नेपाली फुटबलः उत्तराधिकारी टिमको हल्लिएको जग

नेपाली फुटबलः  उत्तराधिकारी टिमको  हल्लिएको जग

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन ८, २०७६

काठमाडाैँ । पछिल्लो दुई महिना नेपाली फुटबलको जगका रूपमा युवा फुटबल मैदानमा उत्रियो । उमेर समूहलाई उदाउँदो राष्ट्रिय टिमको रूपमा हेर्ने गरिन्छ । अर्थात् राष्ट्रिय टिमको उत्तराधिकारीको रूपमा उमेर समूह रहन्छ ।

तर, नेपाली फुटबलको जगका रूपमा हेरिने उमेर समूह आफैँमा कति धरासायी रहेछ भन्ने प्रमाण पछिल्ला तीन प्रतियोगिताले प्रमाणित गरेको छ । साफ यु–१५ च्याम्पियनसीप र अहिले साफ यु–१८ च्याम्पियनसीप, यी दुवै प्रतियोगिता उमेर समूहमा दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिता हुन् ।

यिनै टिम एएफसी यु–१६ च्याम्पियनसीप र एएफसी यु–१९ च्याम्पियनसीप खेल्छन् । अर्थात् साफको उमेर समूहले एसियाली फुटबल महासंघको ठूलो प्रतियोगिता एएफसी कप खेल्छन् । त्यो भनेको एएफसीले नै उमेर समूहलाई नयाँ प्रतिभाको खोजीको रूपमा लिने गरेको छ ।

यु–१५ फुटबलको नेपाली अवस्था नेपाली फुटबलमा जहिले पनि कमजोर मानिन्छ यु–१५ फुटबल । किशोर समूहमा यो फुटबल राष्ट्रिय टिम प्रवेशको गेटका रूपमा मानिन्छ । प्रतिष्ठित फुटबल कल्चर भएको देशमा १६ वर्षमा नै राष्ट्रिय टिममा युवा खेलाडीले डुेब्यु गर्छन् तर नेपालमा यो उमेर समूहबाट राष्ट्रिय टिममा विरलै मात्र खेलाडीले प्रतिष्पर्धा गर्छन् ।

लामो समयदेखि नेपाली फुटबललाई नजिकबाट नियालिरहेका विश्लेषक संजीव मिश्र भन्नुहुन्छ, ‘उमेर समूह भनेको राष्ट्रिय टिमको मेरुदण्ड हो, त्यसैले किशोर फुटबलमा लगानी नबढाए त्यसको सोझो असर राष्ट्रिय टिममा पर्छ।’ पछिल्लो समय राष्ट्रिय टिम आफैँ संघर्षपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो समय नेपालले यु–१५ साफ च्यामिपयनसीपअन्तर्गत अगस्टमा राउन्डरोविन लिगका आधारमा चार खेल खेल्यो, जसमा नेपालले श्रीलंका, बंगलादेश र भुटानलाई पराजित गर्दे अन्तिम दुईमा स्थान बनायो । तर, फाइनलमा नेपाल भारतसँग ५–० को फराकिलो हार ब्योहोर्न बाध्य भयो ।

तुलनात्मक रूपमा कमजोर मानिएको श्रीलंका र बंगलादेशसँग प्रतिष्पर्धात्मक खेलमा नेपालले बाजी मारेको थियो । नेपालको रवाफ भुटानसँग मात्र रह्यो । सर्वाधिक खराब लयमा यु–१८ साफले सन् २०१५ बाट यु–१९ उमेर समूहमा प्रतियोगिता सुरु गरेको थियो तर एएफसीले यु–१९ च्याम्पियनसीप आयोजना गर्ने भएपछि सन् २०१७ बाट यु–१८ को रूपमा प्रतियोगिता संचालन गरियो । सन् २०१५ र २०१७ को संस्करणमा च्याम्पियन बनेको नेपालका त्यही बेलाका अधिकांश खेलाडी अहिले राष्ट्रिय टिममा छन् तर यस पटक नेपाली यु–१८ टिमको प्रदर्शन साँच्चिकै बिर्सनलायक रह्यो ।

तुलनात्मक रूपमा कमजोर समूहमा रहे पनि नेपाल समूह चरणनै पार गर्न असफल भयो । माल्दिभ्सँग पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा थप खराब प्रदर्शनको सिकार भयो । अप्रत्यासित रूपमा भुटानसँग ३–० ले पराजित हुँदा नेपाली युवा टिमको खस्कँदो प्रदर्शन सतहमा देखियो । केहि समयअघिसम्म भुटानको फुटबल विश्वमै कमजोर थियो तर पछिल्ला केही वर्षमा ग्रासरुट फुटबलमा उसले गरेको लगानीको प्रतिफल अब देखिन थालेको मान्नुहुन्छ विश्लेषक मिश्र । ‘भुटानी फुटबलमा राज्यले सिस्टमेटिक लगानी गरेको केही समयबाटै प्रतिफल लिन थालेको छ ।

अबका केही वर्षमा भुटानको राष्ट्रिय टिमसमेत बलियो हुने निश्चित छ', उहाँको भनाइ छ । ग्रासरुट लगानी अपरिहार्य नेपालमा फुटबल विकासको एकेडेमीका रूपमा एन्फा एकेडेमी रहेको छ । एक मात्र एकेडेमी, त्यो पनि केन्द्रमा भएकाले स्वाभाविक रूपमा ग्रामीण भेगमा भएका प्रतिभा काठमाडौंसम्म आइपुग्दैनन् । एन्फाले ग्रासरुट फुटबलमा लगानी गर्ने जनाए पनि अहिलेसम्म कुन ठाउँमा कुन संरचनाअनुसार एकेडेमीहरू बनाउने भन्ने तय भएको छैन । मिश्र भन्नुहुन्छ, ‘अब ढिला सुस्ती गर्नु हुन्न । जति चाँडो प्रतिभा खोजी गर्नुपर्छ। त्यसका लागि क्षेत्रीय स्तरमा एकेडेमीहरू बनाउनुपर्छ र चाँडो ठूलो मात्रामा ग्रासरुट इभेन्टहरू अघि बढाउनुपर्छ।’ समग्रमा अब नेपाली फुटबलको दीर्घकालीन विकासका लागि ग्रासरुट फुटबललाई क्षेत्र र जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउनुपर्ने उहाँको मत छ । त्यस्तै, धेरैभन्दा धेरै उमेर समूहमा प्रतियोगिताहरू गराउनुपर्ने अन्यथा राष्ट्रिय फुटबल टिम दक्षिण एसियाकै कमजोर टिमको रूपमा परिणत हुन धेरै समय नलाग्ने मिश्रको भनाइ छ ।