भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद

भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १३, २०७६

झापा । अर्जुनधारा नगरपालिका- १ सिस्ने भन्ने स्थानमा भण्डारण गरी राखेको निओजल-९० लेखिएको अतिविस्फोटक पदार्थ करिब २५ किलोग्राम आइतवार साँझ प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा विस्फोटक पदार्थ लुकाई भण्डारण गरेको भन्ने खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जुटको बोरामा लुकाई भण्डारण गरी राखेको अवस्थामा उक्त परिणामको विस्फोटक पदार्थ फेला पारी बरामद गरेको जनाइएको छ ।

उक्त विस्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि हो भनी झापा हल्दिवारी गाउँपालिका- ५ बस्‍ने ४४ वर्षीय टीका पोखरेल, इलाम माङ्सेबुङ गाउँपालिका- १ बस्‍ने ३४ वर्षीय मनीष भन्ने प्रवीण मिश्र र मकवानपुर भीमफेदी गाउँपालिका- २ बस्‍ने २६ वर्षीय अनुल सारु मगरसमेतले करिव एक महिना अगाडि उक्त स्थानमा ल्याई लुकाई भण्डारण गरी राखेको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

निज टीका, प्रवीण र अनुल गत भदौ ३० गते विभिन्न हातहतियारसहित पक्राउ परेका र उनीहरू उपर हातहतियार खरखजाना, विस्फोटक पदार्थ, राज्यविरुद्धको कसूर, जबर्जस्ती चन्दा असुली र संगठित अपराधअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।