यसरी गर्नुस् छालाको हेरचाह

यसरी गर्नुस् छालाको हेरचाह

रिना शाक्य  |  समाज  |  माघ २९, २०७५

व्यस्त जीवनशैली र चेतना अभावका कारण अधिकांशले छालाको हेरचाह गर्नै पाउँदैनन् । छालाको हेरचाह नहुँदा अनुहारमा डन्डीफोर देखिने, अनुहारको चमक हराउनेलगायत समस्या देखिन्छन् । घरमा उपलब्ध सामान प्रयोग गरी छालाको हेरचाह गर्न सकिन्छ । 

दूध 

हरेकको भान्सामा पाइने गाईको दूधले पनि छाला सफा गर्न सकिन्छ । यसले क्लिजिङको काम गर्छ ।

सफा पानीले अनुहार पखाली सानो सिसाको कचौरामा आवश्यक मात्रामा दूध लिएर कपासको सहायताले अनुहारमा लगाउने । त्यसपछि औँलाले सर्कुलर मुभमेन्टमा हलुकासँग क्लिजिङ गर्ने र केही समयपछि पानीले पखाल्ने । त्यसपछि गुलाब जल र राम्रो कम्पनीको मोस्चराइजर लगाउने । 

गोलभेँडा

गोलभेँडा पनि अनुहारको छाला सफा गर्ने क्लिनर हो । पाकेको गोलभेँडालाई काटेर ५–६ मिनेट क्लिजिङ गर्दा छाला सफा हुन्छ । त्यति मात्र होइन, यसले छालालाई भिटामिन ‘ए’ पनि दिन्छ । यो मिश्रित छाला भएकाहरूका लागि उपयुक्त मानिन्छ । 

पाकेको केरा वा मेवा 

अनुहारको छाला सफा गर्न पाकेको केरा वा मेवा पनि उपयुक्त मानिन्छ । पाकेको केरा वा मेवालाई चम्चाको सहायताले लेदो बनाउने र अनुहार पखालेर आँखाबाहेकको भागमा लेदो लगाउने । त्यसपछि औँलाको सहायताले एक–दुई मिनेट मसाज गरी सफा पानीले पखालेर रुमालले पुछ्ने । त्यसपछि गुलाबजललाई टोनरको रूपमा लगाउने ।
यसले अनुहारको छाला सफा र नरम बनाई पौष्टिक तत्त्व पनि दिन्छ । 

अन्डा र कागतीको रस 

चिल्लो छाला छ भने अन्धाको सेतो भागमा ५÷६ थोपा कागतीको रस राखी यसको पेस्ट बनाउने । पेस्टलाई अनुहारमा लगाई सर्कुलर मसाज गर्ने । त्यसपछि अनुहार सफा पानीले पखाली गुलाब जल वा राम्रो कम्पनीको लोसन लगाउने । 

पिम्पल आउन नदिन के गर्ने ? 

छालाको समस्या भएकामध्ये धेरैको अनुहारमा पिम्पल आउने गरेको छ । यसका लागि सुन्तलाको बोक्राको पाउडरमा ५÷६ थोपा कागतीको रस, अन्धाको सेतो भाग राखेर पेस्ट बनाएर मसाज गर्दा उपयुक्त  हुन्छ । 

घरबाहिर निस्कनुअघि सन ब्लक लगाऔँ

घरबाट बाहिर निस्कनुभन्दा आधा घन्टेअघि सन ब्लक लगाउनुपर्छ । यसले सूर्यको किरणबाट निस्कने अल्टा भाइलेट किरणलाई छेक्छ । घाममा बाहिर निस्कँदा अनिवार्यरूपमा छाता ओढ्नुपर्छ । त्यस्तै, राति सुत्नुअघि हातखुट्टा तथा मुख धोएर क्लिजिङ मिल्कले छाला सफा गरी राम्रो कम्पनीको क्रिम, नरिवा तथा बदामको तेल लगाउनुपर्छ । किनकि छालामा टाँसिएका धुलोधुवाँका कण पानीले पखालेर मात्र पूर्णरूपमा सफा हुँदैनन् । 

साधारण वा सुख्खा छाला भएकाले के गर्ने ? 

साधारण वा सुख्खा छाला भएकाहरूले हप्तामा एक पटक डिप क्लिजिङ (स्क्रब) गर्नुपर्छ । 

एक चम्चा दूधको तर, अन्धाको सेतो भाग, दुई चम्चा बेसन, आधा चम्चा जौँको पिठो र ८–१० थोपा महको पेस्ट बनाउने । त्यो पेस्टलाई १०–१५ मिनेट अनुहारमा मसाज गर्ने । त्यसपछि सफा पानी वा दूधमा फेस प्याक भिजाएर पाँच मिनेट सर्कुलर मुभमेन्टमा मसाज गर्ने र सफा पानीले पखालेर टोनर लगाउने । 

तैलिय वा मिश्रित छाला भएकाले के गर्ने ? 

तैलिय (ओइली) वा मिश्रित छाला भएकाहरूले यसो गर्नुपर्छ । 

एलोभेराको पेस्ट दुई चम्चा, जौँको पिठो एक चम्चा, बेसार एक चिम्टा र मुसुरोको दालको पिठो आधा चम्चाको पेस्ट बनाउने । सफा अनुहारमा १०–१५ मिनेटसम्म लगाउने । त्यसपछि सफा पानीमा फेस प्याक राख्दै पाँच मिनेटसम्म सर्कुलर मुभमेन्टमा मसाज गर्ने र सफा पानीले पखाली टोनर लगाउने र राम्रो कम्पनीको नाइट क्रिम लगाउने । 

यी विधिहरू अपनाएर छालाको स्याहार गर्न सकिन्छ । तर, मासिकरूपमा गर्नुपर्ने फेसियल भने घरमा गर्नुहुँदैन । यसमा गरिने मुभमेन्ट आफै गर्न सकिँदैन । गरेको खण्डमा छालालाई हानी पुग्न सक्छ । 

(लेखक ज्याठा, ठमेलस्थित ग्ल्यामर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरकी सञ्चालक हुनुहुन्छ ।)