रहनुभएन पूर्वसांसद हरि वैरागी

रहनुभएन पूर्वसांसद हरि वैरागी

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ३, २०७६

काठमाडौं । पूर्वसांसद् तथा नेकपाका नेता हरि वैरागी दाहालको शुक्रवार काठमाडौंमा निधन भएको छ । ६२ वर्षीय दाहालको मस्तिष्कघातबाट निधन भएको हो ।

२०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा एमालेबाट सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गरिरहनुभएको थियो ।

सक्रिय राजनीतिबाट अलग भएर सामाजिक र विकास अभियन्ताका रूपमा सक्रिय दाहाललाई दुई दिनअघि मस्तिष्कघात भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको र त्यसपछि आर्यघाटमा दाहसंस्कार गरिने नेकपाले जनाएको छ ।

२०३५ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका दाहाल ०४३ सालको पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार बन्नुभएको थियो ।

दाहालका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।