पोखरामा आगामी असोज २९ गते अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियशन (केएमईए)को आयोजनामा हुने प्रतियोगितामा दुवै देशका गरी करीब ३० टिम सहभागी हुने मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विश्वशङ्कर पालिखेले बताउनुभयो ।
सो प्रतियोगितामा चीनबाट सहभागी हुने १० टिमका लागि ३० खेलाडी र अन्य पदाधिकारी गरी ६० जना आउने बताइन्छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी १० तथा पोखराबाट १० टिमको सहभागिता रहनेछ । यहाँका पर्यटकीय सम्भावनाबारे विश्वलाई जानकारी गराई पर्यटकको बसाइ लम्ब्याउने तथा साहसिक पर्यटनको पर्याय नेपाल हो भन्नेबारेमा प्रचारप्रसार गर्नेे उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिखेले बताउनुभयो ।
दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट सुरु हुनेछ । दौडको दूरी २२ किमी, साइक्लिङ १९ र १.२ किमी ‘बोटिङ’ रहेको उहाँको भनाइ छ । दौडका क्रममा धावक एक हजार ३०० मिटर उचाइको मट्टिखान तथा पुम्दीभुम्दीसम्म पुग्ने बताइन्छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी र मेडल प्रदान गरिने तथा चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् । कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्त्वका साथ प्रचार प्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।
कार्यक्रमले गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९, नेपाल भ्रमण वर्ष तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन मद्दत पुग्ने र पर्यटकको बसाइ लम्ब्याउन सहयोगी हुने पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो ।