पुरुष भलिबल प्रतियोगितामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर पहिलाे

पुरुष भलिबल प्रतियोगितामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर पहिलाे

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १०, २०७६

काठमाडौं ।  ६४औं प्रहरी दिवस २०७६ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा  सञ्चालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न भएको नेपाल प्रहरीले जनाएकाे  छ । 

प्रतियोगिता समापनका अवसरमा २०७६ असाेज ९ गते बिहीबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेलले व्यक्तिलाई अनुशासित र स्वावलम्बी बनाउने चर्चा गर्दै प्रहरीको जीवनमा  खेल अभिन्न अंगको रुपमा रहने बताउनुभयो । खेल जीवनमा खेलाडीहरू सदैव जोस, जाँगर र इमानदारीका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी खेलकुदलाई गर्व गर्न लायक बनाउनुपर्नेमा जोड दिनुभयो ।  

नेपाल प्रहरीको खेलकुद टिमले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले खेलकुद टिमले व्यवसायिक क्षमतामा थप अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने बताउनुभएकाे थियो ।   

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, शील्ड र नगद पुरस्कार, सहभागी टिमलाई मोमेन्टो र प्रतियोगिताका रेफ्रिहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो भने कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै मानिसलाई शारीरिक रुपमा स्वास्थ्य र मानसिक रुपमा सबल राख्न खेलकुदले मद्दत पुर्‍याउने विचार व्यक्त गर्दै खेलकुदको दिगो विकासका लागि प्रतिभावान खेलाडीहरुको समयमै उचित संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

 कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रतियोगिताका उत्कृष्ट ब्लकर र स्पाईकरलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमको सुरुमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले खेलका रेफ्रीलाई भलिबल हस्तान्तरण गरी फाइनल खेलको उद्‍घाटन गर्नुभएको थियो । उक्त प्रतियोगिता अन्तर्गत १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा टीमबीच आजै भएको फाइनल खेलमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर टीम विजय भएको हो । असोज ५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । 

सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । 

 सो अवसरमा खेलकूद कार्यक्रम उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।