संकल्पद्वारा नै कामको उत्पत्ति हुन्छ

संकल्पद्वारा नै कामको उत्पत्ति हुन्छ

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  आश्विन ११, २०७६

कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
 स बुद्धिमान् मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।। १८ ।।

अन्वय र अर्थ – यः = जुन मनुष्यले, कर्मणि = कर्ममा, अकर्म = अकर्म, च = तथा, यः = जुन मनुष्यले, अकर्मणि = अकर्ममा, कर्म = कर्म, पश्येत् = देख्दछ, मनुष्येषु = मनुष्यहरूमा, सः = त्यो, बुद्धिमान् = बुद्धिमान् हो, सः = त्यो, युक्त = योगी हो, कृत्स्नकर्मकृत् = कृतकृत्य (सबै कर्म गर्ने) पनि हो । 

भावार्थ – जसले कर्ममा अकर्म र अकर्ममा कर्म देख्छ, मनुष्यहरूमा त्यही बुद्धिमान् हो, त्यही योगी हो र त्यही पुरुष सम्पूर्ण कर्म गर्ने वाला पनि हो ।

विशिष्टार्थ – साधना समयमा साधकमाथि दुई महाशक्तिले काम गरिरहेका हुन्छन् – एक विकर्म शक्ति (यो अपान वायुको क्रिया हो) र एक कर्म शक्ति । कर्मले साधकलाई आत्मामा स्थिर गराएर गहनापार अर्थात् मायातीत गर्ने चेष्टा गर्दछ भने विकर्मले उसलाई तानेर विषयमा राख्ने चेष्टा गर्दछ । शरीर नै समष्टि – विकर्म क्रिया हो । यो विकर्म यति प्रबल हुन्छ कि कर्मयोगद्वारा आत्म चैतन्यमा स्थिति लाभ गर्नु भन्दा ठीक पूर्व क्षणमा नै यस विकर्मले शब्द स्पर्शादि कुनै एक विषयलाई मनभित्र जागृत गरिदिएर चैतन्यलाई ढाकिदिन्छ । अनि कर्तृत्व भेटिएर निश्चेष्ट क्रिया भइरहँदा अवश मन चैतन्यमा स्थिर नभएर त्यही  विषयलाई लिएर  स्थिर हुन्छ । त्यसकारण त्यो स्थिति अकर्म नभएर विकर्म भोग हुन्छ  (१६ औं श्लोक हेर्नुहोस्) । फेरि यस्तो पनि हुन्छ जब साधक अकर्ममा नै स्थिति प्राप्त गरेर कर्तृत्वहीन स्वाभाविक निश्चेष्ट क्रिया (पानीमा घुलित मिश्री जस्तै) ले क्रम अनुसार व्याप्त भएर परमात्मा ब्रम्हमा लीन भएर एक रस हुन्छ, तब शारीरिक प्रबल विकर्मको ताडनाले त्यो स्थिर अवस्था निद्रा टुटेर झल्यांस भए जस्तै टुट्छ । यसबाट फेरि शब्द स्पर्शादि संकुल विकर्ममा आउनु पर्दछ । यसरी प्रति दिन नियमित क्रियामा अभ्यास दृढ भएपछि विकर्मको वेग क्रमशः क्षीण र कर्मको वेग प्रबल हुँदै जान्छ । अनि क्षणस्थायी अकर्म स्थिति विस्तारै विस्तारै बहुक्षणस्थायी अकर्मस्थितिको भोग गर्दै जब मन अहंमय हुन्छ तब विकर्ममा ओर्लेर पनि अरू विकर्म भोगबाट अभिमूत हुनु पर्दैन, (निद्रा पुगेर शारीरिक थकान मेटिए पछि जसरी निद्रा आफैं भंग हुन्छ अकर्म स्थिति वा समाधि योग पनि त्यस्तै परिपाक भएर मनमा शान्ति संचार भएर आफैं भंग हुन्छ ।) किन भने चैतन्यमा स्थिति लाभ गरेर जुन आत्मानन्दास्वाद प्राप्त हुन्छ, मन त्यसमा विभोर रहनाले लक्ष्य उतैतिर रहन्छ । त्यसकारण तै पनि तत्साधनोपयोगी प्राण कर्म भइनै रहन्छ । यस अवस्थामा साधकले  कर्म गरे पनि  आत्मानन्दमा लक्ष्य रहनाले कर्म गर्नका लागि कर्म ज्ञान पनि रहन्छ । यसबाट उसको एकाधारमा कर्म, अकर्म दुबै भइरहन्छन् । अतः उसको कर्ममा अकर्मको र अकर्ममा कर्मको दर्शन हुन्छ । यसरी साधक नै बुद्धिमान् हो, कारण उसको बुद्धि विषय विमुख हुनाले आत्मामा लागेर स्थिर भएर रहन्छ, विक्षिप्त हुँदैन । त्यसकारण ऊ युक्त (योगी) हो । अनि ऊ कृत्स्नकर्मकृत् हो अर्थात् विकर्म विक्षेप विहीन सम्पूर्ण कर्मको अनुष्ठान गरेर म र मेरो मिलेर एक हुनु भन्दा ठीक पूर्व पर्यन्त जुन सूक्ष्मातिसूक्ष्मतम वृत्ति रहन्छ उसमा प्रवृत्ति निवृत्ति भेदले जति प्रकारका कर्म छन् ती सबै तत्वलाई ऊ जान्दछ त्यसैले ऊ सर्वज्ञ हो । यही नै जीवन मुक्तावस्था हो, यसपछि मात्र शरीर त्यागबाट विदेह ब्रम्हत्व हो ।

यस अवस्थामा साधकले  कर्म गरे पनि  आत्मानन्दमा लक्ष्य रहनाले कर्म गर्नका लागि कर्म ज्ञान पनि रहन्छ । यसबाट उसको एकाधारमा कर्म, अकर्म दुबै भइरहन्छन् । अतः उसको कर्ममा अकर्मको र अकर्ममा कर्मको दर्शन हुन्छ । यसरी साधक नै बुद्धिमान् हो, कारण उसको बुद्धि विषय विमुख हुनाले आत्मामा लागेर स्थिर भएर रहन्छ, विक्षिप्त हुँदैन ।

यस्य सर्वे समारम्भाः कामसंकल्पवर्जिताः ।
ज्ञानाग्नि दग्धकर्माणं तमाहुः पण्डितं बुधा ।। १९ ।।

अन्वय र अर्थ – यस्य = जसमा, सर्वे = सम्पूर्ण, समारम्भाः = कर्महरू, काम संकल्प वर्जिताः = काम त्यसका कारण र संकल्पले रहित छन्, वुधाः = ज्ञानीजनहरू, ज्ञानाग्निदग्धकर्माणं = ज्ञानीरूपी अग्निले सबै कर्महरू दग्ध भएको, तं = उसलाई, पण्डितं = बुद्धिमान्, आहुः = भन्दछन्

भावार्थ – जसका सम्पूर्ण कर्महरू काम तथा संकल्प रहित छन्, ज्ञानाग्निमा उसका सम्पूर्ण कर्महरू दग्ध हुनाले ज्ञानीहरू उसलाई पण्डित भन्दछन् ।

विशिष्टार्थ – विषय वासनाको नाम काम हो भने आकांक्षा, इच्छा मात्रको नाम संकल्प हो । संकल्पद्वारा नै कामको उत्पत्ति हुन्छ । मुक्तिको इच्छा राखेर जुन संकल्प गरिन्छ त्यो कामना भए पनि त्यसले कर्म बन्धनमा पार्दैन । त्यसकारण त्यसलाई काम भनिदैन । पञ्चतत्वको नाम सर्व हो । चित्त शुद्धिका लागि पञ्चतत्वमा जति प्रकारको प्राण क्रिया गरिन्छ त्यो सम्पूर्ण नै सर्व समारम्भ हो । जसको समारम्भ समूह अर्थात् यी समस्त प्राण क्रियाहरू काम र संकल्प विहीन छन् अर्थात् क्रियाद्वारा जसको विभूति लाभ तथा मुक्ति लाभको पनि इच्छा रहदैन, जसले अवाधत्ः केवल गुरुवाक्य पालन गर्दछ, उसको कर्ममा अकर्म र अकर्ममा कर्मको दर्शन हुन्छ । अवः त्यस अवस्थामा उसमा आत्मज्ञान उत्पन्न हुन्छ र उसका सम्पूर्ण कर्महरू दग्ध हुन्छन् । लोक संग्रहार्थ वा शरीरयात्रा निर्वाहार्थ कर्म अनुष्ठित भएर पनि त्यो कर्म अरू अंकुरित हुँदैन अर्थात् त्यस कर्मबाट फलोत्पन्न भएर उसलाई अरू कार्यमा लिप्त गर्न सक्दैन । यसरी साधकनै पण्डित् अर्थात् ज्ञानी हो (२०–२२ श्लोकमा यस्ता पण्डित्को अवस्थाको वर्णन गरिएको छ ) ।

 त्यक्त्वा कर्मफलासंगं नित्यतृप्तो निराश्रयः ।
 कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित् करोति सः ।। २० ।।

अन्वय र अर्थ – सः = त्यो पण्डित्, कर्मफलासंगं = कर्म फलमाथिको आसक्तिलाई, त्यक्त्वा = त्याग गरेर, नित्यतृप्तः = आत्मानन्दमा तृप्त अर्थात् निराकाक्ष, (अतएव) निराश्रयः = निरालम्ब,  आश्रय रहित,  कर्मणि = कर्ममा,  अभिप्रवृत्तः =  राम्ररी  लागेर,  अपि = पनि (निष्क्रियात्मदर्शन सम्पन्नत्वात = निष्क्रिय आत्मज्ञानले सम्पन्न हुनाले), किञ्चित् एव = केही पनि, नकरोति = गर्दैन ।

भावार्थ – त्यस पण्डित्ले कर्मफलको आसक्तिलाई त्यागेर नित्यानन्दमा परितृप्त तथा निरालम्ब हुनाले कर्ममा प्रवृत्त भएर पनि केही पनि गर्दैन ।

विशिष्टार्थ – जो पण्डित् छ उसको कर्मफलमा आसक्ति रहदैन, ऊ नित्यानन्दमा परितृप्त रहन्छ, उसको अरू कुनै दोस्रो आश्रय रहदैन । त्यसकारण यस असंग अवस्थामा शरीर यात्राको निमित्त वा लोक संग्रहका लागि कर्ममा प्रवृत्त नरहनाले, 'यत्र यत्र मनोयाति तत्रैव ब्रम्ह लक्ष्यते' हुनाले उसको एक आत्मामा नै स्थिति हुन्छ । अतः ऊ कर्ममा रहेर पनि उसको अकर्म भोग हुन्छ ।

    निराशीर्यतचित्तात्मा त्यक्त सर्वपरिग्रहः ।
    शारीरं केवलं कर्म कुर्व न्नाप्नोति किल्विषम् ।। २१ ।।

अन्वय र अर्थ – (सः = त्यो पण्डित), निराशीः = निस्काम, यतचित्तात्मा = समदम सम्पन्न, त्यक्त सर्वपरिग्रहः = जसले सबै प्रकारको संग्रहलाई त्यागेको छ, शारीरं = शरीर सम्बन्धी, केवलं = केवल, कर्म = कर्म, कुर्वन् = गर्दो छँदो पनि, किल्विषं = संसार बन्धन, पापपूर्ण फल, न आप्नोति = पाउँदैन ।

भावार्थ – त्यो निष्काम, संयमी र सर्वत्यागी भएर केवल मात्र शरीर यात्रा निर्वाहोपयोगी कर्म गर्दा पापबाट लिप्त हुँदैन ।

विशिष्टार्थ – जब मनमा काम र संकल्प रहदैन, तब शरीरमा स्वतः जुन प्रकारको क्रिया भइरहन्छ त्यही 'शरीरं केवलं कर्म' हो । केवल कर्ममा मात्र शरीर निर्वाह हुन्छ, त्यसमा कुनै उद्देश्य रहदैन । मन निष्काम, संयम र त्यागी हुनाले त्यसमा  कर्तृत्वाभिमान पनि रहदैन । अतः शरीरादिबाट चेष्टा गर्नाले पनि पाप (चंचलता) मा अर्थात् संसार बन्धना पर्नु पर्दैन । हे साधक ! आफ्नो क्रियाको परावस्थाको परावस्थामा विषय मिलनको ठीक पूर्वकालपर्यन्तको समयलाई स्मरण गर ।

  यद्दच्छालाभ सन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।
  समः सिन्द्धावसिन्द्धौ च कृत्वापि न निबध्यते ।। २२ ।।

अन्वय र अर्थ – (सः = पण्डित), यद्दच्छालाभसन्तुष्टः = स्वतःप्राप्त लाभबाट सन्तुष्ट, द्वन्द्वातीतः = आफ्नो –पराई, शीत–उष्ण, सुख–दुःख आदि भेद ज्ञानले रहित अर्थात् समदर्शी, विमत्सरः = शत्रुभावले रहित, सिद्धावसिन्द्धौ = सिद्धि र असिद्धिमा, च = पनि, समः = हर्ष विषाद रहित, (कर्म = कर्म), कृत्वा अपि = गरेर पनि, न निबध्यते = कर्ममा आबद्ध हुँदैन ।

भावार्थ– जुन पण्डित् स्वतः प्राप्त लाभबाट  नै सन्तुष्ट छ, द्वन्द्वातीत, शत्रुभाव रहित तथा सिद्धि र असिद्धिमा समान ज्ञान सम्पन्न छ, ऊ कर्म गरेर पनि कर्ममा आबद्ध हुँदैन ।

विशिष्टार्थ – पण्डित् व्यक्ति सबैमा ब्रम्हदर्शन गर्दछन् । उनीहरूको कामना र संकल्प नरहनाले, शरीर निर्वाहका लागि जुन स्वतः प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहन्छन् । उनीहरूमा असल–खराबको विचार रहदैन, आफ्नो र पराईको भेदभाव रहदैन, कसैसंग शत्रुभाव रहदैन, उनीहरुका लागि सबै ब्रम्ह हो । यसरी सिद्धि अर्थात् प्राप्तिको प्राप्ति– केवल्य स्थिति र असिद्धि अर्थात् तद्भाव सबै एकै हुन् । द्वैतज्ञान नरहनाले कर्ममा लिप्त रहेर पनि उनीहरू लिप्त हुँदैनन् ।

  गतसंगस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।
   यज्ञायाचरतः कर्म समग्र प्रविलीयते ।। २३ ।।

क्रमशः

यो पनि

संसारमा कर्म नै एक मात्र बन्धन हो

‘म’ को जन्म नभएपछि  मरण पनि हुँदैन

मनमा बहुज्ञान रहनेले  बहुविश्वासको बहुत्वमा रहनुपर्छ

कर्मसिद्धिको आकाङ्क्षा राख्ने मानिसहरू देवताहरूको पूजा आराधना गर्दछन्

कर्म के हो ? अकर्म के हो ?