेसनल किड्नी फाउन्डेसनका अनुसार प्रत्येक १० जनामध्ये एकमा मुत्र प्रणालीमा पत्थरी बन्न सक्ने सम्भावना हुन्छ । महिलाभन्दा पुरुषमा दुई गुणा बढीले यो समस्या देखापर्छ । पुरुषमा प्रायः ३० वर्षको उमेरपछि देखापर्छ तर यो जुनसुकै उमेरमा पनि हुन सक्छ ।

लक्षण

प्रायः सानो पत्थरीले कुनै प्रकारको लक्षण नदिन सक्छ र त्यो पिसाब गर्दा यत्तिकै बगेर जाने गर्छ । मध्यम तथा ठूलो आकारको पत्थरीले दुःख दिन्छ । पेट दुख्नु, कोखा वा तल्लो पेट, पिसाबमा रगत जानु, वाकवाकी लाग्नु, वान्ता हुनु, कामज्वरो आउनु आदि पत्थरीका प्रमुख लक्षण हुन् ।

किन हुन्छ पत्थरी ?

पिसाबमा पानीको मात्रा अत्यधिक भएको बेला पत्थरी बनाउने खनिज पदार्थ त्यसमा घोलिएर सजिलै पखालिन्छन् । सामान्यतया पिसाबको रङ हल्का पहँेलो हुनुपर्छ । कडा पहेँलो रङको पिसाब आउनु भनेको आवश्यकताभन्दा कम पानी पिइएको हो । त्यसैले एक वयस्क व्यक्तिले दिनभरमा कम्तीमा तीन लिटर पानी पिउन आवश्यक छ ।

अग्जालेटयुक्त खानेकुराको  सेवन गर्दा पनि यो समस्या देखिन्छ। पालुंगो साग, सलगम, चकलेट, काजु, बदाम, चिया, आँटा, ऐँसेलु, अंगुर, आलु आदिमा अत्यधिक अग्जालेट पाइन्छ।

मासु, भिटामिन ‘सी’, नुनिलो खानेकुराको अत्यधिक सेवन पनि यसको कारक बन्न सक्छ ।

वयस्क मानिसलाई दैनिक आहारमा बढीमा २३ सय मिलीग्राम नुन हुनुपर्छ। यो एक चम्चा बराबर हो । सेकुवा, प्याकिङ गरिएका खानेकुरा, आलु चिप्स, क्यान जुस, चाउचाउ र विभिन्न किसिमका अचारमा अत्यधिक मात्रामा नुन पाइन्छ । त्यसैले, यस्ता खानेकुरा सकभर कम खानुपर्छ ।

उपचार

सामान्य अवस्थामा रहेको पत्थरी औषधिको प्रयोगबाट निको हुन्छ । शल्यक्रियाबाट पनि पत्थरीको उपचार गर्न सकिन्छ । बिरामीलाई खासै असर नपर्ने गरी उपचार हुने विभिन्न उपचार पद्धति आजभोलि भित्रिएका छन् । ल्याप्रोस्कोपी, युरेटेरोेस्कोपी, लेजरजस्ता उपचार पद्धति अपनाएर मिर्गौलाको पत्थरीको उपचार गर्न सकिन्छ ।