दशैँ : महिला कामधन्दामा, पुरुष मस्तीमा !

दशैँ : महिला कामधन्दामा, पुरुष मस्तीमा !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  आश्विन १४, २०७६

बाल्यकालको दशैँ सम्झिएर अझै पनि मन पुलकित हुने गर्छ । दशैँ मनाउनाका लागि हजुरबुबाले महिना दिन अगाडिदेखि सुरसार कस्नु हुन्थ्यो । महिना दिनअघि नै हजुरबुबाले खसी किनेर घरको पिँढीमा बाँध्नुहुन्थ्यो । खसी ‘म्याँ म्याँ’ गरेर कराउने गर्थ्यो । हामी हातमा घाँस लिएर खसीलाई खुवाउन जान्थ्यौँ । खसी दाम्लोमा बटारिएर उफ्रन्थ्यो र हामीलाई हानौला जस्तो गर्थ्यो । यो देखेर हामी पनि निकै दंग पर्थ्यौं ।

दशैँमा हामी दिदीबहिनीका लागि मुख्य कुरा भनेकोे नयाँ कपडा नै हुने गर्थ्यो । टीकाको दिन नयाँ लुगा लगाएर जाने चलन थियो । म पनि बिहानैदेखि नयाँ कपडा लगाएर चिटिक्क पर्थें ।साथीभाइसँग बुबाले किनिदिनुभएको नयाँ कपडाका बारे छुट्टै गफ हुने गर्थ्यो । हरेक दशैँमा बुबाले नयाँ कपडा किनिदिनुहुन्थ्यो । यसपालि दशैँमा कसले कस्तो कपडा किने, कसको कपडा सबभन्दा राम्रो रह्यो भन्ने विषयमा साथीभाइबीच कुराकानीसमेत हुने गर्थ्यो ।

अरूबेला नयाँ कपडा किनेको छ भने पनि दशैँमा लगाउनुपर्छ भनेर साँचेर राख्ने गर्थ्यौं । नवमीका दिन एउटा कपडा लगाएर पूजा गर्न जाने अनि दशमीको दिन अर्को लुगा लगाएर टीका लगाउन गए त झन् गाउँभरि नै ‘फलानोका बाबुले त दशैँमा दुई जोर नयाँ लुगा किनिदिएछन्’ भन्ने चर्चा हुने गर्थ्यो ।

अहिलेको जमानाकी मेरी छोरीसँग यी कुरा गर्दा उनले सिधै सोध्ने गर्छिन्, ‘दशैँमा मात्र किन नयाँ लुगा ? अरू बेला किन किनेनौ ? त्यो बेलामा मासु पसल थिएनन् ?’ आदि । मेरी छोरीले दशैँ भनेर आफूभन्दा ठूलासँग टीका लगाउने र आशीर्वाद लिने भनेर मात्र बुझेकी छन् । दशैँमा खेलिने लिङ्गे पिङ, परदेशमा रहेका दाजुभाइलाई लाग्ने दशैँको महत्त्व, ढिकीमा कुटेको चिउराका बारे आजका पिँढीका बालबालिकालाई कमै मात्र थाहा छ । दशैँमा नयाँ लुगा लगाउन पाइन्छ भनेर हामी दंग पर्थ्यौं भने आजका बालबालिकाहरू छुट्टीमा मजाले मोबाइल हेर्न पाइने भयो भनेर दंग पर्छन् ।

यो समयमा सबै जना भेट गर्छन्, रमाइलो गर्छन्, तास खेल्छन् तर विशेषगरी बुहारीलाई घरको कामले थचक्क थिचेको हुन्छ । कोहीकोही महिलाहरू भान्छाबाट एकछिन उम्किन पाउँदैनन् । रमाइलो गरेर बसेकाहरूलाई पकाएर खुवाउँदैमा दिन बित्ने गर्छ । कतिलाई त टीका थाप्न जाने समय पनि मिलाउन गाह्रो हुन्छ ।

दशैँ मुख्यतः परिवारका सबै सदस्य र आफन्त भेट गर्ने चाड पनि हो । टाढाटाढा रहेकाहरू पनि दशैँमा घर आउने गर्छन् । आफ्नो गच्छेअनुसारको मीठोमीठो पकवान पकाउने, खाने र खुवाउने पर्व पनि हो ।

दशैँ भन्नासाथ मासु जोडिएर नै आउने गर्छ । प्रायः हुने वा नहुने दुवैको घरमा मासु पकाएर खाने गरिन्छ दशैँमा । घरघरमा मासुका विभिन्न परिकारहरू पाक्ने गर्छन् । त्यसैले दशैँ भनेको मीठोमीठो परिकार खाने, परिवारका सबै सदस्य भेटघाट गर्ने र नितान्त आफ्नो कुरा गर्ने समय पनि हो ।

दशैँ कसरी मनाउने भन्नेबारे सबैको आआफ्नै तालिका हुन सक्छ । घुम्न जाने, तीर्थस्थल जाने, टाढाटाढा सदस्य रहेका ठाउँमा जाने अनि भेटघाट गर्ने रहन सक्छ । कसैका लागि भने मीठोमीठो पकाएर खाने भन्ने पनि हुन सक्छ । अधिकांशको घरमा आफूभन्दा मान्यजनसँग टीका थाप्न जानु नै पर्ने भएकाले मानिसको भीडभाड र खानपिन भन्ने कुरा त भइ नै हाल्छ । तर, दुःखको कुरो, रमाइलो गर्न र गराउन घरकी महिला नै बढी खटिएकी हुन्छिन् । विशेषगरी घरकी बुहारीले रमाइलो गर्ने समय पाउन मुस्किल हुन्छ चाडवाडमा ।

यो समयमा सबै जना भेट गर्छन्, रमाइलो गर्छन्, तास खेल्छन् तर विशेषगरी बुहारीलाई घरको कामले थचक्क थिचेको हुन्छ । कोहीकोही महिलाहरू भान्छाबाट एकछिन उम्किन पाउँदैनन् । रमाइलो गरेर बसेकाहरूलाई पकाएर खुवाउँदैमा दिन बित्ने गर्छ । कतिलाई त टीका थाप्न जाने समय पनि मिलाउन गाह्रो हुन्छ ।

यति हुँदाहुँदै पनि दशैँ महिलाहरूको पनि रमाइलो गर्ने चाड हो । यस्तो महत्त्वपूर्ण चाडमा महिला घरको काममा मात्र सीमित हुने होइन, आफूलाई गर्न मन लागेको कुरा गर्ने पनि हो । यस नवरात्रिमा कसैलाई पूजाआजा गर्न मन छ भने पूजाआजामै रमाउन सक्नुपर्छ । कसैलाई घुम्न जान मन लागेको छ भने घुम्न जान पाउनुपर्छ । कसैलाई केही नगरी आरामसाथ बस्न मन छ भने आरामसँग नै बस्दा हुन्छ । कसैलाई मीठोमीठो पकवान खान मन छ भने मीठोमीठो पकाएर खान पाउनुपर्छ । 

धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यति राम्रो दशैँ पर्वमा महिलाहरू घरको काममा मात्र सीमित हुनुहुँदैन । घरका महिला कामले थिचिने, पुरुषहरू भने रमाइलो गर्ने, मीठोमीठो खाने, यो पकाऊ, त्यो पकाऊ भनेर अर्डर मात्र गर्ने गर्नुहुँदैन । एक दुई थोक खानेकुराका आइटमहरू घरका पुरुषले पनि तयार पार्ने अनि पाहुनालाई पनि फलानोले पकाएको भनेर खुवाउँदा झनै राम्रो हुन्छ । यसो गर्दा कसले कस्तो पकाउनेरहेछ भन्ने पनि थाहा हुन्छ ।

महिलाहरूलाई पनि चाडवाडमा रमाइलो गर्न घरका अन्य सदस्यहरूले वातावरण मिलाइदिनुपर्छ । होइन भने दशैँ जस्तो यस्तो महत्त्वपूर्ण चाडमा महिला घरकै काममा मात्र दलिने हो भने महिलाहरूका लागि दशैँ दशा बन्न सक्छ । दशैँ सबैले रमाइलो गरी मनाऔँ, सबै मिलेर पकाउने गरौँ, घरको सरसफाइ सबै मिलेर गर्ने गरौँ । दशैँको मंगलमय शुभकामना ।