स्यानिटरी प्याड: गुणस्तरकाे ख्याल नगरिँदा संक्रमणदेखि पाठेघरको क्यान्सरसम्म

स्यानिटरी प्याड: गुणस्तरकाे ख्याल नगरिँदा संक्रमणदेखि पाठेघरको क्यान्सरसम्म

बीपी तिमिल्सिना  |  दृष्टिकोण  |  आश्विन १०, २०७६

स्यानिटरी प्याड हरेक महिला आफ्नो जीवनकालमा करिव ६.५ वर्ष महिनावारीसँग जुध्ने गर्छन् । विश्व अभ्यासलाई हेर्दा एक महिलाले सरदर १५ हजारवटा स्यानिटरी प्याड प्रयोग गर्ने तथ्यांक देखिन्छ । नेपालका शहरी महिलामा स्यानिटरी प्याड प्रयोगको आँकडा राम्रै हुनुपर्छ । बाहिर निस्कनु नपर्ने शहरी महिलाले भने घरायसी सामग्री नै प्रयोग गर्ने गरेका पाइन्छ । गाउँघरमा प्याड प्रयोग गर्ने चलन त्यति छैन, जानकारी भए पनि प्याड किन्ने खर्च जुटाउन गाह्रो छ ।

जीवन धान्न दुई छाक जोहो गर्न धौधौ पर्ने हाम्रा धुलाम्मे जीवनहरूमा महिनावारीको रगतको के कुरा ! धूलोसँगै मिल्छ । उनीहरूका लागि महिनावारी स्वास्थ्य र सुरक्षा प्राथमिकतामा पर्दै पर्दैन । आर्थिक रूपमा समस्या नहुनेहरूले पनि परंपरागत कपडाले हुने ठाउँमा प्याड फजुल खर्च जस्तो बनिदिन्छ । प्याडमा खर्च गर्ने पैसाले छोराछोरी वा परिवारका अन्य आवश्यकता पूरा हुन्छन् । तर, गम्भीर रोग निम्तिनुमा महिनावारीमा प्रयोग गरेकै फोहोर र घाममा नसुकाइएको कपडाको असर पनि हुन सक्छ भनी तिनलाई हेक्कै हुँदैन ।

महिनावारीका कारण धेरै छात्राले विद्यालय छाड्नुपरेको समस्यालाई ख्याल गर्दै सरकारले सबै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड कार्यक्रम अगाडि सारेको छ । तर, नेपालमा उपलब्ध, आयातीत वा स्वदेशी उत्पादन स्यानिटरी प्याड कति सुरक्षित होलान् ? जवाफ कसैसँग छैन । नेपालमा पाइने स्यानिटरी प्याडको गुणस्तर कस्तो छ ? सुरक्षित महिनावारीको कल्पनामा एउटी छात्राले मख्ख पर्दै प्रयोग गर्ने प्याडले उसको स्वास्थ्य थप जटिल बनाउँदैन भनेर ढुक्क हुने अवस्था छ त ? अबको बहस स्यानिटरी प्याडको गुणस्तर तथा प्रयोग गरी फालिएका प्याडले वातावरणमा पार्ने असरतिर मोडिनु अत्यावश्यक छ । नेपालमा भारतसहित चीन, जापान, सिंगापुरलगायतबाट प्याडको आयात हुन्छ । स्वदेशी उत्पादन पनि उल्लेख्य छ ।

नेपालमा प्याड उत्पादन गर्न आवश्यक कच्चा पदार्थमा भन्दा तयारी प्याडमा भन्सार थोरै हुँदा नेपाली उत्पादनले भारतीयसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ । तर, प्याडमा प्रचारमा देखाइएजस्तो नभएर कटनबाहेक सिन्थेटिक फाइबर, नाइलन, प्लास्टिक, सेलुलोज जेल राखिएका हुन्छन्  । यी सेतो नहुने हुँदा सेतो पार्न गरिने ब्लिचिङका क्रममा निस्कने डाइअक्जिन तथा सोस्ने क्षमता बढाउन प्रयोग गरिने जेलले महिलाको पाठेघरकोे मुखमा क्यान्सर तथा बाँझोपन ल्याउन सक्छन्  । अचेल महिलाहरूमा पाठेघरसम्बन्धी क्यान्सरको समस्या निकै बढ्दो छ । यसको एउटा कारण असुरक्षित स्यानिटरी प्याडको प्रयोग पनि हो । प्लास्टिसाइजिङ रसायनहरूले मुटुु रोग र क्यान्सर तथा भ्रुण नष्ट गर्ने समस्या निम्त्याउन सक्छन् । मधुमेह र थाइराइडसमेत हुन सक्छ ।

दुर्गन्ध हटाउन तथा बास्नादार बनाउन प्रयोग हुने रसायनहरू स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् । रसायनले गर्भ नै नरहने समस्या उब्जाउँछ । समय समयमा प्याड परिवर्तन नगर्ने तथा ६ घण्टाभन्दा बढी एउटै प्याड प्रयोग गरेमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । फोहोर संकलन गर्ने र छुट्याउने कर्मचारीको स्वास्थ्यमा पनि असर पर्न सक्छ । विशेष किसिमको मेसिनले बाहेक सामान्य तरिकाले जलाउन नसकिने, पानीको स्रोतमा पुगे पानी बन्द गर्ने, ढल निकास बन्द गर्ने तथा माटामा ५०० देखि ८०० वर्षसम्म पनि नकुहिने हुँदा प्याडले जमिन प्रदूषण गर्छन् ।

नेपालमा लगभग ९० प्रतिशत प्याडको मागलाई आयातले धानेको छ । आयात गर्दा महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता प्याडको गुणस्तर हेरिँदैन । स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असर र संवेदनशीलतालाई गौण रूपमा नलिई अरू सामान सरह आयात गर्ने प्रचलन छ । स्वदेशी उत्पादनमा पनि अन्य उद्योग सरह दर्ता गरिदिँदा काम सकिन्छ । स्वदेशी उद्योगलाई त झन् टेलिभिजनका विज्ञापनका आधारमा चर्चा कमाएका विदेशी कथित ब्रान्डले उँभो लाग्न दिएका छैनन्  । त्यो कथित ब्रान्डभित्रको सामानको गुणस्तर भने कसैलाई थाहा हुँदैन ।

सामान राम्रो र नराम्रो छुट्याउने त्यसको गुणस्तरले हो । हाम्रा प्रयोगकर्तालाई गुणस्तरका आधारमा छनोटको सुविधा छैन किनकि यसबारे कहीँ कसैको ध्यान पुग्न सकेको छैन । तसर्थ सरकारले नै गुणस्तर संस्कृतिलाई गम्भीरताका साथ लिनुपर्छ । गुणस्तर मापदण्ड र नियमनकारी निकाय तोकी गुणस्तर परीक्षणपछि मात्र आयात गर्नुपर्छ ।

नेपालमा स्यानिटरी प्याडको गुणस्तर के हुनुपर्ने र कसरी हेर्ने भन्ने राष्ट्रिय मापदण्ड छैन । प्याडको गुणस्तरमा ध्यान नदिई रगत सोस्ने हिसाबले मात्रै लिइँदा स्वास्थ्यका दृष्टिले परम्परागत कपडाभन्दा केही फरक नहोला तर खर्च भने बढाउँछ ।  अहिले संसारभर स्यानिटरी प्याडबाट महिलाको स्वास्थ्मा हुन सक्ने तथा वातावरणमा पार्न सक्ने असर न्यूनीकरणबारे अध्ययन अनुसन्धान र नयाँ प्रविधिको विकास भइरहेको छ । विकल्प खोजिन थालेका छन् ।

नेपालमा पनि प्याडको सट्टा मेन्सुरल कपको प्रविधि भित्रिइसकेको छ तर पनि नेपाली महिलाहरूमा प्याडकै पहुँच छैन । प्याड सस्तो, गुणस्तरीय र सर्वसुलभ हुनु जरुरी छ । नेपालमा व्यक्तिगत प्रयोगबाहेक स्यानिटरी प्याडको ठूलो बजार हस्पिटल सप्लाईको छ । कसरी सस्तोमा सप्लाई गर्ने भन्ने होडबाजीले गर्दा गुणस्तर गौण बनेको छ । कुनै पनि सामग्रीको बजार सस्तो हुनु राम्रो हो तर गुणस्तरसँग सम्झौता गर्नु पक्कै राम्रो होइन । हाम्रा गाउँगाउँमा कपडाबाट पुनः प्रयोग गर्न सकिने प्याड उत्पादन गर्ने तालिम धमाधम संचालन भइरहेका छन् । प्याड घरमै बनाउँदा सहज र सस्तो पर्ने हुँदा सबैको पहुँचमा पुर्‍याउन सकिन्छ र यो वातावरणीय दृष्टिले केही सुरक्षित पनि छ । प्रयोग गरिने कपडाको गुणस्तर तथा प्रयोगमा सरसफाइको अवस्थामा भने विशेष ध्यान पुर्‍याइनुपर्छ । नेपालमा वातावरणमैत्री जैविक प्याडको उत्पादन पनि छ । प्रयोगकर्तालाई त्यस्तो प्याडबारे थाहा छैन ।

सामान राम्रो र नराम्रो छुट्याउने त्यसको गुणस्तरले हो । हाम्रा प्रयोगकर्तालाई गुणस्तरका आधारमा छनोटको सुविधा छैन किनकि यसबारे कहीँ कसैको ध्यान पुग्न सकेको छैन । तसर्थ सरकारले नै गुणस्तर संस्कृतिलाई गम्भीरताका साथ लिनुपर्छ । गुणस्तर मापदण्ड र नियमनकारी निकाय तोकी गुणस्तर परीक्षणपछि मात्र आयात गर्नुपर्छ । स्वदेशी उत्पादनको हकमा पनि परीक्षणको व्यवस्था गरी स्यानिटरी प्याडको प्रयोगबाट महिलाको स्वास्थ्य र सुरक्षामा पर्न जाने असर घटााउन तुरुन्त पहल गरिनुपर्छ ।

पाठेघरमा प्रयोग गर्ने रसायनहरू यस प्रकार छन् :