फोहर प्लास्टिक किन्दै इलाम नगरपालिका

फोहर प्लास्टिक किन्दै इलाम नगरपालिका

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २९, २०७५

इलाम । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लास्टिक खरिद गर्न थालेको छ । 

वातावरण स्वच्छता कायम गर्न प्लास्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो १५ रूपैयाँका दरले प्लास्टिकजन्य फोहर किन्ने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । तर, अहिलेसम्म प्लास्टिकजन्य फोहर बेच्नका लागि कोही नआएको उहाँको भनाइ छ । 

फोहर प्लास्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ । इलाम नगरपालिकाले विसं २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ । पोलिथिन झोला भने नगरपालिकाले किन्दैन । नगरपालिकाले खानेपानीको बोतल, खाद्य बस्तुको प्याकेजिङमा भएको प्लास्टिक लगायत किन्ने जनाएको छ । 

नगरपालिकामा दैनिक सात टन फोहर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये करीब १० प्रतिशत प्लास्टिकजन्य फोहर हुने गरेको नगर प्रमुख बस्नेतको भनाइ छ । नगरपालिकाले खरीद गरेको फोहर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्रा बनाउने नगरपालिकाको योजना छ । 

सिसाजन्य फोहरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ । हाल नगरपालिकाले महिनामा दुई दिनमात्रै सिसाजन्य फोहर संकलन गर्ने खबर राससमा छ ।