'चिनियाँ सीमालाई बुझिराख्नुस्, चीनले हामीलाई सित्तैमा एक पैसा पनि दिँदैन'

'चिनियाँ सीमालाई बुझिराख्नुस्, चीनले हामीलाई सित्तैमा एक पैसा पनि दिँदैन'

सुरेन्द्र पाण्डे  |  दृष्टिकोण  |  आश्विन ९, २०७६

पहिलो विश्वयुद्ध भयो र त्यसपछि लिग अफ नेसन बन्यो । तर, फेरि दोस्रो विश्वयुद्ध भयो । त्यो लिग अफ नेसन युद्ध रोक्नका लागि बनाइएको थियो तर युद्ध रोकिएन । त्यो कन्टेक्स्टमा दोस्रो विश्वयुद्ध चलिरहेका बेला अमेरिकाले सन् १९४१ मा विश्व पुलिसको अवधारणा अगाडि सार्‍यो । किन लिग अफ नेसनले युद्ध रोक्न सकेन भन्दा सबै राष्ट्र बराबर थिए । सबैले एक देश एक भोट भने । तर, त्यो एक देश एक भोट काम लागेन । त्यसैले यो लिग अफ नेसन पनि काम लागेन ।

अब विश्वका केही शक्तिले अलिक बढी पावर लिनुपर्छ अनि मात्रै डन्डा लाउने भएपछि मात्रै विश्व शान्ति हुन्छ भनेर अमेरिकाले युएनको स्थायी कमिटीको सदस्य बनाउने भनेर चारवटालाई प्रस्ताव गर्‍यो । यो प्रस्ताव सन् १९४१ मा पहिला स्कारिलाई पठायो । अमेरिका, रुस, चीन र बेलायतलाई सेक्युरिटी काउन्सिलको सदस्य बनाउने, ती डन्डा लगाउने पुलिस हुने । त्यसमध्ये पनि नम्बर १ पुलिस अमेरिका हुने ।

यो बनाउने भन्ने सहमतितिर गएपछि बेलायतको अनुरोधमा फ्रान्स थपियो । पहिला फ्रान्सलाई त्यसमा राख्ने अमेरिकी प्रस्ताव थिएन । बेलायतले राख्नुका पछाडि पनि उसको आफ्नो उद्देश्य थियो । त्यो के थियो भने अमेरिका उपनिवेशको अन्त्य चाहन्थ्यो । यदि युएनको सदस्य भएर गइसकेपछि उपनिवेश अन्त्य हुनुपर्छ भन्ने अमेरिकाको एक नम्बर स्वार्थ थियो । बेलायतचाहिँ उपनिवेश जोगाउन चाहन्थ्यो । यदि फ्रान्सलाई त्यसमा समावेश गरियो भने फ्रान्सले बेलायतको जस्तै उसको पनि उपनिवेश भएको हुनाले उसको बलमा मैले जोगाउन सक्छु भनेर बेलायतको बलमा फ्रान्स त्यसमा समावेश भयो । यसरी युएन बन्यो र त्यो युएनमा बनेको वर्ल्ड पुलिसको धारणा आज पनि विद्यमान छ, जसले आज विश्व व्यवस्थालाई अगाडि लैजाने कुरा गरिरहेको छ ।

यस व्यवस्थामा नियम परिवर्तन परिवर्तन नभएसम्म विश्वव्यवस्थाले नयाँ रूप लिन सक्दैन । त्यो कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ । दोस्रो युएन बन्नुको पूर्वसन्ध्यामा सन् १९४४ मा अमेरिकाको अगुवाइमा ब्रेटन वुड्स एग्रिमेन्ट भयो । त्यो ब्रेटन वुड्स एग्रिमेन्टमा अमेरिकाले वर्ल्ड बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष बनाउने प्रस्ताव गर्‍यो । ब्रेटन वुड्स भन्ने शहरमा बनेको हुनाले त्यसको नाम ब्रेटन वुड्स एग्रिमेन्ट रह्यो । त्यो एग्रिमेन्ट अमेरिकाको नम्बर वान वर्चस्वलाई कायम गर्नका लागि गरिएको एउटा एग्रिमेन्ट थियो । वर्ल्ड बैंक बनाउँदाखेरि वर्ल्ड बैंकको चार्टर कसरी बन्यो भन्दा यो चार्टर संशोधन गर्नको लागि ८५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने देशहरूले एक मतले भनेमा त्यो संशोधन हुने भयो ।

अमेरिकाको राष्ट्रपतिले वर्ल्ड बैंकको अध्यक्षको नियुक्ति गर्नेछ । आज पनि त्यही नै छ । त्यसमा कुनै बदलाव आएको छैन । युरोपियनले आईएमएफको एमडी नियुक्ति गर्ने र वर्ल्ड बैंकको अध्यक्षचाहिँ अमेरिकाको राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था विद्यमान छ । र, डलरलाई विश्वको आदान प्रदानको मुद्रा मान्ने । यही विश्वको एक्सचेन्ज करेन्सीको माध्यमबाट अहिले अमेरिकाले शासन गरिरहेको छ र ८५ प्रतिशत व्यापारको ट्रान्जेक्सन युएस डलरमा हुने गर्छ ।

यो जुन विश्व व्यवस्था छ, यो विश्व व्यवस्थालाई परिवर्तन गर्नका लागि अहिले पनि अरू राज्यहरू समर्थ भइसकेका छन् । वर्ल्ड बैंकको शेयरचाहिँ अमेरिकाको मात्रै साढे १६ प्रतिशत छ । अमेरिकालाई माइनस गर्दाखेरि साढे ८३ प्रतिशत मात्रै हुन्छ । ८५ प्रतिशत चाहिन्छ वर्ल्ड बैंकको चार्टर संशोधन गर्न र अमेरिका नजोडिएसम्म संशोधन हुँदैन । अर्थात् अमेरिकाले चाह्यो भने मात्रै वर्ल्ड बैंकको संविधान संशोधन हुन्छ ।

यस हिसाबले यसको निर्माण गरिएको हुनाले आज पनि अमेरिकाको विश्व अर्थतन्त्रमा र राजनीतिमा वर्चस्व हुने गरेको छ । मुख्य कारण यही हो । यो परिवर्तन गर्नुपर्छ । भ्वाइसबारे वर्ल्ड बैंकभित्र निकै ठूलो बहस छ । भ्वाइस भनेको यसमा शेयर हरेक देशको आफ्नो आय बढेअनुसार राष्ट्रिय आयको आधारमा अरूलाई शेयर बढाउनु पर्‍यो, अमेरिकाको घट्नुपर्‍यो । सबैले वर्ल्ड बैंकको अध्यक्ष हुन पाउनुपर्‍यो भन्ने पनि छ । यी दुईवटै कुरा अमेरिकाले मानिरहेको छैन ।

यही सन्दर्भमा नै पछिल्लो समय चीन, रुस, भारत, ब्राजिल, साउथ अफ्रिका जस्ता देशहरू मिलेर ब्रिक्स बनाउने कुरा आयो । यद्यपि, अहिले पनि यो प्रतिरोधको रूपमा त्यसको क्षमताको रूपमा आइसकेको परिस्थिति विद्यमान छैन । यो सन्दर्भबाट अहिले दुनियाँलाई हेर्दाखेरि अठारौँ शताब्दीसम्म आर्थिक हिसाबले विश्वको नम्बर एक शक्ति चीन थियो । तर, पछिल्लो समय उनीहरू मोजमस्ती र सारा कुराहरूमा गइसकेपछि रिसर्च र आधुनिक विज्ञानको विकास नभएपपछि युरोपले आधुनिक विज्ञानको विकास गर्‍यो । फिजिक्स, केमेस्ट्री, बायोलोजी साइन्सका सारा क्षेत्रमा विकास गर्‍यो । चिनियाँहरू चाहिँ त्यही पूर्वी कुराहरूमा चित्त बुझाएर बसे ।

चिनियाँ सीमालाई बुझिराख्नुस्, चीनले हामीलाई सित्तैमा एक पैसा पनि दिँदैन । यो मेरो सबैभन्दा ठूलो प्राथमिकता हो, यो गरेपछि मात्रै अर्कोको ढोका खुल्छ भनेर माग्न सक्नुपर्छ अनि मात्रै त्यो पैसाले केही रिजल्ट दिन्छ । चिनियाँहरूबाट हामीले सिक्नुपर्ने नै यही हो ।

धेरै कुराको आविष्कार भएको चीन पछिल्लो समय पछाडि पर्‍यो र १७औँ शताब्दीपछि बेलायत अर्थतन्त्रमा नम्बर एक भएर आयो । त्यो अगाडि बढ्दै जाँदा सन् १८९० देखि अमेरिका नम्बर एक भएर आयो । तर, उछिन्दा उछिन्दा पनि हतियार आदिका हिसाबले बेलायत नै शक्तिशाली थियो । दोस्रो विश्वयुद्धको समयमा आएर मात्रै अमेरिका नम्बर एक भएर आयो । अमेरिकाले खासगरी केमा उछिन्यो भने उसले हवाईजहाज निर्माण गर्‍यो । पछि रिसर्चमा पनि सबैभन्दा माथि भइसकेपछि अमेरिकनहरूले ‘डोमिनेसन’ गर्न सुरु गरे । र, आज त्यसैको बलमा विश्वलाई आफ्नो हिसाबमा लिइरहेका छन् । यो कुराको चुनौतीको रूपमा पछिल्लो समय चीनको विकास, चीनको उदयलाई सन्दर्भका रूपमा हेर्नुपर्छ । हेरिएको पनि छ ।

मलाई लाग्छ, पछिल्लो समय जुन अर्थतन्त्र छ, अहिले पनि हेर्दा चीनको आय यतिखेर ‘नोमिनल एकाउन्ट’मा हेर्दा १० हजार डलर प्लस छ । अमेरिकाको ६० हजार छ । यस हिसाबले अमेरिकाभन्दा व्यक्तिगत जीवनशैलीको हिसाबले चीन धेरै नै पछाडि छ । सामान्यतया १३ हजार डलर पार गरेपछि धनी राष्ट्रको सूचीमा पर्छन् देशहरू । हामीले चाहिँ त्यसलाई १२ हजार भनेका छौँ । त्यस हिसाबले अब चीन त्योभन्दा माथि उक्लिन्छ भन्ने कुरा करिव करिव अहिलेको विकासले प्रस्ट पार्छ ।

चीन आफ्नै किसिमको सिर्जनशीलताबाट विकसित भएको देश हो । जस्तोः सन् १९४५ मा सोभियत संघ बलियो थियो । त्यसबेलाको सोभियत संघले चीनको च्याङ काइसेकको पार्टी कोउमिन्ताङसँग शान्तिका लागि सम्झौता गरेको थियो । पछि माओसँग सम्झौता गर भन्दा माओले म मान्दिनँ भने । उनले मानेको भए सायद चिनियाँ क्रान्ति सम्पन्न हुुने थिएन । त्यो कुराको विरुद्धमा लडेका कारणले गर्दा उनीहरूले आफ्नो शक्ति सुदृढ गरेपछि रसियनहरूले पनि सहयोग गरे । परिणाम स्वरूप चीनमा कम्युनिस्टहरूको विजय भयो । विजय भइसकेको स्थितिमा यिनीहरूले एउटा कालखण्डमा जस्तो बाटो थियो, त्यस्तै अपनाए ।

माओले सोचेको ढंगबाट चीनको विकास हुन सकेन । पछि माओ झन् पछाडि फर्किए । सन् १९६५ मा जब सांस्कृतिक क्रान्तिको कुरा भयो, स्कुल शिक्षा बन्द गर्नुपर्छ भन्नेमा पुगे । र, सन् १९७० मा पुगेपछि स्कुल, युनिभर्सिटीहरू खुला भए फेरि । अर्को कुरा, हामीले चीनबाट सिक्नुपर्ने कुरा के हो भने, सोभियत संघ पनि समाजवादी मुलुक, चीन पनि समाजवादी मुलुक तर सन् १९७० मा अमेरिकाले के भूमिका खेल्यो ? उसलाई रुससँग लड्नु थियो । सोभियत संघसँग चीनको पनि अन्तरद्वन्द्व पछि सुरु भयो । त्यसलाई अमेरिकाले प्रयोग गर्‍यो । ‘ल तिमी हामी मिलौँ र रुससँग लडौँ’ भन्यो । चीनले सन् १९७० मा हात मिलायो ।

त्यसबेलासम्म चीनलाई युएनको सदस्य पनि मानेको थिएन । ताइवानलाई हटाएर चीनलाई युएनको सदस्य बनाइयो । र, युएनको सेक्युरिटी काउन्सिलको सदस्य पनि भइसकेपछि त्यही बेलामा चीनले खुला नीति लियो र अमेरिकाले बजार खुला गरिदियो । त्यो बजार खुला भएपछि त्यसको उपयोगमा आज चीनको यहाँ विकास भएको म देख्छु । त्यस कारण यसबाट हामीले के सिक्ने भन्दा हाम्रो देशको सन्दर्भमा हामीले अन्तर्राष्ट्रिय कुरालाई पनि राष्ट्रिय हितमा अथवा राष्ट्रिय नीति कसरी बनाउने, हाम्रो आफ्नो राष्ट्रिय नीतिमा यी अन्तर्राष्ट्रिय शक्तिलाई कसरी प्रयोग गर्ने भन्ने कुरा आजको सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसतर्फ हामी सक्षम हुन सक्नुपर्छ ।

चिनियाँ सीमालाई बुझिराख्नुस्, चीनले हामीलाई सित्तैमा एक पैसा पनि दिँदैन । यो मेरो सबैभन्दा ठूलो प्राथमिकता हो, यो गरेपछि मात्रै अर्कोको ढोका खुल्छ भनेर माग्न सक्नुपर्छ अनि मात्रै त्यो पैसाले केही रिजल्ट दिन्छ । चिनियाँहरूबाट हामीले सिक्नुपर्ने नै यही हो । अब हामीले हाम्रो सन्दर्भमा सोच्नुपर्ने कुरा के हो भने हाम्रो देशको विकास हामी कसरी गर्छौं ? हाम्र्रो आफ्नो प्लानिङ हामी आफूसँग हुनु जरुरी छ । चीनले गरिदिनेछ र हामी स्वतः माथि जानेछौँ भनेर बस्यौँ भने केही पनि हुनेवाला छैन । त्यसैले पहिलो चिनियाँहरूबाट सिक्नुपर्ने कुरा के हो भने हामी जस्तो अवस्थामा छौँ, सबैभन्दा पहिले हाम्रो आफ्नो राष्ट्रिय धारणा, राष्ट्रिय चिन्तन गर्न सक्नुपर्छ । विश्वव्यापी रूपमा के भन्छन् भने, चिनियाँ भनेका व्यापारी हुन् । बाह्राैँ शताब्दीसम्म पनि उनीहरू युरोपसम्म व्यापार गर्न जान्थे । त्यस कारण चिनियाँहरू नरम कूटनीतिको माध्यमबाट, आर्थिक कूटनीतिको माध्यमबाट माथि आउन चाहन्छन् । यही कुरा विस्तारै उनीहरूको इकोनोमिक साइजले पनि अमेरिका जस्तो शक्तिलाई पनि तह लगाइरहेको छ ।

अहिले ‘आर्टिफिसल इन्टेलिजेन्स’का कारणले ५ देखि १० वर्षमा १७ हजार अर्ब डलरको नयाँ अर्थतन्त्र निर्माण हुँदै छ । त्यसमध्ये ७ हजार अर्ब डलर चीले मात्रै लिनेछ र बाँकी बचेको केही अरूले लिनेछन् र अरू अमेरिकाले लिनेछ । यी दुईवटाको बीचमा अहिले लडाइँ छ ।

त्यति मात्रै होइन, अहिले चिनियाँहरूले नयाँनयाँ कुराहरू पनि सिकिरहेका छन् । अहिले चिनियाँहरू ‘अल आउट इन्डष्ट्रिअलाइजेसन’को बाटोबाट अगाडि बढिरहेका छन् । चिनियाँहरूसँग हामीले सिक्नुपर्ने अर्को कुरा के हो भने उनीहरू विदेशी सामानहरू मात्रै प्रयोग गरेर बस्दैनन् । उनीहरूले ज्ञानको रूपान्तरण गराए । हामीले के बुझेका थियौँ भने अमेरिका आएर लगानी गर्‍यो, अर्को आएर गर्‍यो । त्यो होइन । चीनले आफ्नो आधारभूत क्षमता विकास गर्‍यो । ऊप्रतिको वाह वाही आज त्यसैको नतिजा हो । आज फिफ्थ जेनरेसन टेलिकम उसले बनाउन सक्यो, जबकि त्यो अमेरिकासँग पनि छैन । अहिले चीनले यति ठूलो रिसर्चमा लगानी गरिरहेको छ कि, त्यो रिसर्चमा लागनी गरिरहेको कारणले चिनियाँ अर्थतन्त्र माथि चढ्दै छ ।

ताइफु भन्ने एक जना ताइवानमा जन्मिएका व्यक्ति हुन् । अमेरिकामा हुर्किएका उनी अहिले चीनमा बस्छन् । उनी के भन्छन् भने, अहिले ‘आर्टिफिसल इन्टेलिजेन्स’का कारणले ५ देखि १० वर्षमा १७ हजार अर्ब डलरको नयाँ अर्थतन्त्र निर्माण हुँदै छ । त्यसमध्ये ७ हजार अर्ब डलर चीले मात्रै लिनेछ र बाँकी बचेको केही अरूले लिनेछन् र अरू अमेरिकाले लिनेछ । यी दुईवटाको बीचमा अहिले लडाइँ छ । त्यसमा उनी सातवटा विश्वका ठूला कम्पनीहरूले यसमा लगानी गर्नेछन् र उनीहरूले विश्वलाई भविष्यमा नचाउनेछन् भन्छन् ।

अब उपचार गर्दा डाक्टरले नभएर रोवोर्टले गर्नेछ । मान्छेले भन्दा रोवोर्टले धेरै राम्रो गर्नेछ । उनी त्यसपछि डाक्टरको काम नर्सको जस्तो हुने बताउँछन् । यसले विश्व समाज व्यवस्थालाई अगाडि बढाउनका लागि साँच्चै ठूलो फड्को मार्नेछ । यसलाई हामीले नेपाली सन्दर्भमा आफ्नो अर्थतन्त्र निर्माण गर्ने हिसाबले अगाडि जाऔँ, यसलाई सकारात्मक रूपले नै हाम्रो सन्दर्भमा प्रयोग गर्न सक्छौँ ।

 

(नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति, नेपाल प्रदेश ३ ले काठमाडाैंम २०७६ असाेज ४ गते शनिवार आयाेजित 'सी जिनपिङ् विचारधारा र बीआरआईः के विश्व व्यवस्था बदलिँदै छ ?' विषयक विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथिकाे टिप्पणी गर्दै राख्नुभएकाे धारणाको सम्पादित अ‌ंश)

याे पनि 

बीआरआईः इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीमा साझा भविष्यको खोजी गर्ने पहल

बीआरआई मर्म र नेपालको पक्षमा स्वतन्त्र निर्णयको सवाल

बीआरआई: विज्ञान प्रविधिकाे ज्ञान हस्तान्तरणमा पार्टनरसीप आवश्यक