स्वास्थ्यको समायोजनको किचलो मिलाउन फेरि समिति गठन

स्वास्थ्यको समायोजनको किचलो मिलाउन फेरि समिति गठन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ७, २०७६

काठमाडौं । समायोजनको सकसलाई सहजीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: एउटा समिति गठन गरेको छ।

नेपाल स्वास्थ्य सेवाका विभिन्न समूह, उपसमूहमा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा प्राप्त भएका गुनासाहरू व्यवस्थापन एवं सहजीकरण गर्न मन्त्रालयले समिति गठन गरेको जनाएको छ ।

समितिको संयोजकमा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख तथा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई पुनः जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलवारको मन्त्री स्तरको निर्णयले श्रेष्ठलाई सो जिम्मेवारी दिइएको हो ।

समितिका सदस्यहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव ईन्द्र गौतम, मन्त्रालयकै कानुन शाखा प्रमुख उपसचिव पुष्करराज नेपाल, जनस्वास्थ्य प्रशाशक शम्भु काफ्ले, शाखा अधिकृत घनश्याम पोखरेल र स्वास्थ्य सेवा विभागका अधिकृत मनीष सिंह रहनुभएको छ ।

समितिले कर्मचारी समायोजन ऐन, २०७५, नेपाल सरकारका साथै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको विभिन्न समयको निर्णय एवं निर्देशनको कार्यन्वयन गर्ने साथै मौजुदा कानुनको अधीनमा रही समायोजनका सम्बन्धमा मन्त्रायलमा परेका गुनासा दर्ता गरी आवश्यकताअनुसार समायोजन व्यवस्थापनका लागि निर्णय गर्नेछ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी समायोजनमा चिकित्सा, नर्सिङ, आयुर्वेद, जनस्वास्थ्यलगायतका छैटौँदेखि ११औँ तहसम्मका समायोजन सकिएको छ । त्यसैगरी खोप सुपरभाइजर, ल्याब, पब्लिक हेल्थ इन्स्पेक्टरलगायतको पनि समायोजन सकिएको मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूहका कर्मचारीको समायोजनका लागि सिफारिस गरिसकेको छ । अन्य सेवा समूहका कर्मचारीको समायोजन भइसकेको छ । यस्तै, तल्लो तहदेखि कर्मचारीको समायोजन र पदस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालयको टोली अब गुनासो परेका पदहरूको मिलानमा अघि बढेको बताइएको छ ।

अघिल्लो पटक सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजनमा धेरैको नमिलेपछि त्यसलाई बदर गरी पुन: समायोजनको निर्णय गरेको थियो । त्यसअघि नै मन्त्रालयले अघिल्लो पटक समायोजनमा चित्त नबुझेका कर्मचारीलाई गुनासो गर्न समयावधि दिएको थियो । त्यहीअनुसार मन्त्रालयमा १३ हजारभन्दा बढी गुनासा परेका थिए । पछि छानबिन गर्दा ७ हजार बढी गुनासा जायज देखिएको मन्त्रालयको जनाएको थियो ।

गत असार दोस्रो साता ११औँ तहका कर्मचारीबाट समायोजन सुरु गरेको स्वास्थ्य मन्त्रालयले अहिले दशौँ, नवौँ, आठौँ तह हुँदै नर्सिङतर्फको पाँचौँ, छैटौँ र सातौँ तहको समेत समायोजन गरिसकेको छ ।