औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई पुन: मन्त्रालय तानियो

औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई पुन: मन्त्रालय तानियो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १२, २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई पुन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ । मन्त्रालयकै पत्र लिएर ढकाल एक साताअघि मात्रै विभागमा हाजिर हुन पुग्नुभएको थियो ।

गत शुक्रबार उहाँलाई दिइएको पत्रमा २४ भदौको मन्त्रीस्तरीय निर्णयअनुसार कामकाज गर्ने गरी मन्त्रालय तानिएको उल्लेख छ । 

गत १५ असारमा भएको समायोजनपछिको पदस्थापनमा महादिर्नेशकबाट हटाई राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख बनाएपछि ढकाल सो निर्णयविरुद्ध २५ असारमा सर्वोच्च अदालत जानुभएको थियो । अदालतले २१ साउनमा ढकालको पक्षमा अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेशको कार्यान्वयन गरेको भन्दै मन्त्रालयले गत १ असोजमा महानिर्देशकको जिम्मेवारी सम्हाल्नू भन्दै ढकाललाई पत्र दिएको थियो ।

ढकालले सोही पत्र बोकेर विभाग पुगी गत आइतबारबाट महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसअघि उहाँको ठाँउमा दशौँ तहका पानबहादुर क्षेत्रीले निमित्त महानिर्देशक बनी काम काज सञ्चालन गर्नुभएको थियो ।