युद्धग्रस्त शहरमा

युद्धग्रस्त शहरमा

रमेश क्षितिज  |  साहित्य  |  आश्विन ११, २०७६

प्रेम वर्जित छ यो शहरमा
निषेधित छ मुस्कान

हिँड्दाहिँड्दै दागिन सक्छ छातीमा संगीन
वा टाउकोमाथि खस्न सक्छ तुलबम
हतियारसहित आएको कुनै अज्ञात समूहले
गर्न सक्छ अपहरण घरभित्रबाटै
वा कपालका रौँ हल्लाएर जान सक्छ बन्दुकको गोली

एकछिनअघि झन्डाझैँ हावामा लहराइरहेको
ट्राफिक समयको हात
टक्क थामिएको छ यतिखेर
र, जीवनका सुनसान राजमार्गहरूमा केवल
रातको कुकुरझैँ रुँदै दौडेका छन साइरनहरू

यस्तो बेला पुग्नु छ मलाई हुलाकघरसम्म
र, लिएर आउनु छ 
टाढाबाट मेरी प्रियतमाले पठाएको
जन्मदिनको शुभकामना कार्ड ।