धुवाँ, धुलो र पुराना दम खोकीः मानिसको मृत्युको तेस्रो कारण !

लक्षण र जाँच्ने तरिका

धुवाँ, धुलो र पुराना दम खोकीः मानिसको मृत्युको तेस्रो कारण !

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  आश्विन ७, २०७६

पुरानो दम खोकी रोग चालीस–पचास वर्ष पुगेका महिला तथा पुरुषमा पाइन्छ । पुरुषमा भन्दा महिलाहरूमा यो रोग केही मात्रामा ज्यादा हुन्छ । भेन्टिलेसन नभएका घरभित्र दाउरा बालेर खाना पकाउने महिलाहरू नै भएकाले सीओपीडी महिलाहरूमा ज्यादा भएको हुन सक्छ ।

सन् २००४ मा जापानमा गरिएको एउटा अनुसन्धान ‘दि निप्पोन सीओपीडी इपिडिमिओलोजी’ (योसिनोसुके फुकुचीलगायत) अनुसार सीओपीडीको घटनाक्रम १०.९ प्रतिशत पाइएको थियो । उक्त अध्ययन ‘जीओएलडी क्राइटेरिया’ प्रयोग गरेर ४० वा सोभन्दा बढी उमेरका पुरुष र महिलाहरूमा गरिएको थियो ।

विश्व स्वास्थ संगठनले समय समयमा रोगहरूको समस्या प्रकाशन गर्ने गर्छ । सन् २०१६ मा गरिएको एउटा अध्ययनले संसारभर २.५१ करोड सीओपीडीका रोगीहरू भएको जानकारी दिएको छ । संसारभर सन् २०१५ मा ३१.९ लाख महिला तथा पुरुषहरूको मृत्युको कारण सीओपीडी भएको थियो । हाल संसारमा सीओपीडी मृत्युको चौथो कारण मानिएको छ र यसले निकट भविष्यमा संसारभरमै मृत्युको तेस्रो कारण हुने संभावना भएको विशेषज्ञहरूले भविष्यवाणी गरिसकेका छन् ।

भारतमा सन् २०१९ मा करिव १० लाख मानिसको मृत्यु सीओपीडीका कारण भएको थियो । मुटु रोगपछि भारतमा सीओपीडीले दोस्रो स्थान ओगटिसकेको छ ।

पुरानो दम खोकीको घटनाक्रमबारे विभिन्न अनुसन्धानकर्ताहरूले बेग्लाबेग्लै तरिकाले अध्ययन गरेका पाइन्छ । देशभर गाउँघरमा गरिएको अध्ययनले सीओपीडीको घटनाक्रमबारे विश्वासिलो तथ्यांक प्रस्तुत गर्न सक्छ । यस्ता बिरामीहरूको संख्या अस्पतालमा ज्यादा हुन्छ । यसर्थ अस्पतालमा भर्ना हुने दम खोकीद्वारा पीडित व्यक्तिहरूको अध्ययनले रोगीहरूको संख्या ज्यादा देखाउनु स्वाभाविक हो । मध्यपश्चिम नेपालमा गरिएका अध्ययनहरू ‘सबनेसनल स्टडिज अफ दि प्रिभेलेन्स अफ सीओपीडी’का अनुसार पुरानो दम खोकीको घटनाक्रम २३–४३ प्रतिशतसम्म पाइएको छ ।

ताराबल्लभ अधिकारी र अन्यले लेख्नुभएको ‘इन्टरनेसनल जर्नल अफ क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज’मा छापिएको लेखका अनुसार नेपालको जनसंख्याको ४.८ प्रतिशतमा सीओपीडी पाइएको छ । चालीस वर्षभन्दा बढी उमेर भएका पुरुष तथा महिलाहरूमा सीओपीडी ज्यादा पाइन्छ । यसर्थ ४० वर्षभन्दा ज्यदा उमेर भएकाहरूमा यसको अध्ययन गर्नु आवश्यक छ ।

पुरानो दम खोकी जम्मु काश्मिरमा ज्यादा पाइन्छ । नेपालका पहाडी क्षेत्रका बासिन्दाहरूको चुरोट, बिँडी र तमाखु खाने बानी ज्यादा छ । दाउरा बालेर खाना पकाउने गर्दा घरभित्रको धुवाँले पनि यो रोग लगाउँछ । पहाडको हावामा धुलो नहुनु स्वस्थकर भन्न सकिन्छ । शहर बजारको हावाको प्रदूषण नियन्त्रण गर्न त्यति सजिलो हुँदैन तर  पहाडका गाउँघरमा बस्नेहरूले धुम्रपान र धुवाँ नआउने चुह्लोमा खाना पकाएर खान थाले पुरानो दम खोकीबाट बच्न सकिन्छ ।

धुवाँ नआउने चुह्लो घरघरमा निःशुल्क उपलब्ध गराएर दम खोकी रोगबाट नेपालीहरूलाई राज्यले मुक्ति दिलाउन सक्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पनि यो रोगको रोकथाममा ठूलो भूमिका हुन सक्छ । गाउँघरका विद्यार्थी वर्गमा र शिक्षकहरूमा यो रोगलाई नियन्त्रण गर्ने ज्ञान भएमा स्वास्थ्य शिक्षाको प्रचार गरेर दम खोकी जस्तो दीर्घ रोगबाट बच्न सकिन्छ ।

रोकथाम गर्न सकिने यो रोगका विषयमा सर्वसधारणलाई जानकारी गराएर यो घातक रोगबाट मुक्ति दिलाउनु राज्यको ठूलो दायित्व हो ।

सीओपीडीका लक्षणहरू

सीओपीडीका मुख्य लक्षणहरू खकार, खोकी र दम हुन् । धेरैजसो विषाणुद्वारा र कहिलेकाहीँ जीवाणुद्वारा संक्रमण हुँदा ज्वरो आउने, शरीर दुख्ने पनि हुन सक्छ । यो रोगमा प्रायः सेतो खकार आउँछ । बिहान खोकी बढ्छ । छाती भारी हुनु पनि यो रोगको लक्षण हो । मामुली किसिमको लक्षण हुनेहरू आफ्नो दैनिक काम गरिरहेका हुन्छन् । रोगले दिन प्रति दिन च्याप्दै लान्छ र यो रोगबाट पीडित मानिसहरूलाई पछि हिँडडुल गर्न पनि गाह्रो पर्छ ।

इम्फाइसिमा भएका बिरामीहरू आफ्नो ओठलाई मुजा पारेर सानो मुखद्वारा सास फेर्न सिक्छन् । यसरी छिटोछिटो सास फेर्दा सास फेर्न सजिलो हुन्छ र यिनीहरूमा अक्सिजन कम हुँदा नीलो ओठ हुने गर्छ । यिनीहरूलाई चिकित्सकहरू ‘पिंक पफर’ भन्छन् । धेरै समयसम्म ब्रोङ्काइटिस भएकाहरूको शरीरमा अक्सिजन कम भएर ओठ र जिब्रो नीलो हुन्छ ।

यिनीहरूका दायाँ हृदयकक्षहरू प्रभावित भएर हातगोडा र शरीर फुल्न सक्छ । यिनीहरूको कलेजो सुन्निुका साथै गर्धनका शिराहरू पनि फुल्न सक्छन् । कडा किसिमको सीओपीडीबाट पीडत रोगीहरूलाई सास फेर्न गाह्रो परिरहेको हुन्छ । यिनीहरूको नाक चलिरहेको हुन्छ र छाती बजेको टाढाबाटै थाहा हुन्छ । छातीका करङहरूको बीच भाग सास लिँदा भित्र पसेको देखिन्छ । यसलाई हुभरले पत्ता लगाएका हुन्, जसलाई हुभर साइन भनिन्छ ।

कडा किसिमको सीओपीडीमा बसेर अगाडि ढल्किएर दुवै पाखुरालाई बाहिर लगी हात अथवा कुइनोले टेक्दा बिरामीहरूलाई सास फेर्न सजिलो हुन्छ । यसरी कुइनोले घुँडामाथि तिघ्राको तल्लो भागमा टेकिरहँदा त्यहाँको छाला बाक्लो हुन्छ, जसलाई डाहल साइन भनिन्छ । कुहिनोतिरको पाखुराको छाला पनि बाक्लो हुन सक्छ । घाँटीको अगाडीतिर सीओपीडीमा सास फेर्दा ट्रेकिया तल सर्छ यसलाई क्याम्बेल्स साइन पनि भनिन्छ । धुलो, धुवाँ, चिसो र विषाणुद्वारा संक्रमण हुँदा दम, खोकी र खकार आउँछ ।

सीएटी स्कोर भनेको के हो ?

सीओपीडी एसेसमेन्ट टेष्टलाई (सीएटी) भनिन्छ । सीएटी स्कोर पत्ता लगाउन आठवटा प्रश्नहरू सोधिन्छन् । प्रत्येक प्रश्नको ०–५ स्कोर हुन्छ । १० अथवा १० भन्दा ज्यादा स्कोर हुनेहरूलाई कडा किसिमको सीओपीडी मान्नुपर्छ । जति ज्यादा स्कोर भयो, त्यही अनुपातमा सीओपीडी पनि कडा हुने सम्भावना हुन्छ ।यसरी सीएटी स्कोरले सीओपीडीको वर्गीकरण गर्नमा मद्दत गर्नुका साथै यसले रोग कति कडा छ भन्ने पनि बताउन सक्छ । सीएटी स्कोरका प्रश्नहरू तल उल्लेख गरिएका छन् ।

१. खोकी– ०–५ प्वाइन्ट
२. खकार– ०–५ प्वाइन्ट
३. छाती भारी– ०–५ प्वाइन्ट
४. दम– ०–५ प्वाइन्ट

५. काम गर्ने शक्तिमा प्रभाव– ०–५ प्वाइन्ट
६. कम निद्रा– ०–५ प्वाइन्ट
७. घरबाट बाहिर निस्कने आत्मबल– ०–५ प्वाइन्ट
८. कम शक्ति– ०–५ प्वाइन्ट ।

यी लक्षणहरू कस्ता छन् भन्ने कुरा पत्ता लगाएर यिनीहरूलाई प्वाइन्ट दिइन्छ । धेरै ज्यादा लक्षणहरूलाई ५ प्वाइन्ट दिनुपर्छ । लक्षण नभए ० प्वाइन्ट दिइन्छ । यसरी लक्षणहरूको कडापनलाई विचार गरेर प्वाइन्ट दिने गरिन्छ ।

BORDE Index भनेको के हो ?

B भनेको (Body Mass Index, O भनेको Airflow Obstruction, D भनेको DyspNoea र E भनेको Exercise Capacity हो । यी प्रत्येकलाई स्कोरी गरेर तल उल्लेख गरिएअनुसार बोडे इन्डेक्स पत्ता लगाइन्छ । बोडे स्कोरले औषधिले फाइदा गरे वा नगरेको र सीओपीडीका बिरामीहरूको बाँच्ने अवधिको जानकारी दिलाउँछ । कडा किसिमको सीओपीडीमा बोडे ज्यादा हुन्छ ।

दम खोकी नाप्ने तरिका

(१) FEVI Percent Predicted after Broncho Dilator 

(२) ६ मिनेट हिँड्ने दूरी

(३) MMRC Dyspnoea Scale
(Modified Medical Research Council Dyspnoea Scale)

(४) Body Mass Index

सीओपीडीमा ४ वर्षको जीवन अवधि निम्नबमोजिम हुने सम्भावना हुन्छ ।

याे पनि 

पुरानो दम–खोकीबाट बच्ने उपाय