वेदमा नारी: समानता, आदर्श, श्रेष्ठता, अग्रणी र सबलाका रुपमा चित्रण

वेदमा नारी:  समानता, आदर्श, श्रेष्ठता, अग्रणी र सबलाका  रुपमा चित्रण

लक्ष्मी गौतम  |  दृष्टिकोण  |  आश्विन १२, २०७६

नारीको बारेमा परिचर्चा गर्दा ती नारी केवल नारी मात्र होइनन् । ती त पूज्या आमा हुन्, आदर्श पत्नी हुन्, असल छोरी हुन्, सभ्य बुहारी हुन्, हिन्दु धर्म र संस्कृतिले सुशिक्षित र दीक्षित भएका कन्या कुमारी पनि हुन् । जुनसुकै अवस्थामा पनि नारी आदरणीया छन्, त्यसैले जस्तोसुकै परिस्थितिमा पनि नारीका अस्मिताको रक्षा गर्नु समाजका सभ्य नागरिकको कर्तव्य हो । 

वर्तमान नारी जगतको इतिहासलाई अवलोकन गर्दा वैदिककालीन नारीहरूको अवस्था नारी जातिकै इतिहासमा गौरवमय स्वर्णिम युग थियो । नारी समानता, आदर्श, श्रेष्ठता र अग्रतामा गणना भएका प्रमाण संसारको सर्वप्राचीन ग्रन्थ ऋग्वेदबाट अवगत हुन्छ । ऋग्वेदकालीन नारीहरू सबला थिए तर पश्चात्वर्ती युगमा विभिन्न परम्परा, अवस्था, परिस्थितिजन्य कारणले नारीहरूका अधिकारमा केही ह्रास आएको देखिन्छ । वेद र वेदका व्याख्या ग्रन्थहरूले नारी गौरवको वर्णन गरेका छन् ।

परिचय

नारीको परिचय दिइरहनुपर्दैन् । वेदमा नारी सम्मान, प्रतिष्ठा र गौरवका बारेमा मुक्तकण्ठले प्रशंसा गरिएको छ । यहाँसम्मकी नारीलाई ब्रह्मा समेत भनिएको छ कारण प्राचीनकालीन नारी होऊन् वा अर्वाचीन २१औँ शताब्दीका नारी ज्ञान–विज्ञान, कला–साहित्य, धर्म–संस्कृति, सभ्यता र संस्कारमा नारीको अहं भूमिका सर्वत्र देखिएको छ ।

सिर्जनशीलता, त्याग र निपुणताका कारणले नारी श्रेष्ठ कहलिएका हुन् । त्यसैले त ऋग्वेदका मन्त्र नारीलाई 'स्त्री हि ब्रह्मा बभूविथ' ( ऋग्वेद. ८.३३.१९) नारी नै ब्रह्मा, ज्ञानका स्रोत, आचारका, गुरु, उत्पत्तिका आधार हुन् भनिएको छ । 

नारीको चर्चा गर्दा ती नारी केवल नारी मात्र होइनन्, पूज्या आमा हुन्, आदर्श पत्नी हुन्, असल छोरी हुन्, सभ्य बुहारी हुन्, हिन्दु धर्म र संस्कृतिले सुशिक्षित र दीक्षित भएका कन्या कुमारी हुन् । नारी समानता, आदर्श, श्रेष्ठता र अग्रतामा गणना भएका प्रमाण संसारको सर्वप्राचीन ग्रन्थ ऋग्वेदबाट अवगत हुन्छ । ऋग्वेदकालीन नारीहरू सबला थिए ।

-A lady is verily the source of knowledge_ योभन्दा गौरव नारीको सन्दर्भको अरू के हुन सक्छ ? ब्रह्मा सुष्टिकर्ता हुन्, नारी सन्तानादिद्वारा परिवारको वृद्धि गर्दछिन् । ब्रह्मा ज्ञान र वेदका ज्ञाता हुन् भने नारी बालबालिकाहरूलाई ज्ञान, आचारविचार र संस्कारहरू दिएर गुरु बनेका छन् । समस्त ज्ञानको आधार ब्रह्मा भए जस्तै नारीहरू पनि पारिवारिक शिक्षाका आधार हुन् ।

ऋग्वेदको मन्त्रले नारीलाई घरकी स्वामिनी भनेको छ ।  घरको सम्पूर्ण रेखदेख नारीको जिम्मा दिइएको छ, नारीमा अक्षमता, अबला आदि गुणहरू हुन्थ्ये भने विशाल घरको मालिक स्वामित्व पक्कै पनि दिइने थिएन, शक्ति सामर्थ्य र पहिचानका कारणले नै घर सम्पत्तिका अधिकारी मानिएका हुन् । त्यसैले त 'जायेदस्तं| जाया इत्  पत्नी नै, अस्तं घर हो (ऋ. ३.५३.४) वैदिक युगमा किन पुरुषलाई घर भनिएन । किनभने पुरुषमा भन्दा नारीमा घर–सम्पत्तिको रक्षा गर्ने सामर्थ्य अधिक थियो त्यसैले घरका स्वामिनी नारीहरू भए । नारीविना घरको आधारस्तम्भ कडा हुन सक्दैन । त्यसैले गृहस्थहरूको घरको आधार के हो ? भन्ने प्रश्नको उत्तरमा गृहस्थहरूका घरको मूल आधार भनेकी पत्नी हुन् । घरको सुरक्षा पारिवारिक व्यवस्थापन, निरीक्षण, सुसञ्चालन र सुमन्नयनको सम्पूर्ण उत्तरदायित्व नारी वा पत्नीमा नै हुन्छ । 

त्यसैले त  जाया इत् अस्तम् भनियो । महाभारत, जसलाई पञ्चमवेद पनि भनिन्छ, जसमा नारीलाई प्रशंसा गर्दै नारीको श्रेष्ठता, महत्ता र उनका अधिकारका बारेमा प्रतिपादन गरिएको छ । महाभारत शान्तिपर्वका कतिपय दृष्टान्त दर्शनीय छन् :

न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते ।
गृहं तु गृहिणीहीनमरण्यसदृशं मत्म ।।  
(म.भा.शान्तिपर्व, १४४/६)

नास्ति भार्या समोबन्धु नास्ति भार्या समा गति: ।
नास्ति भार्या समो लोके सहायो धर्म सङ्ग्रहे ।।
(१४४/१६ म. भा. शान्तिपर्व)

स्त्रियो यत्र च पूज्यन्ते रमन्ते तत्र देवता ।
अपूजिताश्च यत्रैताः सर्वास्तत्राफला क्रिया: ।।
(महा. अनुशासनपर्व, ४६/५)

अर्थात् = वास्तवमा घर घर होइन, असल नारी (गृहिणी) नै घर हो । जुन घरमा नारीरूपी रत्नको अभाव छ, त्यो घर निस्तब्ध जङ्गल जस्तै मानिन्छ । 

संसारमा असल मित्र भनेका नारी वा पत्नी नै हुन्, असल पत्नीको अभावमा जीवनको गति अर्थात् उन्नति, प्रगति र सामाजिक प्रतिष्ठासमेत न्यून हुने बताइएको छ ।
 
लोकप्रतिष्ठा र धर्मसङ्ग्रहमा समेत नारीको उच्च योगदान हुने कुरा महाभारतका पङ्क्तिहरूले सङ्केत गरेका छन् । जुन राष्ट्र वा समाजनमा नारीको उच्च आदर सम्मान हुन्छ अथवा जुन ठाउँमा नारीहरूको इज्जत मान प्रतिष्ठा हुन्छ, त्यहाँ देवताहरू पनि प्रसन्न भई धन–सम्पत्ति र ऐश्वर्य प्रदान गर्दछन् भने जुन ठाउँमा नारीको अपमान, तिरस्कार हुन्छ र अस्मितामाथि प्रहार गरिन्छ, त्यस घर, समाज वा राष्ट्रको कहिल्यै पनि उन्नति नहुने कुराको चर्चा शास्त्रले गरेका छन् । त्यहाँ विकाससम्बन्धी सम्पूर्ण क्रियाहरू निस्फल हुन्छन् भनिएको छ । 

हुन पनि हो, जुन ठाउँमा नारीको चित्कार र करुण क्रन्दन गुञ्जायमान हुन्छ, त्यहाँ के शान्ति, सुख, सभ्यता र संस्कारका साथै समृद्धिको कल्पना गर्न सकिन्छ र ? जुन घरका नारीहरू खुसी छन्, त्यस घरको वैभव नै अर्कै सुसम्पन्न र समृद्ध देखिएको छ ।

नारीको चर्चा गर्दा ती नारी केवल नारी मात्र होइनन्, पूज्या आमा हुन्, आदर्श पत्नी हुन्, असल छोरी हुन्, सभ्य बुहारी हुन्, हिन्दु धर्म र संस्कृतिले सुशिक्षित र दीक्षित भएका कन्या कुमारी हुन् । नारी समानता, आदर्श, श्रेष्ठता र अग्रतामा गणना भएका प्रमाण संसारको सर्वप्राचीन ग्रन्थ ऋग्वेदबाट अवगत हुन्छ । ऋग्वेदकालीन नारीहरू सबला थिए ।

नारी सृष्टिकर्ता 

जैमिनीय ब्राह्मणमा नारीलाई सावित्री भनिएको छः 'स्त्री सावित्री' (ब्राह्मण . (२७.१०.१७) ज्ञान र निष्ठाका प्रतीक, नारीलाई अर्धाङ्गिनी भनिएको छ । हो, सृष्टिविधानमा सिर्जनाशक्ति नारीबाट मात्र सम्भव छ, एकअर्काका परिपूरक नारी र पुरुष, त्यसैले त नारीलाई आत्मा अर्थात् शरीरको आधा अंश भनिएको छ । लौकिक जीवनमा नारीविना कुनै पनि यज्ञ पूर्ण हुँदैनन् भनिएको छ । 'अयज्ञो वा एष: । योपत्नीकः' (तैत्तिरीयब्राह्मण. २.२.६) त्यसैले लोकजीवनमा वन्दनीय नारीहरूलाई अपमान, तिरस्कार र अबला भन्ने महामहिमहरू विपरीत ज्ञान भएका हुन् भन्ने तर्क महामनीषि भर्तृहरिले प्रस्तुत गरेर शृङ्गार शतक कृतिमा देखाएका छन् :

नूनं हि ते कविवरा विपरीतवाचो–
ये नित्यमाहुरबला इति कामिनीस्ताः ।
याभि– र्विलोलतारक दृष्टिपातै:
शक्रादयो डपि विजितास्त्बलाः कथं ताः ।।(शृङ्गार शतक पृ.९-१०)

सृष्टिकर्ताले स्वयं सृष्टिपश्चात् यदि सृष्टि सञ्चालन, अभिवर्धनको शक्ति यदि कसैलाई दिएका छन् भने ती हुन् नारी । कुक्षि (गर्भ) धारणको शक्तिमा ती विधाता–ब्रह्मा तुल्या छन् अर्थात् सृजन सामर्थ्यका कारण नारी विधाताकी सशक्त निर्मित हुन् । नारी आदर र प्रेमका प्रतीक हुन् । लोकजीवनमा पुरुषवर्गले जुन कार्य चाहेर पनि गर्न सक्दैनन्, त्यही कार्य नारी सहयोगद्वारा सशक्त भएर सम्पन्न गर्दछन् । त्यसैले नारीलाई शक्ति भनिएको हो ।

गृहस्थ जीवनका हरेका धर्म–कर्ममा सहयोग गर्दछन् अतः नारी सहधर्मिणी हुन् । मानव जीवनमा नारीहरूले पुरुषका सुख–दुःख, धर्म–अर्थ–काम–मोक्ष सबै परिस्थितिमा मुख्य भूमिका निर्वाह गर्दै जीवनजगत्का गौँडाहरू पार गराउँछन् । नारी भोग विलासका साधन कदापि होइनन् बरु जीवनजगतमा प्रेम र भक्तिका आधार हुन् । वात्सल्यका भण्डार हुन् । नारीरूपी महासमुद्रका अनेक प्रकारका जाज्वल्यमान गुणरत्नहरू विद्यमान छन् । गुणका पारखीहरू ती गुणहरू ग्रहण गरी चिरसुखमय जीवनयापन गर्दछन् । 

आचारवान् नारीद्वारा चरित्रवान्, असल, सभ्य सन्तानोत्पादन हुने सृष्टिविधानमा नारीको महत्त्वपूर्ण भूमिकाका साथै उनीहरूको एकाधिकार क्षेत्र पनि हो र जसको योग्यता उनीहरूमा मात्रै हुन्छ । दुर्भाग्य, आधुनिक पाश्चात्य शिक्षामा दीक्षित भएका नारीहरूले सुपुत्र वा सुपुत्री राष्ट्रलाई प्रदान गर्नु आफूलाई अपमानित भएको महसुस गर्न सक्छन् किनभने जस्तो संस्कार, शिक्षा र संगत दियो, त्यस्तै चेतनाको विकास हुने हो । के सन्तान पैदा गर्ने नारीले मात्र ठेक्का लिएका छन् ?

जसले अमूल्य गुणको महत्त्व र मापन बुझ्न सक्दैन, उसले 'कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि' भनेझैँ अपमान र तिरस्कारमा रमाउने गर्दछन् । यो जीवन जगत् भनेको बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई हँसियाको बिँड सरह नै हो । नारी त्रिगुणात्मिक शक्ति हुन्, जसको चिन्तनशील चेतनले साक्षात्कार गर्न सक्छ । ब्रह्मा–विष्णु र शिवका शक्ति वा क्रियाका भावहरू के नारीमा विद्यमान छैनन् र ? नारी ब्रह्मा हो, उसले पोषण र सेवा गर्दछे, साथै ऊ शिव हो पर्‍यो भने समाज र कुलका कलङ्क एवं राष्ट्र वा देशद्रोही आततायीहरुूलाई संहार गर्नसमेत पछि पर्दैनन् । त्यसैले नारी अपमान घरपरिवार, समाज वा यदाकदा राष्ट्रकै ध्वंशको कारण बन्न पुगेका छन् ।

संसाररूपी रथ सुचारु रूपले संचालन गर्न नारी पुरुषरूपी रथका चक्का समान रूपमा, समान आवश्यकताअनुसार परिमार्जित र परिस्कृत हुन आवश्यक छ । यदि एउटा मात्र ठीक छ भनेर अग्रगमनतर्फ लाग्ने हो भन्ने बीच मार्गमै दुर्घटना अवश्यम्भावी छ । दुवैको समान सम्मान शाश्वत रूपमा हुनुपर्दछ । दुवै एकअर्काका परिपूरक भएर नै समाज वा घररूपी मियोको अस्तित्व रहेको छ । 

संसारको इतिहासलाई अवलोकन गर्दा दम्भ र अहङ्कारले कसैको भलो गरेको देखिदैँन । घर–समाज वा राष्ट्रको नेतृत्व सबल रूपमा गर्न चाहने नारी वा पुरुष दुवै आचारवान् हुनु आवश्यक छ । आचारहीन व्यक्तिले समाज वा राष्ट्रलाई नै दूषित र भ्रष्ट बनाइदिन्छ । हाम्रा आदर्शग्रन्थहरूले त 'आचारहीनं न पुनन्ति वेदाः' भनेर उद्घोष नै गरे । नारी चाहे प्राचीन होऊन् अथवा अर्वाचीन, स्थानभ्रष्ट, आचार भ्रष्ट हुँदा नारी स्वयंको नारीत्व नै विचलित हुनेछ । नारी सम्मानका बारेमा चर्चा गर्दा हाम्रा आदर्श शास्त्रहरूले नारी प्रशंसा र निन्दा गरेका प्रमाणहरू पाइन्छन् । गुणदोषका बारेमा समीक्षा गर्नु आपत्ति होइन तर एकाङ्गी निन्दा सह्य छैन । यिनै ऋषिकाहरूकै त्याग तपस्याका कारण वैदिक संस्कृत्ति पल्लवित र पुष्षित भएको छ । नारीहरूकै गुण गरिमाको उच्छाल तरङ्गले गुञ्जयमान यो धर्ती वैदिक मन्त्रहरूको आलोकमा अत्यन्त आदरास्पद भएको छ । वैदिक ऋषि मानव निर्माणको योजनामा अत्यन्तै सजग रहेको पाइन्छ । कारण असल सन्तान नभए समाजको स्तरोन्नति हुँदैन, त्यसैले ऋषि–ऋषिकारू कहिले असल नारी प्राप्ति, कहिले दम्पती र कहिले ईश्वरसँग प्रार्थना गरिरहेका छन्– सुयोग्य मानव सन्ततिका लागि । 

आचारवान् नारीद्वारा चरित्रवान्, असल, सभ्य सन्तानोत्पादन हुने सृष्टिविधानमा नारीको महत्त्वपूर्ण भूमिकाका साथै उनीहरूको एकाधिकार क्षेत्र पनि हो र जसको योग्यता उनीहरूमा मात्रै हुन्छ । दुर्भाग्य, आधुनिक पाश्चात्य शिक्षामा दीक्षित भएका नारीहरूले सुपुत्र वा सुपुत्री राष्ट्रलाई प्रदान गर्नु आफूलाई अपमानित भएको महसुस गर्न सक्छन् किनभने जस्तो संस्कार, शिक्षा र संगत दियो, त्यस्तै चेतनाको विकास हुने हो । के सन्तान पैदा गर्ने नारीले मात्र ठेक्का लिएका छन् ? भन्ने जस्ता कुचेष्टा यदाकदा सुन्न पाइन्छ । त्यस्ता व्यक्ति विशेषलाई वैदिक संस्कृतिले आत्मविस्मृति रोगले ग्रसित नारी भन्ने गरेको छ । 

जुन देशका नारीलाई सम्मान गरिँदैन, त्यस समाजका नारीहरूले यस्तै अभिव्यक्ति दिने गर्दछन् तर हाम्रो वैदिक परम्परा, जसले नारीलाई सम्मान मात्र होइन, पूजासमेत गर्दछ । मातृस्वरूपा नारी समक्ष समस्त मानव जाति नतमस्तक छ । तिनै वेद र वैदिक ग्रन्थहरूले संसारका नारी जाति, प्रकृति र सृष्टि विधानलाई पूजा गर्न सिकाएका छन् । सम्मान र पूजा वेदको परम्परा हो । मातृशक्तिको सम्मानमा अर्थर्ववेदको सूक्तले मात्र भवतु सम्मनाः (अथर्ववेद, ३/३०/२) भनेर जन्मदातृ जननी पूजनीया माताको पूज्यता अथवा महत्त्वलाई उजागर गरेको छ । आमाको महिमाको विषयमा श्रुति, स्मृति, पुराण र काव्यहरूमा मुक्तकण्ठले गान गरेको छ । मातृदेवो भव: भनेर (तैत्तिरीयोपनिषद् १/११) ले हे मानव जाति हो ! तिमीलाई दस महिनासम्म गर्भ धारण गरेर प्रसूति अवस्थाको पीडालाई भुलेर स्तनपान गराई तिमीलाई यो अवस्थामा ल्याई तिम्रो अस्तित्व विकास गराउने मातालाई सम्मान गर, सेवा गर भनेर मुक्तकण्ठले प्रशंसा गरेको छ, जसलाई देवीतुल्य आदर र पूजाको स्थान दिइएको छ । ती नारी सबैका पूज्या छन् । 

नीतिले पनि नारी सम्मानलाई उच्च महत्त्व दिँदै ‘मात्रा समंनास्ति शरीरपोषणम्’ अर्थात् जुन आमाको अहेतुक प्रेमले सन्तान गद्गद् भएर अग्रसर हुन्छन् । त्यति मात्र कहाँ हो र ? आपत्तिकालमा माताकै शरण स्वरूप 'ऐय्या आमा' भनेर पुकारिन्छ । यी सबै नारी सम्मानका प्रतीक हुन् । स्नेहमयी आमाको सबैभन्दा ठूलो अभिलाषा आफ्ना सन्तान चिरायु हुन् । निरोगी बनून् । विद्वान्, बलवान्, धनी धार्मिकका साथै सर्वगुण सम्पन्न बनून् भन्ने उच्च आदर्श रहन्छ । जसरी नारीरूपी आमाले सन्तानको भविष्योज्वलको कामना गर्दछिन्, तिनै भावनालाई आत्मसात् गरेर सन्तानले पनि मातृसेवामा कुनै प्रकारको कमी राख्नुहुन्न भन्ने कुरा महर्षि सुमन्तुका वचनअनुसार अझै प्रष्ट गर्न सकिन्छ ।

आयु पुमान् यशः स्वर्गः कीर्ति पुण्यं बलं श्रियम् ।
पशु सुखं धनं धान्यं प्राप्नुयान्मातृवन्दनात् ।।

अर्थात्– माताको सेवा गर्ने व्यक्तिले दीर्यायु, यशः, स्वर्ग, कीर्ति, पुण्य, बल, लक्ष्मी, पशु, सुख, धन एवं धान्य समस्त वस्तुहरू प्राप्त गर्न सक्दछ, यो सबै पनि नारी सम्मानकै प्रतीक हो । त्यति मात्र कहाँ हो र ? नारीलाई स्वर्गभन्दा पनि उच्च स्थान दिएको कुरा रामायणको यो पंक्तिबाट स्पष्ट हुन्छ– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ । नारीलाई साक्षात् देवीसँग तुलना गर्दै नारीका अनेक स्वरूपको वर्णन पुराणमा गरिएको छ :

स्तनदात्री गर्भधात्री भक्ष्यदात्री गुरुप्रिया
अभीष्टदेवपत्नी च पितुः पत्नी च कन्यका ।।

सगर्भजा या भगिनी पुत्रपत्नी प्रियाप्रसू:
मातुर्माता पितुर्माता सोदरस्य प्रिया तथा ।।

मातु पितुश्च भगिनी मातुलानी तथैव च
जनानां वेदविहिता मातरः षोडश स्मृता: ।।

उक्त सोह्र प्रकारका मातृशक्तिहरूको वर्णन ब्रह्मवैवर्त पुराणले गरेको पाइन्छ ।

क्रमशः

प्राज्ञ लाेकवार्ता  विवेचनाबाट