नियमविपरीत नर्स भर्ना गर्दै वीर अस्पताल

नियमविपरीत नर्स भर्ना गर्दै वीर अस्पताल

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १२, २०७६

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा नियमविपरीत नर्स कर्मचारीलाई भर्ना गर्न लागिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको करारमा र अस्थायी कर्मचारी भर्ना नगर्ने गरेको परिपत्र, लोकसेवा आयोगको पत्र र न्याम्स कर्मचारी नियमावलीविपरीत वीरले नर्सहरूको करार भर्ना गर्न लागेको अस्पताल स्रोतले बतायो । 

आर्थिक चलखेल र आफन्त भर्ती गर्ने उद्देश्यले खुला विज्ञापन नगरी नर्सको भर्ती गर्न लागिएको भन्दै अस्पतालका कर्मचारीले  अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् । यता, अस्पताल प्रशासनले भने नर्सहरूको अन्तर्वार्ता लिन सुरु गरिसकेको बताइएको छ । 

सेवा आयोगमार्फत् आवश्यक पदपूर्ति गर्नुपर्नेमा विज्ञापनसमेत नगरी आफन्त र चलखेलका आधारमा २५ जना नर्स भर्ना गर्न लागेको कर्मचारीहरूले आरोप लगाएका छन् ।
 
हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पदपूर्ति समिति पदाधिकारीविहीन रहेको र तत्काल जनशक्ति अपुग भएको भन्दै  केही स्टाफ नर्स भर्ना गर्न नियम नर्स राख्न खोजजिएको अस्पताल प्रशासनले जनाएको छ ।