उपत्यकामा घटे डेंगुका बिरामी

उपत्यकामा घटे डेंगुका बिरामी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ३, २०७६

काठमाडौं । केही हप्तादेखि काठमाडौंमा फैलिएको डेंगु संक्रमण कम हुँदै गएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो दुई दिनदेखि डेंगुका बिरामी घट्दै गएका जानकारी अस्पतालले दिएको छ ।

दुई हप्तासम्म दैनिक एक हजार जनासम्म डेंगु परीक्षण गर्न पुग्ने टेकु अस्पतालमा बुधबारदेखि दैनिक तीनदेखि चार सय मात्र डेंगु परीक्षण गर्न पुग्ने गरेको अस्पताले जनाएको छ । पछिल्लो दुई दिनदेखि डेंगु परीक्षण गराउन आउने बिरामी घट्दै गएको अस्पतालको भनाइ छ।

डेंगुका बिरामी घट्दै गएपछि दुई हप्तादेखि बिदाको दिन पनि खुला गरिएको अस्पतालको ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । सरकारी तथ्यांकअनुसार हालसम्म देशभर ७ हजार ३७० जना डेंगुबाट प्रभावित छन् भने ६ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश ३ मा ३ हजार ९२९ जना, प्रदेश १ मा ९५६ जना, गण्डकी प्रदेशमा १ हजार ९६४ जना डेंगु प्रभावित भएका छन् ।

सबैभन्दा धेरै डेंगु देखिने जिल्ला काठमाडौंमा १ हजार ३३१, मकवानपुरमा ७८३, चितवनमा एक हजार २३७, झापामा ३९० र सुनसरीमा ३८२ जनामा डेंगु देखिएको छ ।