नासाको तस्वीरले पनि 'ल्याण्डर विक्रम' पत्ता लागेन, 'फोर्स ल्यान्डिङ'भएको प्रमाणित

अब अर्को चन्द्र दिनमा ल्याण्डरको लोकेसन पत्ता लाउने प्रयास गरिने

नासाको तस्वीरले पनि 'ल्याण्डर विक्रम' पत्ता लागेन, 'फोर्स ल्यान्डिङ'भएको प्रमाणित

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन १२, २०७६

अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको  'लुनर रेकन्सेस अर्बिटर'ले चन्द्रमाको त्यस भागको तस्वीर सार्वजनिक गरेको छ, जहाँ भारतीय ल्यान्डर विक्रमले फोर्स ल्यान्डिङ गरेको अनुमान गरिएको छ । अमेरिकी अर्बिटर १७ सेप्टेम्बरका दिन चन्द्रमाको त्यस भागमाथिबाट गुज्रिँदा अर्बिटरले त्यहाँको तस्वीर खिचेको थियो ।

नासाले १७ सेप्टेम्बरमा 'लुनर रेकन्सेस अर्बिटर'बाट प्राप्त भएका तस्वीर २६ सेप्टेम्बरमा सार्वजनिक गर्‍यो । यतिका दिनसम्म नासाले तस्वीर अध्ययन गरेर पनि भारतीय ल्यान्डरको लोकेसन पत्ता लाउन सकेन ।
 
नासाका अनुसार 'लुनर रेकन्सेस अर्बिटर' १७ सेप्टेम्बरमा चन्द्रमाको दक्षिणी ध्रुवमाथिबाट गुज्रिँदा त्यहा अँध्यारो हुन थालिसकेको थियो । अँध्यारोले गर्दा तस्विरमा ल्यान्डर देखिएन ।
 
नासाका अनुसार यो त स्पष्ट छ ल्यान्डरले चन्द्रमामा 'फोर्स ल्यान्डिङ' गरेको छ । 'ल्यान्डरसँग संपर्क हुने संभावना त छैन तर हामी त्यसको लोकेसन पत्ता लाउन एक पटक पुनः प्रयास गर्छौं', नासाले भनेको छ ।
नासाको  'लुनर रेकन्सेस अर्बिटर' ४ अक्टुबरपछि पुनः चन्द्रमाको दक्षिणी ध्रुवमाथि गएर त्यहाँको तस्वीर पठाउनेछ । त्यसबेला चन्द्रमाको यस भागमा पुनः दिनको उज्यालो हुनेछ । दिनको उज्यालोमा खिचिएका तस्वीरमा ल्यान्डर विक्रमको लोकेसनबारे स्पष्ट थाहा हुनेछ ।
 
गत ७ सेप्टेम्बरमा भारतीय ल्यान्डर चन्द्र अवतरणको क्रममा चन्द्र सतहबाट २ प्वाइन्ट १ किलोमिटरमाथि रहँदा अनियन्त्रित भई चन्द्र सतहमा 'हार्ड ल्यान्डिङ' हुन पुगेको थियो । 
 
भारतीय ल्यान्डर भएको चन्द्रमाको त्यस भागमा अहिले रातको समय छ । २१ सेप्टेम्बरदेखि त्यहाँ रात सुरु भएको हो । त्यहाँ रातको समय  ४ अक्टुबरसम्म रहनेछ । चन्द्रमामा पृथ्वीको १३ प्वाइन्ट ६५ दिनरात बराबरको रात हुन्छ । यसअनुसार ल्यान्डर हुने ठाउँमा ४ अक्टुबरका दिन पुनः सूर्योदय हुनेछ ।