छ सय बैसठ्ठी सहसचिवको समायोजन

छ सय बैसठ्ठी सहसचिवको समायोजन

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २९, २०७५

काठमाडौं । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवको समायोजन गरिएको उहाँको भनाइ छ ।  उहाँका अनुसार आवेदन दिएको आधारमा संघमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको हो ।

यसअघि सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिने जानकारी गराउनुभयो । 

सरकारले संघ,  प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उहाँले उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने बताउनुभयो । सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्ने खबर राससमा छ ।