यसै शैक्षिक सत्रदेखि निजी मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसमा भर्ना नलिने

यसै शैक्षिक सत्रदेखि निजी मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसमा भर्ना नलिने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ८, २०७६

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले यथास्थितिमा एमबीबीएस र बीडीएसको कक्षा सञ्चालन गर्न नसक्ने बताएका छन् ।

यही अवस्थामा आफूहरूले मेडिकल कलेज सञ्चालन गर्न नसकिने भएकाले उनीहरूले सांकेतिक रूपमा सम्पूर्ण निजी मेडिकल कलेजहरूको साँचो सरकारलाई बुझाएको समेत जानकारी दिएका छन् ।

निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सरकारका एकपछि अर्को गर्दै गरिएका अव्याहारिक निर्णयबाट निजी मेडिकल कलेजहरू सञ्चालन हुन नसक्ने भन्दै यसै शैक्षिक सत्रदेखि कुनै पनि निजी मेडिकल कलेजहरूले डेन्टल तथा एमबीबीएस समूहमा भर्ना नलिने घोषणा गरेका हुन् ।

विज्ञप्तिमार्फत् उनीहरूले कलेजको सिट, विदेशी विद्यार्थी र शुल्कको बारेमा आफूहरूको असहमति रहेको समेत बताएका छन् ।

यस्तै, एसोसिएसनका अध्यक्ष बसुरुद्दिन अन्सारीले सरकारले निजी मेडिकल कलेजको योगदानलाई बिर्सिएर एकपछि अर्को प्रहार गर्दै निजी मेडिकल कलेजहरूलाई बेवास्ता गर्दै कलेजहरू धरासायी हुने निर्णय गर्दै सरकार गइरहेकाले आफूहरू बाध्य भएर नयाँ भर्ना लिन नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

मेडिकल कलेजको सिट घटाउनुपर्ने, शुल्क पनि घटाउनुपर्ने, विदेशी विद्यार्थी लिन पनि अप्ठ्यारो पार्दै जाने तर कलेजहरूमा जनशक्ति थप्दै जानुपर्ने, शिक्षक प्राध्यापकको तलब बढाउँदै जानुपर्ने भएकाले आफूहरू अप्ठ्यारोमा परेको भन्दै यसै शैक्षिक सत्रदेखि नै कुनै पनि समूहमा नयाँ भर्ना नलिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ हामीले पाउने सिट घटाउनुपर्ने, शुल्क पनि घटाउनुपर्ने, विदेशी विद्यार्थी लिन पनि अप्ठ्यारो पार्दै जाने तर हामीले राखेका प्रध्यापकहरूको सेवा सुविधा बढाउँदै जानुपर्ने ! यस्तो अवस्थामा हामी कलेज सञ्चालन गर्न सक्ने अवस्थामा छैन ।' 

कि सरकारले नै पैसा दिएमन सम्पूर्ण नि:शुल्क रूपमा पढाउन तयार रहेको नत्र सरकारलाई आफ्नो कलेजको साँचो बुझाउनुको विकल्प नभएको उहाँको भनाइ छ ।