मुढाको आम्दानी घर पठाउँदै कैदीबन्दी

मुढाको आम्दानी घर पठाउँदै कैदीबन्दी

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १, २०७५

तनहुँ । दस वर्षदेखि तनहुँ कारागारमा सजाय काटिरहनुभएका ६७ वर्षीय नरबहादुर चन्दले कारागारभित्रै मुढा बुन्न थालेको साढे दुई वर्ष भयो ।

बिहान उठेदेखि नै दिनभर उहाँ मुढा बुन्ने काममा व्यस्त रहने गर्नुहुन्छ । कारागारमा यत्तिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको काम गरौं भन्ने लागेर मुढा बुन्ने काममा खटिएको उहाँले बताउनुभयो ।
कारागारमा मुढा बुन्ने कामले मन बहलाउनुको साथै आम्दानीको स्रोत पनि भएको चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कारागारमा यत्तिकै बसिरह्यो भने पागल जस्तो भइन्छ । मुढा बुन्ने कामले दिन काट्न सजिलो भएको छ ।’

सीप सिकेर मुढा बुन्ने काम गर्दा समयको सदुपयोगसँगै केही आम्दानी पनि भएको चन्दले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘विगतमा गल्ती भयो, अहिले कारागारमा त्यसकै सजाय काट्दैछु, यत्तिकै बस्न मन लागेन अनि मुढा बुन्न सुरु गरेँ ।’

उहाँका अनुसार एउटा मुढा तयार गर्नका लागि दुई÷तीन लाग्छ । एउटा मुढा तयार भएपछि ठिक्क खालको मुढा चार सय रूपैयाँमा बिक्री हुन्छ । उहाँले श्रम अनुसार मूल्य भने नपाएको गुनासो गर्नुभयो ।

कारागारमा मुढा बुनेर मासिक पाँचदेखि छ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुढा बुनेर आम्दानी भएको पैसा घरमा पठाउने गरेको छु ।’

कारागारमा रहनुभएका अर्का कैदी महेन्द्र गुरुङले सीपले मन बहलाउनुका साथै आम्दानी पनि भएको बताउनुभयो । उहाँले पनि मुढा बुनेर भएको आम्दानी घरमा पठाउने गरेको जानकारी दिनुभयो ।

कारागारमा रहेका कैदीबन्दीले दसैं, तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन् । दसैँ तिहारमा मुढाको बढी माग हुने भएकाले चाडपर्वको बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याइ हुने गरेको कारागारका चौकीदार नरबहादुर थापाले जानकारी दिनुभयो ।

मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । एक जनाले मासिक पाँचदेखि छ हजार रूपैयाँसम्म कमाइ गर्ने गरेका छन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये ७० जनाले मुढा बुन्ने सीप सिकेर दैनिकरूपमा मुढा बुनिरहेको उहाँले जानकारी दिनुभयो । कैदीबन्दीले फर्निचर, पेन्टिङ लगायतका सीपसमेत सिक्न चाहे पनि ठाउँ अभावका कारण ती सीप प्रदान गर्न नसकिएको चौकीदार थापाले बताउनुभयो । कारागारका निमित्त प्रमुख नारायण अधिकारीले कैदीबन्दीकै माग बमोजिम कारागारमा तीन महीने सिलाइकटाइ तालिम सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कैदीबन्दीलाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने गरेका छौं ।’ यो खबर राससमा छ ।