धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले घटेर २४९.७८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ ।
बुधवार कुल १६१ कम्पनीका सात लाख ८५ हजार ७४० कित्ता शेयर २० करोड ३२ लाख ८७ हजार २३७ रुपैयाँमा खरिद बिक्री भयो । आज कारोबार भएका कुल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । सामूहिक लगानी कोष ०.०५ र अन्य उपसमूहको शेयर ६.०४ अङ्कले बढेको छ । त्यस्तै, बैंकिङ ४.५७, होटल ४९.८८, विकास बैंक ६.३४, जलविद्युत् ७.२४, फाइनान्स ०.७९, निर्जीवन बीमा ४८.८२, उत्पादन १७.४१, माइक्रोफाइनान्स २.३९ र जीवन बीमा ५४ अङ्कले घटेको छ । कारोबार रकमका आधारमा आज बैंक अफ काठमाडौं शीर्ष स्थानमा रह्यो । बैंक अफ काठमाडौँको संस्थापक शेयर दुई करोड २२ लाख ८४ हजार १६० रुपैयाँमा खरिद बिक्री भयो ।
यस्तै, बैंक अफ काठमाडौंको एक करोड ९१ लाख ८२ हजार १३४, युनाइटेड फाइनान्सको एक करोड ५८ लाख ३४ हजार ६२०, सिद्धार्थ बैंकको एक करोड आठ लाख ८६ हजार ५९५ र शिवम् सिमेन्टस् लिमिटेडको शेयर एक करोड दुई लाख ४६ हजार ५९ रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।
परिसूचक घटे पनि नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयरधनीले ६.३८ प्रतिशतले कमाए । यस्तै, आँखुखोला जलविद्युत् कम्पनी ५.६६, युनाइटेड फाइनान्स कम्पनी ३.३१, सिन्धु विकास बैंक ३.३१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाउँदा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५.०५, सेन्ट्रल फाइनान्स कम्पनी ४.३८, एनएलजी इन्स्योरेन्स कम्पनी ४.३३ र नाङ्दी ग्रुप पावरका शेयरधनीले ३.९२ प्रतिशतले गुमाए ।