मेडिकल कलेजको सिट निर्धारण र ओपनहाउस काउन्सिलिङ रोक्न मेडिकल विद्यार्थीहरूको माग

मेडिकल कलेजको सिट निर्धारण र ओपनहाउस काउन्सिलिङ रोक्न मेडिकल विद्यार्थीहरूको माग

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ६, २०७६

काठमाडौं । मेडिकल कलेजहरूले असुलेको अवैध शुल्क फिर्ता नगरेसम्म उनीहरूको सिट निर्धारण तथा ओपन हाउस काउन्सिलिङ रोक्न चिकित्सा शिक्षाका विद्यार्थीले चारवटा माग अघि सारेका छन् ।

सोमबार चारवटै  प्रमुख निकायलाई एकै पटक ज्ञापनपत्र बुझाउँदै आगामी शैक्षिक सत्रका लागि निजी मेडिकल कलेजहरूको सिट निर्धारण प्रक्रिया अघि नबढाउन र ओपन हाउस काउन्सिलिङसमेत रोक्न विद्यार्थीहरूले अनुरोधसमेत गरेका छन् ।

मेडिकल कलेजहरूले विद्यार्थीलाई अवैध शुल्क असुलेको भन्दै विद्यार्थीहरूले अतिरिक्त शुल्क फिर्ता गरेपछि मात्र सिट निर्धारण तथा काउन्सिलिङ प्रक्रिया अघि बढाउनुपर्ने माग अघि सारेका हुन् ।

चिकित्सा शिक्षा संघर्ष समितिसहित चितवन र गण्डकी मेडिकल कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले सोमवार चिकित्सा शिक्षा आयोग काठमाडौं, नेपाल मेडिकल काउन्सिल बाँसबारी, चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान महाराजगन्ज र काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलमा एकै साथ ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थीले अवैध शुल्क फिर्ताको पछिल्लो आन्दोलनका क्रममा विद्यार्थीको पढाइ झन्डै एक महिना बिथोलिएकाले यस वर्षको बोर्ड परीक्षा एक महिना पछि सारिदिन आईओएम समक्ष अनुरोध पनि गरेका छन् ।

स्नातक तहका सबै कार्यक्रमको पहिलो र दोस्रो वर्ष, बीडीएस अन्तिम वर्ष तथा बीएमआईटी तेस्रो र चौथो वर्षको बोर्ड परीक्षा एक महिना सारिदिन आग्रह गरेका हुन् । वार्षिक शैक्षिक क्यालेन्ड नबिगारीकन परीक्षापछिको बिदाबाट कट्टी हुने गरी बोर्ड परीक्षा एक महिना सार्न सकिने सुझाव विद्यार्थीले दिएका छन् ।