दुरा समुदायको मौलिक थातथलो र अमूर्त सांस्कृतिक सम्पदा

दुरा समुदायको मौलिक थातथलो र अमूर्त सांस्कृतिक सम्पदा

यमबहादुर दुरा  |  दृष्टिकोण  |  आश्विन १०, २०७६

बृहत्तर हिसाबले हेर्दा विश्वमा मुख्य चार नश्लका मानिस छन् - द्रबिडियन, ककेसियन, मङ्लोइड र नेग्रो । शारीरिक बनोटको दृष्टिले दुरा जाति मङ्गोल नश्लअन्तर्गत पर्दछ । नेपाल सरकारले दुरा जातिलाई अल्पसंख्यक जनजातिमध्ये एक मानेको छ । ‘नेपाली बृहत् शब्दकोश’ ले दुरा जातिको परिचय यसरी दिएको छः‘नेपाल अधिराज्यभित्रको लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै बसोबास गर्दै आएको, आफ्नै भाषा र संस्कृति भएको र त्यसलाई बिस्तारै भुल्दै गएको एक जाति, नेपालको एक अल्पसंख्यक जाति’ 
दुरा जातिको मुख्य बसोबास लमजुङको दुराडाँडा क्षेत्र नै हो । इतिहासकार बाबुराम आचार्य (वि.सं. १९४४—२०२९) ले दुराडाँडामा बसोबास गरेका दुरा जातिबारे घतलाग्दो परिचय दिएका छन्ः ‘कास्कीदेखि पूर्वपट्टि मस्याङ्गदी नदीका सिरानपट्टिका भागमा दुरा नामक एउटा सानो समुदायको आबादी छ यो बस्ती दुराडाँडा कहिन्छ । यसै दुराडाँडाका दुराहरूले ठकुरी राजा भएका ठाउँमा सुख–समृद्धि देखेर राजा थाप्नाका निमित्त कस्केली विचित्र खानका यशोव्रह्म नामक एक छोरा मागी ल्याएर लमजुङ्ग नामक नयाँ ठकुराइको जग बसाले’ ।

जनसंख्या र थातथलो 

दुरा समुदायको छाता सङ्गठन ‘दुरा सेवा समाज’ ले २०५४ सालमा गरेको जनगणनाअनुसार लमजुङमा दुरा समुदायको कुल जनसंख्याको ७२ प्रतिशत बसोबास गर्छन् । १६ प्रतिशत दुराहरू तनहूँमा बस्छन् भने बाँकी १२ प्रतिशत जनसंख्या अन्य देशका भागमा बसोबास गर्छन् । अवसर र रोजगारीको खोजीमा आफ्नो मौलिक थालथलो छाड्ने प्रवृत्ति छाड्ने प्रवृत्तिको दुरा समुदाय पनि अपवाद भएको छैन । आजभन्दा २० वर्ष अघि गरिएको जनगणना औंल्याएका जनसांख्यिक अवस्थामा अहिले निश्चय नै परिवर्तन आएको छ । 

दुरा समुदायमा देशभित्र मात्र होइन, देशबाहिरको बसाइ सराइँ पनि बढेको देखिन्छ । बेलायत सरकारले गोर्खा सैनिकका परिवारलाई बेलायतमा बस्न पाउने सुविधा दिएपछि दुरा समुदायका कतिपय परिवार बेलायत पुगेर उतै बस्न थालेका छन् । सन् २००६ देखि हालसम्म ६० परिवारका २४० दुराहरू बेलायतमा बसोबास गरिरहेका छन् । यसैगरी हङकङ र अमेरिकामा सीमित मात्रामा दुराहरू बसोबास गरिरहेका छन् । दुरा समुदायमा देखापरेको जनसांख्यिक परिवर्तनबारे फेरि पनि अध्ययन  गर्नुपर्ने अवस्था आइसकेको छ । 

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार दुरा जातिको जनसंख्या ५३९४ देखिएको छ । सोही जनगणनालाई आधारमा मन्ने हो भने लमजुङमा ३४८९ दुराहरू बस्छन्, जुन लमजुङको कुल जनसंख्याको २.९७ प्रतिशत हिस्सा हुन आउँछ ।

स्थाननाम

स्थाननामको जरो इतिहास र संस्कृतिसँग जोडिएको हुन्छ । दुरा जातिसँग नाम जोडिएका ठाउँको नामले विगतमा दुरा समुदायले चर्चेको तथा जमिनसँग नाता जोडेको साक्षी बक्छ । नेपालमा दुरा जातिसँग नाता–सम्बन्ध जोडिएका थुप्रै ठाउँहरू छन् । उदाहरणका लागि अर्घौ (कास्की), खजे गाउँ (लमजुङ), चिहानपाटा (लमजुङ), दुरा गाउँ (रामेछाप), दुराचौर (कास्की), दुरा टहरा (काठमाडौं), दुराडाँडा (लमजुङ), दुरा थोक (लमजुङ), दुुरा पँधेरा (लमजुङ), दुराबारी (पाल्पा) आदि स्थाननामले दुरा जातिसँग नाता गाँसेको प्रष्टै  देखिन्छ । यस्ता स्थाननामबारे विशद खोजअनुसन्धान हुन बाँकी  नै छ । दुरा जातिसँग नाम जोडिएका अरू स्थाननाम पत्ता लगाउने र तिनको ऐतिहासिक तथा सांस्कृतिक अर्थ निकाल्ने काम हुन सकेको छैन ।  

अमूर्त सांस्कृतिक सम्पदा

दुरा समुदाय जनसांख्यिक एवम् भौगोलिक पैmलावटको हिसाबले नितान्त सानो समुदाय भएकाले यस समुदायमा विद्यमान सांस्कृतिक सम्पदाहरू अरू ठूला (Dominant) समुदायबाट कुनै न कुनै रूपमा प्रभावित भएका देखिन्छन् । यस दृष्टिले दुरा समुदाय विद्यमान कतिपय सांस्कृतिक सम्पदाहरूको उदगमविन्दु दुरा समुदाय नै हो भन्न सकिने अवस्था छैन । 

सात दिन, सात रातसम्मका अबिराम गीत गाउन सक्थे भन्ने चर्चा गाउँघरमा सुनिन्छ । देउबहादुर दुराको गीत र नृत्य यति मोहिनीयुक्त कि उनको कला र गलाबाट कोही पनि अप्रभावित रहन सक्दैनथे ।

दुरा समुदायमा प्रचलित सोरठी, सती घाँटु, कृष्ण चरित्र आदि जस्ता सांस्कृतिक सम्पदा गुरुङ तथा मगर समुदायमा पनि प्रचलित छ ।

दुरा समुदायमा विद्यमान लोकविश्वास, रीतिरिवाज, चाडवाड, लोकगाथा, लोककथा, लोककथन, लोकधर्म, लोकमनोविज्ञान, लोकप्रहसन, लोककला, लोकसंगीत, लोकनाटक, लोकमन्त्र, लोकपद्य, श्रुतिपरम्परा, परम्परागत खेल, परम्परागत ओखतीमूलो तथा उपचार विधि एवम् परम्परागत ज्ञान–सीप समयको प्रवाहसँगै तीव्र गतिमा लोप हुने क्रममा छ ।

विश्वव्यापीकरण तथा पश्चिमा संस्कृतिको बढ्दो प्रभावबाट दुरा समुदाय पनि मुक्त हुने कुरै भएन । दुरा समुदायमा बचेखुचेका अमूर्त सांस्कृतिक सम्पदाको उचित संरक्षण, अभिलेखीकरण तथा विस्तार हुन नसक्दा निरन्तर क्षति व्यहोर्नुपर्ने अवस्था आइरहेको छ ।

 धर्म

दुरा समुदाय हिन्दू, बौद्ध तथा बोन धर्मको प्रभाव देखिन्छ । यो समुदायले दशैंजस्ता हिन्दू धर्म आधारित चाडवाड मान्ने, बौद्ध धर्ममा आधारित कतिपय संस्कारलाई आत्मसात गर्ने तथा प्रकृतिपूजा गर्ने गरेको पाइन्छ । यस आधारमा यिनीहरूमा हिन्दू, बौद्ध तथा बोन धर्मको प्रभाव देखिन्छ ।

भाषा

दुरा संकटापन्न अवस्थामा छ । भाषा भोट–बर्मेली परिवारअन्तर्गत पर्ने यो भाषा को एक सदस्य मानिन्छ बोलीचालीमा छैन । दुरा समुदायमा अहिले खस (नेपाली) भाषा नै बोलीचालीको भाषा बनेको छ । यद्यपि नेपाली भाषा बोल्दा यदाकदा  दुरा भाषाका शब्दहरू उच्चारण हुने गर्छन् । जस्तैः गुमा (माइजू), माकुली (इन्द्रेणी), झना (तरुनी), कोर्जे (दस्तुर), मैखु (आमा), मुसी (सानिमा) आदि 

दुरा समुदायका आठ/नौ दशक नाघिसकेका बूढापाकाहरूले आफ्ना आमा–बाले आंशिक रूपमा दुरा भाषा बोल्ने गरेका र तथा बाजे बज्यैले पूरापूर रूपमा दुरा भाषा बोल्ने गरेका जानकारी दिने गरेको पाइएको छ । यस हिसाबले करिब १५० वर्ष अघिसम्म दुरा भाषा दुरा समुदायमा बोलीचालीको भाषा थियो भन्ने अनुमान गर्न सकिन्छ ।

अनौपचारिक रूपमा दुरा भाषाको चर्चा परिचर्चा भए पनि यसबारे खोजअनुसन्धानको सिलसिला भने धेरै पछि शुरु भएको पाइन्छ । दुराडाँडाका ऋषिकान्त अधिकारीले २०४१ सालमा ‘दुरा जातिको परिचय’ नामक पुस्तिका प्रकाशन गरेपछि दुरा भाषाका शब्दहरू लेख्य रूपमा जनसमक्ष आएको पाइन्छ । उक्त पुस्तिकामा दुरा भाषाका केही शब्दहरूका सूची प्रस्तुत गरिएका थिए । तर यसभन्दा अघि नै वि.सं. २०३३ सालतिर नै केशबहादुर दुराले दुरा भाषाका शब्दहरू संकलन गरेको पाइन्छ । ती शब्द अप्रकाशित रूपमा थिए । यसैगरी दुरा जातिको भाषा र संस्कृतिका अध्येता बीरबहादुर दुराले पनि दुरा भाषाका शब्दहरू संकलन गरेको पाइन्छ ।

केशबहादुर दुराले संकलन गरेका दुरा भाषाका शब्दहरू तथा आफ्नै स्थलगत अध्ययनका आधारमा मुक्तिनाथ घिमिरे (जन्मः वि.सं. २००९) ले २०४९ सालमा ‘दुरा भाषाको व्याकरणात्मक स्वरूप’ शीर्षकमा शोधपत्र तयार पारेको भेटिन्छ । ‘दुरा सेवा समाज’ ले २०५७ सालमा ‘दुरा जातिको भाषा, परम्परा र संस्कृति’ नामक पुस्तक प्रकाशन गर्‍यो । उक्त पुस्तकमा जातिको सांस्कृतिक पक्षका अतिरिक्त दुरा भाषाका केही शब्द र सामान्य वाक्यहरू समावेश गरिएका थिए । यसपछि ‘दुरा सेवा समाज’ ले २०५९ सालमा दुरा भाषाको ‘संक्षिप्त व्याकरण तथा शब्दावली’ शीर्षकको पुस्तक तयार ग¥यो, जुन अप्रकाशित कृतिको रूपमा रहेको छ । 

‘दुरा सेवा समाज’ ले ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ को सहयोगमा २०६० सालमा ‘दुरा भाषाको शब्दकोश’ प्रकाशन गर्‍यो । उक्त शब्दकोशमा करिब एक हजार ५०० शब्द र २७७ वाक्य रहेका छन् । 

२०६८ सालमा ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ को सहयोगमा दुरा भाषाको वर्ण निर्धारण गरियो, जसबाट दुरा भाषामा ३७ वर्ण र १० स्वर पहिचान भयो । त्यसबेला भाषाविद प्राडा माधव पोखरेलले विज्ञको रूपमा काम गर्नुभएको थियो । 

२०७० सालदेखि दुरा सेवा सेवा समाजले हरेक वर्ष दुराबस्ती दुरा भाषाको कक्षा सञ्चालन गर्दै आएको छ । दुरा भाषाको कक्षा सञ्चालन भएपछि दुरा भाषामा सामान्य संवाद गर्न सक्ने व्यक्तिहरू देखा पर्न थालेका छन् ।

‘अनुवादक समाज नेपाल’ ले २०७२ र २०७३ सालमा आयोजना गरेको भाषानुवादसम्बन्धी गोष्ठीमा मुक्तिनाथ घिमिरेले सहभागी भई भाषानुवादको सन्दर्भमा दुरा भाषाबारे विचार राखेका थिए (ऐ.ऐ.) ।  यसैवर्ष (वि.सं.२०७४) देखि भाषा आयोगसँगको सहकार्यमा दुरा भाषाको पाठ संकलन गर्ने प्रयासको थालनी भएको छ ।

गाउँ बार्ने

गाउँमा विवाह हुँदा, कसैको देहान्त हुँदा, हिउँदेबाली लाएपछि असिना पर्दा, चट्याङ परेर जनधनको क्षति हुँदा, उँधौली–उँभौली पूजा तथा भयँर पूजाआजा गर्दा पूजाआजा गर्दा गाउँ बार्ने चलन छ ।

गाउँ बार्ने, गुरुबाउ मान्ने, रोदी बस्ने, रोदीआमा मान्ने, माइती राख्ने, रिसियाँ खाने, ख्वाइ खाने, गाउँका तन्नेरीले एकअर्काको सियो राख्ने (उपनाम राख्ने), लोबारे खाने, दशाग्रह हेर्ने, गुहार, पर्म, झारा, तुर्लुङकोट मौलामा फूलपाती भित्र्याउनेजस्ता लगायतका चलन भेटिन्छन् ।

लोककला

 १. ठाडो भाका 

ठाडो भाका दुरा समुदाय र गण्डकी क्षेत्रको ज्यादै लोकप्रिय सांस्कृतिक निधि हो । यो भाका विभिन्न नामले परिचित छ । जस्तैः दुरा भाका, कर्पुटारे भाका, लमजुङे भाका आदि । यो भाकाको अधिष्ठाता देउबहादुर दुरा  (वि.सं. १९५२–१९९१ अनुमानित) मानिन्छन् । उनी सात दिन, सात रातसम्मका अबिराम गीत गाउन सक्थे भन्ने चर्चा गाउँघरमा सुनिन्छ । देउबहादुर दुराको गीत र नृत्य यति मोहिनीयुक्त कि उनको कला र गलाबाट कोही पनि अप्रभावित रहन सक्दैनथे ।

 मूल रूपमा लमजुङ, गोर्खा, तनहूँ, कास्की तथा स्याङ्जामा प्रचलित यो भाका कुनै समयको साङ्गीतिक कण्ठहार मानिन्थ्यो । अहिले यो भाका गाउनेहरूको संख्या तीव्र गतिमा घट्दो छ । चालीसभन्दा कम उमेरकाले यो गीत कमैले गाउन जान्छन् । त्यसमध्ये पनि औंलामा गन्न सकिने व्यक्तिहरूले मात्र ठाडो भाका गीत गाउन सक्छन् । तत्कालीन समयमा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३) यो भाकाका कहलिएका गायक ठहरिएका थिए ।

ठाडो भाका सबै समुदायका मानिसको साझा सम्पत्ति भए पनि लालित्यपूर्ण किसिमले ठाडो भाका गाउनमा दुराहरू माहिर मानिन्छन् । देउबहादुर दुराभन्दा पछिका पेचेरे दुरा, मैरानी दुरा, मनिराम दुरा, दीर्घराज अधिकारी ‘भेँडीखर्के साहिँला’ (१९९०–२०७४), भक्तिमाया दुरा (वि.सं. १९८४–२०६९), खुजुरे दुरा, सुनबहादुर दुरा, सकुन्धरा दुरा (वि.सं. १९९१–२०७०), धनश्री दुरा आदिले ठाडो भाका गायनमा नाम कमाएका थिए । उनीहरू अहिले यस दुनियाँमा छैनन् । वर्तमानमा नन्दमाया दुरा, बुद्धिमान दुरा ‘धम्पु’ (जन्मः वि.सं. २०१२),सीता  दुरा, निरमाया दुरा आदिले ठाडो भाकाको विरासत थामिरहेका छन् । 

२. सोरठी 
सामान्यतया, यो नाच दशैंताक शुरु गरी फागुनतिरमा समापन गरिन्छ । यो नाच शरद ऋतुदेखि शुरु हुन्छ । हिउँद लागेको आभास दिलाउँछ । नाचमा सहभागी हुने मारुनीहरूले फरिया, मखमली चोली, मखमली मुजेत्रोमा सजिने गर्छन् भने फुर्सुङे (बिझमारे) सेतो फरिया, भोटो, आसकोट टोपी र साफामा सजिने गर्छन् ।

३.कृष्ण चरित्रः

यो नाचको नाच्ने शैली, तरिका सोरठी नाचसँग मिल्दोजुल्दो हुन्छ । मुख्य फरक यसमा चार जना नाच्ने गर्दछन् । यसको लय ढिलो हुन्छ । श्रीकृष्ण तथा राधाको जीवनलीलामा आधारित यो नाच शरद ऋतुदेखि नै शुरु हुन्छ । 

४.सती घाँटु

सती घाँटु ग्रीष्मकालीन नृत्य हो । सती घाँटु अभिनयप्रधान लोककला हो, जसमा नृत्य, गीत र वाद्यवादनको संयोजन रहन्छ । सती घाँटु राजा परशुराम र रानी यम्फावतीको संघर्षपूर्ण जीवनगाथामा आधारित छ । यसमा रजस्वला नभएका दुई कन्याहरूलाई नचाइन्छ, जसमा एकजनाले राजाको र अर्कोले भूमिका निर्वाह गर्छन् । सती घाँटुको इतिहास ५ सय वर्षभन्दा पुरानो मानिन्छ तर यसको ऐतिहासिकतबारे कुनै ठोस प्रमाण भेटिँदैन ।

सामान्यता, दुरा समुदायमा प्रचलित सती घाँटु वैशाख कृष्ण औंशीमा शुरु गरेर वैशाख पूर्णिमामा सेलाइन्छ । शुभसाइत हेरेर घाँटु शुरु गर्ने र सेलाउने चलन रहेकाले घाँटुको आरम्भ र अन्त्य गर्ने कार्य केही दिन यताउति हुनसक्छ । कतिपय लेखकले गुरुङ समुदायमा प्रचलित सती घाँटु श्रीपञ्चमीदेखि शुरु भएर वैशाख पूर्णिमा अन्त्य हुने उल्लेख गरेका छन् (दुरा, २०७०) । तर आजकल कहीँ पनि सती घाँटु श्रीपञ्चमीदेखि शुरु भएको पाइँदैन ।

सती घाँटुको अतिरिक्त बाह्रमासे घाँटु पनि दुरा समुदाय प्रचलित छ । बाह्रबासे घाँटु वर्षैभरि नचाउन मिल्छ ।

५.अर्घौं 
दुरा तथा गुरुङ समुदायको मृत्युसंस्कारअन्तरगत अर्घौं गरिन्छ । लामा पुरोहित प्रयोग गरेर अर्घौं—कर्म अघि बढाइन्छ । मृत व्यक्तिको आत्मले स्वर्गमा वास पाउन् भन्ने अभिप्रायले अर्घौं गरिन्छ । अर्घौंमा नृत्य ढोल (ढलकी) र झ्याली बजाएर वृत्ताकारमा नाचिन्छ । यसलाई अर्घौं (स्यार्गा) भनिन्छ । स्यार्गाको चर्चा गर्दा ठूलोस्वाँरा (दुराडाँडा, लमजुङ) का मनिराम दुराको नाम बिर्सन मिल्दैन । उनको नाम स्यार्गा नाच्न जान्ने शिल्पीको रूपमा श्रद्धापूर्वक लिइन्छ । धर्मराज थापाकृत पुस्तक ‘लोकसंस्कृतिको घेरामा लमजुङ्ग’ मा स्यार्गा नाचका लागि लमजुङका थुप्रै गाउँबाट उनलाई निम्ता आउने प्रसंग छ । 

त्यस पुस्तकमा उनलाई निम्ता आउने गाउँहरूका सूची दिइएको छ, जसमा जिता, तान्द्राङ, गिलुङ, डढुवा, मालिङ, तीन गाउँ, चौध खोलालगायत ३० भन्दा बढी गाउँका नाम उल्लिखित छ (पृ.४४१)  । ठाडो भाकामा समेत कहलाएका मनिराम दुराले स्यार्गामा १८ तालसम्म दिन सक्थे । अहिले निकै प्रवीण मानिएका व्यक्तिले पनि बढीमा आठ-नौ तालभन्दा बढी दिन सक्दैनन् । यस विधामा उनलाई धेरैले श्रद्धापूर्वक हेर्छन् । दुराडाँडाका बूढापाकाका दृष्टिमा उनीजस्ता व्यक्ति आजसम्म जन्मेकै छैनन् ।

उपसंहार

दुरा जातिको सांस्कृतिक भावभूमिलाई नियाल्दा अनेकन् रोचक परिदृश्य देखापर्छन् । गाउँ बार्ने, गुरुबाउ मान्ने, रोदी बस्ने, रोदीआमा मान्ने, माइती राख्ने, रिसियाँ खाने, ख्वाइ खाने, गाउँका तन्नेरीले एकअर्काको सियो राख्ने (उपनाम राख्ने), लोबारे खाने, दशाग्रह हेर्ने, गुहार, पर्म, झारा, तुर्लुङकोट मौलामा फूलपाती भित्र्याउनेजस्ता लगायतका चलन भेटिन्छन् । समयक्रममा यस्ता कतिपय चालचलन लोप भइसकेका छन् र भएका प्रथा पनि तीव्र गतिमा लोप हुने क्रममा छन् । लेखमा चर्चा गरिएका कतिपय सांस्कृतिक गतिविधिका विधिविधानमा परिवर्तन आइसकेका छन् ।

तीव्र गतिमा आइरहेको सामाजिक परिवर्तन र आधुनिकताको छालबाट धक्का खाँदै गएको  जीवनशैलीले मौलिकता बचाउन सकेको छैन । एकतिर मौलिक संस्कृति बचाउनुपर्ने नैतिक दायित्व र अर्कोतिर आधुनिकता अंगाल्दै विकास पथमा अघि बढ्नुपर्ने बाध्यतले अल्पसंख्यक दुरा समुदायको मौलिक जीवनशैली हरक्षण संक्रमित र अतिक्रमित बन्दै गएको छ । 

रैथाने जीवनशैली बचाउनुपर्ने जिम्मेवारी र आधुनिकताको लालचको चेपमा रहेको दुरा जातिको संस्कृति बचाएर पहिचानमुखी अभियानमा अघि बढ्न ज्यादै कठिन छ । यसमा राज्य र सबै सचेत वर्गको विवेकशील प्रयास अपेक्षित छ ।