स्क्रब टाइफसल फैलँदै, उपत्यकामा २६ जनामा देखियो

स्क्रब टाइफसल फैलँदै, उपत्यकामा २६ जनामा देखियो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ७, २०७६

काठमाडौं ।  अत्यन्त घातक मानिने स्क्रब टाइफसल फैलिँदै गएको छ । मुसामा पाइने माइट नामक जीवाणुबाट मानिसमा सर्ने उस रोगबाट गत साउनयता ६९५ जना संक्रमित भइसकेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म स्क्रब टाइफसले ६१ जिल्लालाई प्रभावित बनाएको पनि महाशाखाले जानकारी दिएको छ ।

स्क्रब टाइफस प्रदेश १ मा १८ जनामा, प्रदेश २ मा २२ जनामा, प्रदेश ३ मा २०४ जनामा, प्रदेश ४ मा ५१ जनामा, प्रदेश ५ मा २३७ जनामा, प्रदेश छमा ८ जनामा र प्रदेश ७ मा  १५५ जनामा देखिएको तथ्यांक छ । स्क्रब टाइफसबाट धादिङ सबैभन्दा बढी प्रभावति रहेको छ । यसबीचमा धादिङ ७४ जनामा यो रोग देखिएको छ । डडेल्धुरामा ६१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने पाल्पामा ५९, रूपन्देहीमा ४६, गुल्मीमा ३६, काठमाडौंमा २६, ललितपुरमा ११, काभ्रेमा १७, कपिलवस्तुमा १८, अर्घाखाँचीमा १८, बर्दियामा १३, स्याङ्जामा १०, बाँकेमा २० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साउनयता तीन सय बढी स्क्रब टाइफसको संकामा उपचार गर्न आएको अस्पतालले जनाएको छ । तीमध्ये २६ जनामा स्क्रब टाइफस संक्रमण भएर गम्भीर बिरामी भएका र उनीहरूको भर्ना गरेरै उपचार गरिएको अस्पताले जनाएको छ ।

स्क्रब टाइफस डेंगुभन्दा ३० गुणा बढी घातक हुने भएकाले सबै जना सचेत हुनुपर्ने बताइएको छ । यो संक्रमण लागेपछि मृत्यु हुने सम्भावना डेंगुभन्दा ३० गुणा बढी हुने र सुरुमै पहिचान गर्न सके सामान्य एन्टिबायोटिक सेवनबाट यो रोग निको पार्न सकिने चिकित्सकको भनाइ छ ।

यो हो स्क्रब टाइफस

स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्छ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्छ। यस रोगको किटाणु बोक्ने ‘माइट’ ससाना बोट बिरुवाको झाडीमा बस्छ ।

पहिलो पटक सन् १९३० तिर जापानमा देखापरेको यो रोग हाल भने नेपालका विभभिन्न स्थानमा पनि देखापरेको छ । दोस्रो विश्वयुद्धको बेला युद्धमा खटिएका सेनाहरू जंगलका झाडी हुँदै हिँड्दा ‘माइट’ले टोकेको र टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवी पनि शरीरमा छोडेकाले उनीहरूमा यो रोग लागेको पाइएको थियो । तर, नेपालमा भने मुसाले यो रोग सारेको पाइएको छ। झाडीमा बस्ने मुसाको कानमा पाइने माइट झाडीमा सर्ने र त्यहाँ जाँदा मानिसलाई टोकेका कारण यो रोग भएको पाइएको छ।

स्क्रब टाइफस भएका मानिसहरूमा धेरै ज्वरो आउने हुन्छ । १०४ डिग्रीभन्दा बढी र काम ज्वरोसमेत आउन सक्छ । टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिमिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन् ।

रोग समयमै उपचार नगरेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ । औषधिको रूपमा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने चिकित्सकको भनाइ छ।

यस रोगबाट बच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासबारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्ने विज्ञको सुझाव छ ।