बैंक अफ काठमाडौंको २ करोड ५० लाख  हिनामिना गर्ने  ११ जना पक्राउ

बैंक अफ काठमाडौंको २ करोड ५० लाख  हिनामिना गर्ने  ११ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन ८, २०७६

काठमाडौं । जग्गाको झुठो विवरण पेश गरी बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न ११ जनालाई विभिन्न मिति र स्थानबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थापक एवं संचालक काठमाडौं बानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ५४ वर्षीय सुरेन्द्र श्रेष्ठ, काठमाडौं शंखरापुर नगरपालिका-९ लाकिल्ला भुमेथली बस्ने काठमाडौं महानगरपालिका-३ महाराजगंज घर भएका ३८ वर्षीय भुपेन्द्र श्रेष्ठ, झापा चन्द्रगढी-६ ठेगाना भएका गणेश लम्साल, काठमाडौं  बानेश्वर बस्ने भैरहवा खजनाटोल-३ घर भएका किरण कुमार बोहरा, चितवन भण्डारा-१ बस्ने ऋशेश्वर थपलिया, मकवानपुर मनहरा गाउँपालिका-८ बस्ने खैरोङ-३ घर भएका कृष्ण बहादुर कार्की, काठमाडौं महानगरपालिका-४ बस्ने पर्सा वीरगंजका सुषमा शाह, काठमाडौं मैजुबाहाल-७ बस्ने बिभु विक्रम पन्त, बाँके नेपालगंज उपमहानगरपालिका-१ धम्बोजी बस्ने ऋचा श्रेष्ठ, काठमाडौं महानगरपालिका-७ सिफल बस्ने पुष्पराज भण्डारी र काठमाडौं कोटेश्वर बस्ने अजय श्रेष्ठ रहेका   छन् । 

स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संचालक सुरेन्द्रले कम्पनीको नाममा झापाको कित्ता नम्बर ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गाको झुठ्ठा विवरण उक्त बैंकमा पेश गरी एक ठाउँको जग्गा देखाई अन्य ठाउँको जग्गा धितोमा राखी बैंकलाई उक्त रकम बराबरको हानी नोक्सानी पुर्‍याएको अनुसन्धानबाट खुल्न आएको छ ।   

उनीहरु बिरुद्ध  बैंकिङ कसुर ऐन, २०६४ बमोजिम हदैसम्मको सजाय मागदावी गरी विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रहरी प्रतिवेदन पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।  सोही  हिनामिनाको कार्यमा संलग्न अन्य ५ जना हाल फरार रहेका  नेपाल प्रहरीले जनाएकाे  छ ।