फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भीषण आगलागी शुक्रवार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरू पनि बन्द गरिएको थियो ।
लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीवार बिहान २.३० बजे ठूलो आवाजसहितको विस्फोटनपश्चात आगलागी भएको थियो । यो कारखाना अमेरिकी खर्बपति व्यापारी वारेन बफेटको स्वामित्वमा रहेको छ ।
आगलागीका कारण कारखानामा कार्यरत कोही पनि कर्मचारी घाइते नभएको अग्निनियन्त्रकहरूले जनाएका छन् । कारखानाबाट निस्किएको धुँवा झण्डै २२ किलोमिटर टाढासम्म फैलिएको थियो । अग्निनियन्त्रक विभागका प्रवक्ता क्रिस चिसलार्डले कारखानाको मुख्य आगो नियन्त्रणमा आए पनि अझै कारखाना वरपर नमीठो दुर्गन्ध फैलिइरहेको बताउनुभयो । आगो निभाउन २०० भन्दा बढी अग्निनियन्त्रकहरू खटाइएको थियो ।
यो कारखाना नगर क्षेत्रबाट नजिकै रहेकाले पनि त्यसको असर नगरवासीमा पर्ने चिन्ता व्यक्त गरिएको छ । लुब्रिजोल कम्पनीले आगलागीबाट उद्योगको गोदामघर, प्रशासनिक भवनसमेत पूर्ण रूपमा जलेको जनाएको छ । आगलागीको कारण भने अझै खुलेको छैन । कम्पनीले नगरवासीलाई फलफूल वा तरकारीलाई राम्रोसँग पखालेर मात्र खान अनुरोध गरेको छ । फ्रान्सेली अभियोजनकर्ताहरूले कारखानाको आगलागीका बारेमा अनुसन्धान सुरु गरेका छन् ।