संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नुभएको छ । उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नुभएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरूले जनाएका छन् ।
प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको विशेष विमानमा शनिबार न्यूयोर्क आउनुभएको हो । न्यूयोर्क पुगेपछि पत्रकारहरूसँग कुरा गर्दै पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरूसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताउनुभयो । प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उहाँले जानकारी दिनुभयो ।
न्यूयोर्क आउनुअघि उहाँ साउदी अरब जानुभएको थियो । साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उहाँ साउदी युवराजको विमानबाट न्यूयोर्क आउनुभएको हो । दुवै मुस्लिम राष्ट्रका युवराज र प्र्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।
उहाँहरूले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताउनुभएको छ । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।