स्वामी चिन्मयानन्द: 'यौन शोषण'काे आराेपमा अर्का धार्मिक गुरुको जेलयात्रा

स्वामी चिन्मयानन्द: 'यौन शोषण'काे आराेपमा अर्का धार्मिक गुरुको जेलयात्रा

ज्ञानमित्र  |  दृष्टिकोण  |  आश्विन ६, २०७६

अन्ततः स्वामी चिन्मयानन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । केही समयपूर्व २३ अगस्ट २०१९ का दिन उनकै मातहतको संस्थाले संचालन गर्ने ‘ल कलेज’की एक जना महिला विद्यार्थीले उनीमाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।

७२ वर्षीय स्वामी चिन्मयानन्द भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको सरकारमा गृह राज्यमन्त्री रहिसकेका ‘हाई प्रोफोइल’ भगवाधारी व्यक्ति हुन् । १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएका चिन्मयानन्द उत्तर प्रदेशको शाहजहाँपुर जिल्लाको त्यही कोतवालीको कुनै कोठरीमा छन्, जहाँ यस पंक्तिकारले विद्यार्थी जीवनमा व्याडमिन्टन खेलेको थियो । संयोग यति मात्रै भए त हुन्थ्यो ! उनी शाहजहाँपुरस्थित जुन मुमुक्षु आश्रमका प्रमुख हुन्, उनको पालामा मैले त्यहाँ थुप्रै धार्मिक आयोजनामा सहभागिता जनाएको छु, सन् १९७८ देखि १९८४ सम्म । गर्रा नदीको किनारमा अवस्थित यो आश्रम सन् १९५१ मा प्रसिद्ध सन्त स्वामी सुखदेवानन्दले स्थापित गरेका थिए । स्वामी सुखदेवानन्दले आफ्नो जीवनकालमा ऋषिकेश र हरिद्वारमा पनि आश्रम खडा गरेका थिए ।

हजुर, ऋषिकेशको त्यही आश्रम, जहाँको गंगा आरती अहिले व्यापक प्रसिद्ध भएको, जसको सञ्चालक चिदानन्द मुनि हुन्, स्वामी सुखदेवानन्दले स्थापित गरेका थिए । र, हरिद्वारको गंगाकिनार भारतमाता मन्दिर छेवैमा रहेको आश्रम, जसका सञ्चालक अहिले यौन उत्पीडनमा जेल परेका छन्, स्वामी सुखदेवानन्दकै कीर्ति धरोहर हो ।

सन् २०१० को हरिद्वार महाकुम्भमा चन्द्रा स्वामीका कारण २ महिनाजति मेरो चिन्मयानन्दसँग संगत हुन पुगेको थियो ।

चिन्मयानन्दमाथि यौन उत्पीडनको यो पहिलो आरोप भने होइन । सन् २०११ को नोभेम्बर महिनामा एक युवतीले उनीमाथि पहिला पनि यस्तो आरोप लगाएकी थिइन् । अब दुर्भाग्य भनौँ, केही महिना पहिला मात्रै साध्वी, (त्यसबेला, २०१० मा) सेतो पहिरनमा आएकी ती युवतीसँग पनि मेरो राम्रै परिचय रहेको थियो । त्यसबेला ती युवतीको चिन्मयानन्दको हरिद्वार आश्रममा चिन्मयानन्दभन्दा पनि बढी धाक रहेको थियो । यिनीसँग परिचय एउटा दुर्घटनावस हुन गयो ।

सन् २०१० को महाकुम्भ प्रवासमा हरिद्वारस्थित चिन्मयानन्दको आश्रममा चन्द्रा स्वामी बसेका थिए । चन्द्र स्वामीसँग भेट गर्न बलिउड नायिका प्रीति जिन्टा आइपुगिन् । आश्रमको एउटा विद्यार्थीले आफ्नो मोबाइलबाट प्रीति जिन्टाको फोटो खिचेछ, यी युवतीले त्यस विद्यार्थीको मोबाइल खोसिन् । विद्यार्थी नेपाली मूलको भएकाले कुरा मसम्म आइपुग्यो । मैले ती युवतीलाई भेटेर मोबाइल फर्काइदिन भनेँ । चन्द्रा स्वामीसँगको सामीप्यले गर्दा उनले मेरो कुरा काट्न सकिनन् । त्यसपछि हामीबीच एक किसिमको सांकेतिक मित्रता नै भयो, फेसबुकमा पनि जोडियौँ । 

धर्मलाई नास्तिकहरू भन्दा पनि छद्मभेषी, दुराचारी, पाखण्डी, मिथ्याभाषी, आडम्बरी आस्तिकहरूसँग बढी खतरा छ । न ज्ञान, न विज्ञान, न विवेक, न वैराग्य, न परोपकार ! कुनै पनि शील सदाचार नभएका धर्मगुरुहरू भन्दा एउटा डाकाको संगत गर्नु श्रेयष्कर हो । उसको मनको कुनै न कुनै कुनामा कालो सेतो जस्तो भए पनि अपराधभावको छाया हुन्छ र कुनै न कुनै दिन उसको हृदय रूपान्तरण हुने संभावना विद्यमान रहन्छ ।

पीडित तथा शोषित व्यक्तिले जतिसुकै फुर्ती लगाए पनि (खासगरी महिलाहरूको सन्दर्भमा) आखिर पीडा कहाँसम्म लुकाउन सकिन्छ ? मैले उनलाई मुखमै भनिदिएँ, ‘रूप हुन्जेल र तिमीभन्दा राम्रो अर्को तरुनी नपाउन्जेल न हो तिम्रो यस आश्रममा रजाइँ । त्यसपछि तिम्रो ठाउँमा अर्की कुनै सुन्दरी स्थापित हुन्छे ।'

उनले आफ्नो सबै वृत्तान्त भनिन् कसरी चिन्मयानन्दजीले उनलाई पासोमा पारेका थिए । उनले सोधिन्- 'म के गरूँ ?' मैले उनलाई सबै कुरा छोडेर कसैसँग विवाह गरी घरजम गर्ने सल्लाह दिएँ ।

मानिन् पनि ती युवतीले । केही समयभित्रै एक जना पत्रकारसँग विवाह गरिन् र पत्रकार महासयको प्रेरणाले चिन्मयानन्दसँग लामो ‘बार्गेनिङ’ गरिन् र अन्त्यमा आएर आफ्नो यौन शोषण भएको कुरा सार्वजनिक गरिन् । सन् २०१५ मा ऋषिकेशमा उनीसँग भएको अन्तिम भेटमा उनले भनेकी थिइन्- 'मैले यो कुरा सार्वजनिक गरेर ठूलो भूल गरेँ, मेरो जीवन तहसनहस भयो, अब पारपाचुके गर्छु ।'

चिन्मयानन्दसँग राजधानी एक्सप्रेसमा हरिद्वारबाट दिल्ली जाँदै थिएँ । ट्रेनमै उनले सोधे, ‘अच्युतानन्द ! तिमी यौनमाथि कसरी नियन्त्रण गर्छौ ?' मैले प्रत्युत्तरमा भनेको थिएँ, ‘म नियन्त्रण गर्दिनँ तर मेरो लिमिट मलाई थाहा छ, यस लिमिटबोधले मलाई मर्यादामा राख्छ ।'

आरोप त दुई जना केटीले लाउने साहस गरे । चिन्मयानन्दजी र आशाराम बापूमा कुनै ठूलो भिन्नता देखिँदैन । उनले सैयौँ युवतीसँग दुराचार गरेको आरोप छ । भर्खरै सुन्नमा आयो, उनले पछिल्ली युवतीले लगाएको अधिकांश आरोप स्वीकार गरेका छन् । ती युवतीका बारेमा पनि कुरा भए । मैले भनेँ, तपाईं आगोसँग खेल्दै हुनुहुन्छ, कुनै दिन यसले पोल्छ ।'

तिनै युवतीले आरोप लाएपछि चिन्मयानन्दजीको पोस्टमा मैले गरेको एउटा कमेन्टले गर्दा उनले मलाई फेसबुक मित्रता सूचीबाट हटाएका थिए । 

यी युवती पनि कम होइन, यिनले चिन्मयानन्दसँग ५ करोड रुपैयाँ मागेकी थिइन् । अब देश र प्रदेशमा आफ्नै सरकार भएको बेलामा चिन्मयानन्दले ५ करोड किन दिन्थे ! बल प्रयोग गरे तर उनले यो बिर्सिए, ‘त्यो निर्मोही नरेन्द्र मोदी कसैको होइन ।’ चिन्मयानन्दको बचेखुचेको जीवन अब आशारामझैँ नै व्यतीत हुने भएको छ ।

के धार्मिक–अध्यात्मिक प्रयोजनका लागि सञ्चालित आश्रमहरूमा महिलाहरूको यौन शोषण हुन्छ ? एउटा दृष्टान्तले आँकलन गरौँ । एक जना नेपाली युवती भारतका एक जना प्रसिद्ध गुरुसँग दीक्षा लिएर सन्यासी हुँदै महामण्लेश्वर हुन अग्रसर भइन् । गुरुकै प्रमुख शिष्यामध्येकी एक जना शिष्याले उनीसँग भनिन्, ‘आश्रम र अखडाहरूमा महिलाहरूको चर्को शोषण हुन्छ, तपाईं किन यो बाटोमा आउन खोज्दै हुनुहुन्छ ? आफ्नो घरमै रहेर साधना गुर्नस् ।’

यो भन्ने महिला सन्यासी चानचुने सन्यासी थिइनन्, भारतका सन्यासीहरूको सबैभन्दा ठूलो अखडा, जूना अखडाकी महामण्डलेश्वर थिइन् । अब यो पनि मेरो दुर्भाग्य ! भन्ने र सारा प्रकरण सुनेर मलाई सुनाउने दुवै जना महिला सन्यासीसँंग मेरो घनिष्ठ परिचय नै रहेको छ ।

भारतभर ३०० भन्दा बढी साना ठूला आश्रम रहेको संस्थाका एक जना महामण्डलेश्वर स्वामीसँग मेरो खुब मित्रता थियो । उनमा पनि यस रोगका किटाणु थिए । उनी मसँग यो कुरा लुकाइराखेका थिए । एक दिन बृन्दावनको आश्रममा चिया खाँदै मैले उनीसँग भनेँ, ‘स्वामीजी शरीरको आवश्यकता छ भने लुकाएर कति दिन लुक्छ ? बरु कुनै एक जनासँग बिहे गर्नुस् ।’

‘बिहे गरेँ भने सबै भगत दानदाता तोडिन्छन नि !’, उनले आशंका व्यक्त गर्दै भने ।

'हेर्नुस्, तपाईंसँग श्रद्धा भएर भक्त, दानदाता जोडिएका होइनन् । तपाईंका पूर्वका गुरुवर्गसँग जोडिएका हुन् । तपाईंसँग अध्यात्मको नाममा गेरुवा लुगाबाहेक के नै छ ? र, तोडिए भने पनि के को चिन्ता ! तपाईसँग अर्बौंको सम्पत्ति छँदै छ ।'

स्वामीजीले एक वर्ष नबित्दै विवाह गरे । उहाँको हरिद्वारस्थित आश्रमका व्यवस्थापक मलाई भेट्दा भन्छन्, 'क्या यार साँढेलाई घरपालुवा बनाइदियौ !'

१४ वर्ष परिव्राजकझैँ घुम्दा भारत र नेपालका धेरै आश्रम पुगेँ । पूर्वपत्रकारको परिचय एवम् लेखन र वाक्‌कलाले गर्दा ती आश्रमका प्रमुख गुरुसँग नै सामीप्य भयो । भेटेकामध्ये ९० प्रतिशत गुरुवर्ग कंचनकायाकै पिपासु रहेको पाएँ । सामान्य मानिसको यौन तृष्णा ६०-६५ को उमेरपछि प्राकृतिक रूपमै शान्त हुन्छ तर ७५-८० वर्षका सन्यासीहरू यसबाट मुक्त छैनन् । आजभोलिका स्वामी सन्यासीभन्दा सामान्य गृहस्थ धेरै अर्थमा पुजनीय छ, सम्माननीय छ ।

स्वामी अडगडानन्दजीको सम्झना आयो । मुम्बईमा प्रवचन गर्दै थिए, एक जना युवतीले सोधिन्, ‘महाराजजी ! हामी अनेक पुराना कथामा सुन्छौँ । कसैले साधना गर्न लाग्यो भने ईन्द्रले अप्सरा पठाएर साधना खण्डित गर्ने उपक्रम गर्थे रे ! के अचेल पनि ईन्द्रले अप्सरा पठाउँछन् ?'

अडगडानन्दले प्रत्युत्तर दिए, ‘होइन, अब ईन्द्रले टाउको दुखाउनुपर्दैन । अचेलका स्वामी सन्यासीलाई तिमी जस्तै युवती भए पनि पराजित गर्न सकिन्छ ।’

धर्मलाई नास्तिकहरू भन्दा पनि छद्मभेषी, दुराचारी, पाखण्डी, मिथ्याभाषी, आडम्बरी आस्तिकहरूसँग बढी खतरा छ । न ज्ञान, न विज्ञान, न विवेक, न वैराग्य, न परोपकार ! कुनै पनि शील सदाचार नभएका धर्मगुरुहरू भन्दा एउटा डाकाको संगत गर्नु श्रेयष्कर हो । उसको मनको कुनै न कुनै कुनामा कालो सेतो जस्तो भए पनि अपराधभावको छाया हुन्छ र कुनै न कुनै दिन उसको हृदय रूपान्तरण हुने संभावना विद्यमान रहन्छ । तर, धर्मक्षेत्रमा आडम्बरको बिउ रोपेर श्रद्धाको दोहन गरिरहेका पातकीजनको हृदय रूपान्तरण हुने कुनै संभावना नै हुन्न ।

केही समय पहिला भारतका एक प्रख्यात गुरु भैय्यु महाराजले आफैँ गोली हानी शरीरान्त्य गरेका थिए । मामला यौनकै थियो, युवतीको ब्ल्याकमेलिङले आजित भएर भैय्यु महाराजले ‘न रहेगा बाँस, न बजेगी बाँसुरी’को बाटो रोजे ।

भारतका अर्का एक जना प्रख्यात गुरुले आफ्ना शिष्याहरूका लागि अनेकौँ फ्ल्याट किनेर अहिलेसम्म स्थिति थामथुम पार्दै आएका छन् । 

चिन्मयानन्दले पनि शक्ति सामर्थ्य प्रयोग गरेर धेरै दिनसम्म आफ्नो स्वामीगिरी चलाए तर अन्ततः एक जना युवतीको साहस सामु उनको वर्षौंको मुखुण्डो च्यातिएको छ । उनको बाँकी जीवन अब जेलमा गुज्रिनेछ । भारत नेपालभर रहेका अधिकंश गुरुहरूले यस्तो दोहोरो चरित्र राख्ने गरेका छन् । भर्खरै चिन्मयानन्दको असल चरित्र उजागर भएको छ । हेरौं, यस जीवनकालमा अन्य कति जना धार्मिक गुरुहरूको वास्तविकता उजागर हेर्न पाइन्छ ।