थाइल्याण्डमा चराहरुको सांगीतिक प्रतियोगिता सुरु

थाइल्याण्डमा चराहरुको सांगीतिक प्रतियोगिता सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ९, २०७६

काठमाडौं, एजेन्सी । थाईल्याण्डको दक्षिणी प्रान्त नारथीवाटमा चराहरुको पनि सांगीतिक प्रतियोगिता शुरु भएको छ ।

जसमा थाईल्याण्ड, सिंगापुर तथा मलेसियाका १८०० पंक्षीहरुकाे सहभागिता रहने आयोजकले जनाएका छन् । प्रतियोगितामा पंक्षीहरुलाई पिंजडामा राखेर १५ फिट अग्लो खम्बमा झुण्ड्याएर राख्ने गरिएको छ । उनीहरुलाई पालैपालो खम्बाबाट निकालेर गाउन लगाइने छ । प्रतियोगितामा बुलबुल, सुगा, परेवा तथा अन्य साना चराहरु सामेल गरिएकाे छ । 
यस प्रतियोगिताका लागि चराका मालिकहरुले ४ महिना अघि देखि नै तयारी थालेका बताउइन्छ । प्रतियोगिता चार राउण्डमा हुनेछ भने जीत्नका लागि चरालाई एक राउण्डमा कमसेकम तीन पटक गाउनु पर्नेछ । गाउने समय २५ सेकेण्डको हुनेछ । 

चराको पिंजडालाई सजाइएको छ भने चरालाई आवश्यक खानपीनको पनि व्यवस्था गरिएको छ । 

आयोजकका अनुसार प्रतियोगिताका निर्णायकहरुले पालै पालो चराको गीत सुन्छन् । उनीहरुको गायकी तथा बुद्धिमत्ताका आधारमा नम्बर दिइन्छ । सबैभन्दा धेरै नम्बर प्राप्त गर्नेलाई विजेता घोषित गरिनेछ ।

पछिल्लो वर्ष यस प्रतियोगिताको विजयीलाई ९० हजार रुपैयाँ दिइएको थियो । यस वर्ष भने पुरस्कार राशीमा वृद्धि गरी २ लाख ४० हजार बनाइएको छ । विजेतालाई नगदका साथ ट्रफी पनि प्रदान गरिनेछ ।