यस्ता छन् नियमित करेला सेवन गर्नुका फाइदा

यस्ता छन् नियमित करेला सेवन गर्नुका फाइदा

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  आश्विन ६, २०७६

काठमाडौं । धेरैलाई तीतो भएकै कारणले करेला मन नपर्न सक्छ तर यसमा रहेको गुणले हाम्रो स्वास्थ्य र सौन्दर्यमा आइपर्ने विभिन्न समस्याहरूबाट हामीलाई बचाउँछ । कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस जस्ता खनिज तत्त्वहरू करेलामा भएका कारण हाम्रो स्वास्थ्यका लागि करेला खानु धेरै राम्रो मानिन्छ ।

करेलामा हुने विभिन्न खनिज तत्त्वले मधुमेह तथा उच्चरक्तचाप नियन्त्रण गर्नदेखि हाम्रो शरीरमा हुने अन्य विभिन्न खालका समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यस्ता छन् करेलाका खानुका फाइदा

मधुमेह समस्या भएकाहरूले नियमित करेलाको रस खानाले मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ । यस्तै, जन्डिसका बिरामीले करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिस निको पार्न मद्दत गर्छ । पत्थरीको समस्या भएको व्यक्तिले हरेक दिन बिहान बेलुका करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर पिउने गर्नाले पत्थरी निको पार्न मद्दत गर्छ । पेटमा कीराको कारणले यदि पेट दुख्ने समस्या छ भने बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका कीरा नष्ट भएर राहत मिल्छ ।

काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुखेको ठाउँमा लगाउनाले दुखाइमा राहत मिल्छ । करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ । उच्चरक्तचाप भएकाहरूले नियमित रूपमा करेलाको सेवन गर्नाले रक्तचाप नियन्त्रणमा आउने गर्छ ।

यस्तै, अनुहारमा दाग आएको छ भने करेला सेवन गर्नाले रगत शुद्ध बनाउँछ र अनुहारमा दाग पनि आउँदैन ।

धेरै भिटामिन ‘ए’ पाइने करेला एक राम्रो एन्टी अक्सिडेन्ट हो, जसले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । करेला सेवनले एन्टी एजिङको काम पनि गर्छ । यस्तै, नियमित रूपमा करेला सेवनले छालामा हुने विभिन्न खालका एलर्जीबाट बचाउँछ । छाला जवान र चक्किलो देखिन्छ । पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।