अफ्रिकाबाट हिक्मत थापा एनआरएनए उपाध्यक्षका उम्मेदवार

अफ्रिकाबाट हिक्मत थापा एनआरएनए उपाध्यक्षका उम्मेदवार

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ५, २०७६

गैरआवासीय नेपाली संघको आसन्न अन्तर्राष्ट्रिय समितिको निर्वचनमा वर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तर्राष्ट्रिय कार्यसमितिको उपाध्यक्षमा उम्मेदवारी दिनुहुने भएको छ ।

सन् २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरी संस्थापक अध्यक्ष बन्नुभएका थापा सन् २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष, सन् २०११-२०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५-२०१९ दुई कार्यकाल अन्तर्राष्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दै हुनुहुन्छ । नेपालीहरू भर्खरै पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका १६ मुलुकमा एनआरएनएको शाखा विस्तारमा थापाको सक्रियता रहेको थियो ।

नेपालको कूटनीतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौँ नेपालीको घर फिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भूमिका खेल्दै आउनुभएको छ । अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरू रहे पनि भूकम्प र अन्य दैवी प्रकोपमा उल्लेख्य रूपमा अफ्रिकाका एनसीसीहरूबाट नेपालमा एनआरएनएमार्फत सहयोग थापाको नेतृत्वमा जुट्ने गरेको छ । 

त्यस्तै, विभिन्न जिल्लाहरूमा एनआरएनएको नेपाल परियोजनामार्फत् अफ्रिकाका एनसीसीहरूबाट सहयोग पनि थापाले जुटाउनुभएको छ । गत २०७२ वैशाखको भूकम्पपछि आफू कार्यरत संस्थाबाट भूकम्पपीडितलाई राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।

विगत दुई कार्यकाल कोषाध्यक्ष रहँदा पहिलो कार्यकाल मूलत: एनआरएन भवन र भूकम्प राहतको कोष संकलन, नाकाबन्दीको राहत र बाढी, हुरीपीडितलाई राहत संकलनको व्यवस्थापन गर्नुभएका थापाको दोस्रो कार्यकाल लाप्राक बस्ती, भवन र शंखमूल गार्डेन निर्माणमा केन्द्रित रहे ।  

एनआरएनएलाई संसारभर रहेका सबै पेसा, व्यवसाय र भूगोलमा रहेका प्रवाशी नेपालीहरूको साझा र अपनत्व हुने संस्था बनाउनुपर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनुहुन्छ । उपाध्यक्षमा निर्वाचित भएपछि संस्थालाई आर्थिक रूपमा सुदृढ बनाउनेतर्फको आफ्नो प्रयास जारी राख्ने, विशेषत: खाडी, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरूको भलाइ र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्वाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउनुहुन्छ ।  

समाजसेवा र साहित्य आफ्नो रुचिको विषय रहेको बताउने थापाको मूलघर कैलालीको टीकापुर हो भने उहाँ विगत १३ वर्षदेखि अफ्रिकाको नाइजेरियामा बस्नुहुन्छ ।