बिज्ञान चर्चा : ल गन्नुस् आफ्नो परिवार

बिज्ञान चर्चा : ल गन्नुस् आफ्नो परिवार

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन १, २०७५

कतै तपाईँले आफ्नो घर परिवारलाई नै ‘आफ्नो परिवार’ सम्झेर संकुचित जीवनयापन त गरिराख्नु भएको छैन ? मान्यता बदलौं मित्रजन ! साँचो वैज्ञानिक र आध्यात्मिक दृष्टिकोणमा सम्पूर्ण ब्रह्माण्ड नै हाम्रो परिवार हो । 

के सूर्य नभए तपाईँ आफ्नो वा पृथ्वीकै जीवन कल्पना गर्न सक्नुहुन्छ ? निश्चय पनि तपाईँको उत्तर ‘सकिन्न’ नै हुन्छ । पृथ्वीको जीवन सूर्यले नै हो भन्नेबारे पन्ध्र–बीस वटा प्रमाणिक तथ्य तपाईँ नै दिन सक्नुहुन्छ । 

फेरि सूर्यको जीवन र अस्तित्व पनि त ‘ग्यालेक्टिकल सेन्टर’को परिक्रमा नगरे रहन सक्दैन । आकाशगंगा पनि आफूलाई जीवन्त राख्न परिक्रमारत नै छ । 

आजको चर्चा परिवारको विस्तार सूर्यसम्म मात्रै ।

चित्र हेर्नुस्, कस्तो अनुशासित छ सूर्य परिवार । चित्रमा सबै ग्रह आ–आफ्ना पथमा अनुशासित भएर सूर्य परिक्रमा गरेको देख्न सकिन्छ । 

सबैभन्दा नजिकबाट क्रमशः बुध, शुक्र, पृथ्वी र मंगलले सूर्यको परिक्रमा गर्छन् । बुध र शुक्र एक्लै छन्, पृथ्वीसँग भने एउटा साथी प्राकृतिक उपग्रह चन्द्रमा छ । मंगलसँग दुईवटा प्राकृतिक उपग्रह ‘फाेबोस’ र ‘डिमोज’ छन् । प्राकृतिक उपग्रहले सोझै सूर्यको परिक्रमा गर्दैनन्, सम्बन्धित ग्रहको परिक्रमा गर्छन् । तर, ग्रहसँगै अपरोक्षरूपमा प्राकृतिक उपग्रहले पनि सूर्यको परिक्रमा गर्छन् । 

मंगलपछि वृहस्पति ग्रहले ६९ प्राकृतिक उपग्रह लिएर सूर्यको परिक्रमा गर्छ । सूर्यको परिवारमा वृहस्पति नै सबैभन्दा ठूलो ग्रह हो । वृहस्पति पछि शनि आफ्ना ६२ वटा उपग्रहका साथ परिक्रमारत छ, त्यसपछि अरूण ग्रह २७ वटा उपग्रहका साथ, अरूणपछि वरूण १३ उपग्रह लिएर र बरूणपछि क्षुद्रग्रह यम पनि ५ वटा उपग्रह लिएर सूर्यको परिक्रमा गरिरहेको छ । 

तर, यो चित्र अपूर्ण छ । मंगल र शुक्र ग्रहबीच ‘सेरेस’ नामक जम्मा ९५० किमी व्यास भएको क्षुद्र ग्रह पनि सूर्य परिवारकै सदस्य हो । ज्ञात ग्रह अनुसार वरूण नै सूर्यदेखि सबैभन्दा टाढाको ग्रह हो । वरूणभन्दा पारि रहेका (यम लगायत) अनेकौं संरचनालाई क्षुद्र ग्रह मानिएको छ । वरूण ग्रह पारिको क्षेत्र जसलाई ‘कुपियर बेल्ट’ भनिन्छ, त्यहाँ ३ सयभन्दा बढी क्षुद्र उपग्रह पत्ता लागेका छन् । ‘माकेमाके’, ‘एरिस’, ‘हाउमेया’, ‘डायस्नोमिया’ सबै क्षुद्र ग्रहमा राखिएका छन् । बुध ग्रह भन्दा सानो संरचनालाई (ग्रहलाई) खगोलविद्हरूले क्षुद्र ग्रह भन्ने गर्छन् । 

यसैगरी मंगल र वृहस्पति ग्रहबीच लाखौंका संख्यामा (एक मिटरदेखि १० लाख मिटरसम्मका) प्राकृतिक पिण्ड रहेका छन् । यस क्षेत्रलाई ‘एस्टेराइड बेल्ट’ भनिन्छ र यी पिण्डहरूलाई ‘एस्टेराइड’ । ‘४ भेस्टा’, ५२५ किमि ब्यास भएको ‘एस्टेराइड’ हो, यसले ३.६३ वर्षमा सूर्यको एउटा परिक्रमा पूरा गर्छ । यसैगरी ५१२ किमि ब्यास भएको ‘२ पलास’, ५०० किमि ब्यास भएको ‘१० हाइजिया’ प्रमुख ‘एस्टेराइड’ हुन् ।