सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि सुरु हुने भएको छ । प्रतियोगिता आगामी कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन गरिने क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिद्वारा सोमवार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने प्रतियोगितामा विभिन्न ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धा गर्ने टोलीमा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । उक्त प्रतियोगिताअन्तर्गत पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो । फाइनल खेलमा पोखरलाले चितवन राइनोजलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो ।
विजेताले २७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।
नेपाल भ्रमण वर्ष, २०२० मनाउन लागिएको अवसरमा पीपीएल लिगले सकारात्मक सन्देश दिने विश्वास लिइएको आयोजकले जनाएको छ ।