डेंगु प्रकोप : विषादीको प्रयोग अत्यधिक भएको भन्दै सरकारले रोक्न सचेत गरायो

डेंगु प्रकोप : विषादीको प्रयोग अत्यधिक भएको भन्दै सरकारले रोक्न सचेत गरायो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ६, २०७६

काठमाडौं । सरकारले देशभर डेंगु रोग संक्रमण रोकथाम तथा नियन्त्रणका नाममा विषादीको प्रयोग अत्यधिक भएको भन्दै रोक्न सचेत गराएको छ । स्वास्थ्य सेवा विभागले विभिन्न जिल्लामा कालाजार र औलो रोकथामका लागि पठाएको विषादीसमेत जथाभावी प्रयोग भइरहेको भन्दै रोक्न यस्तो परिपत्र गरेको हो ।

विभागका महानिर्देशक डा. रोशन पोखरेलले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा सरकराले उपलब्ध गराएको विषादी औलो र कालाजारको उच्च जोखिम भएको क्षेत्रमा घर तथा कटेराभित्र छर्कने प्रयोजनका लागि भएको जनाएको छ । विभागले डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सबैभन्दा प्रभावकारी विधि भनेको लामखुट्टेको वृद्धि र विकास हुने वासस्थानको खोजी गरी लार्भा नष्ट गर्नु भएको समेत सचेत गराएको छ ।

विभागले राष्ट्रियस्तरमा अवलम्बन गरिएको खोज र नष्ट गर अभियानलाई निरन्तरता दिन र विषादी प्रयोग रोक्न आग्रह गरेको छ । अहिले डेंगु नियन्त्रणका नाममा नेतादेखि सांसद्समेत फगिङ विषादीयुक्त धुवाँ उडाउन लागिपरेका छन् । ठूला लामखुट्टे मार्न सक्ने यो विधिबाट लार्भालाई फरक नपर्ने भएकाले प्रभावहीन हुनुका साथै वातावरणीय र मानव स्वास्थ्यका हिसाबले समेत हानिकारक भएको भन्दै विज्ञहरूले रोक्न आग्रह गरिरहेका छन् ।

सरकारी तथ्यांकअनुसार हालसम्म देदेशभर ७ हजार ३७० जना डेंगुबाट प्रभावित छन् भने ६ जनाले ज्यान गुमाइसकेका छन् । 

प्रदेश ३ मा ३ हजार ९२९ जना, प्रदेश १ मा ९५६ जना, गण्डकी प्रदेशमा एक हजार ९६४ जना डेंगु प्रभावित भएका छन् । यस्तै, सबैभन्दा धेरै डेंगु देखिने जिल्ला काठमाडौंमा एक हजार ३३१, मकवानपुर ७८३, चितवन एक हजार २३७, झापा ३९० र सुनसरी ३८२ जनामा डेंगु देखिएको छ ।