कीर्ते गरी सरकारी जग्गा कम्पनीलाई दिलाउने ६ जनाविरुद्ध लिखतसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दा

कीर्ते गरी सरकारी जग्गा कम्पनीलाई दिलाउने ६ जनाविरुद्ध लिखतसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दा

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन ९, २०७६

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका- २ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका-३ मुलपानी घर भएका ५० वर्षीया मिना कुमारी थापा, उक्त हाउजिङका संचालक काठमाडौं तारकेश्चर नगरपालिका-१० मा डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-५ दानसिङका ४१ वर्षीय रामकुमार सुयल थापा, ललितपुर गोदावरी नगरपालिका-१४ वाडेगाउँ बस्ने कैलाली चुरे गाउँपालिका-६ घर भएका ४६ वर्षीय रामबहादुर शाह, काठमाडौं महानगरपालिका-१६ बस्ने नागार्जुन नगरपालिका-७ घर भएका तत्कालीन मालपोत अधिकृत ५५ वर्षीय शिवप्रसाद रिमाल, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने गोरखा सिरानचौक गाउँपालिका-१ घर भएका कानुन व्यवसायी ५१ वर्षीय बाबुराम शर्मा रेग्मी र काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका-८ घर भएका ४६ वर्षीय योगेन्द्र पोखरेल रहेका छन् । 

उक्त सरकारी जग्गालाई रामबहादुरको योजनामा मिनाको नाममा नक्कली जग्गाधनी प्रमाण पूर्जा बनाई उक्त जग्गालाई कम्पनीको नाममा बिक्रीको करारका कागजातहरु तयार पारेको अनुसन्धानबाट खुल्न आएको छ । 

पक्राउ परेका ६ जनालाई लिखतसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा आवश्यक कारवाही लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पेस गरिएको केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजले जनाएको छ ।