४ जना लुटेराहरू लुट्दालुट्दै गिरफ्तार

४ जना लुटेराहरू लुट्दालुट्दै  गिरफ्तार

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १०, २०७६

धनुषा । जनकपुर उपमहानगरपालिका-२ स्थित दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ फर्निचर पसलमा डाँका गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित ४ जनालाई २०७६ असोज ९ गते बिहीबार बिहान पक्राउ गरेको  नेपाल  प्रहरीले  जनाएकाे छ । 

पक्राउ पर्नेहरुमा भारत विहार सितामढी बस्ने ४० वर्षीय मोहमद ईलयास, भारत बर्गिनिया बस्ने ३९ वर्षीय ओजिर अंसारी, रौतहट वृन्दावन नगरपालिका- १ रमौली बैरिया बस्ने ३५ वर्षीय गगन पटेल र रौतहट गौर नगरपालिका- ४ बस्ने ४५ वर्षीय विनोद प्रसाद सिंह रहेका छन् ।

लुटेराहरुकाे साथवाट  कटुवा पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, ताल्चा काट्ने कटर १ थान, ७ सय रुपैयाँ नगद, ठुलो पेचकस १ थान, काटेको अवस्थामा रहेको  पसलमा लगाउने ताल्चा २ थान, उनीहरुले प्रयोग गरेको चप्पल १ थान र मोबाइल १ थान प्रहरीले बरामद गरेको छ । 

उक्त फर्निचर पसलको सटरको ताल्चा काटी भित्र प्रवेश गरी नगद पैसा राख्ने सेफ समेत फुटाई डाँका गर्दा-गर्दैको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले देखी नियन्त्रणमा लिने क्रममा उनीहरुले कटुवा पेस्तोल झिकी भाग्न खोजेका थिए । 

लुटेराहरुलाई पक्राउ गर्न प्रहरीले १ राउण्ड हवाई फायर गर्दा समेत नरोकिए पछि पुनगोली फायर गर्दा गोली लागेर विनोद प्रसाद सिंह घाइते भएको र घाइते विनोदको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।