विगतको जस्तो छैन अहिलेको दशैँ
आश्विन १६, २०७६

दशैँ एउटा कृषि पर्व हुनुपर्छ । कृषकहरूले वर्षाभरि खेतीमा काम गर्ने र हिउँद लागेपछि या धान पाकेपछि आफैँले पालेको खसी, बोका, सुँगुर, राँगा आदि काटेर मान्ने गरेको देखिन्छ । पछिपछि हिन्दु धर्मसँग जोडिएर हिन्दु धर्मावलम्बीको महान् चाड दशैँ पहिलो र तिहार दोस्रो भन्दै आइरहेको पाइन्छ ।

अहिलेसबै नेपालीको चाडका रूपमा दशैँ–तिहारलाई लिने र मान्ने गरिएको पाइन्छ भने केही मानिसहरू यसलाई चाडका रूपमा नमान्नेहरू पनि नेपालमा छन् । दशैँ–तिहार आफैँमा ठूलो चाड केही पनि होइनन् तर हाम्रो राज्यसत्ताले नै महान्, ठूलो, बडा आदि बनाएका हो भन्ने तर्क राख्ने मानिसहरूको पनि कमी छैन । यी चाडका खराब पक्षका बारेमा प्रश्न र केही असल संस्कार संस्कृतिको संरक्षण गर्नु भने जरुरी छ ।

बाल्यकालको सम्झना : सामाजिक अभियानका मेरा दशैँ–तिहार

बाल्यकालको दशैँको सम्झना आजसम्म पनि मेरो मानसपटलमा एउटा ‘नोस्टाल्जिया’ बनेर रहेको छ । ‘मसला मेथी चवालीस सालको सम्झना यति...’ यो गीत मैले २०४४ सालको दशैँको टीका लागाउन फुपूको मितबाकहाँ जाँदा सुनेको गीत हो । यही समयदेखि मलाई दशैँको सम्झना छ । दशैँको अर्को सम्झना मावली जाँदा मावलीले टीका लगाएर दिनुभएको ढ्याके पैसा गोजीमा हालेर बजाउँदै आमासँग घर फिरेको सम्झना अविष्मरणीय लाग्छ ।

दशैँ आउनुभन्दा एक महिना अगाडिदेखि नै बुबाआमासँग नयाँ लुगा किनिदिनेबारेमा मैले गरेको जिद्दी र झगडाको बारेमा भनिसाध्य छैन । बल्लबल्ल किनिदिएको पाइन्टको कपडा बले दाइले छेकेर सिलाइदिँदा पनि बिगारिदिएपछि दशैँ–तिहारमा नयाँ पाइन्ट लगाउने धोको पूरा नहुँदा रिसाउनु कम्ती होइन ।

दिक्तेल बजारमा बाहुनको कपडा पसल भनेपछि धेरै नाम चलेको । बाँकी पनि दिने । अनि दशैँको लुगा किन्न बुबा त्यहाँ जानुहुन्थ्यो । केही पैसा दिएर बाँकीमा पनि कपडा ल्याउनुहुन्थ्यो । सबै परिवारलाई कम्तीमा एउटा एउटा नयाँ लुगा लगाउनुपर्ने चलन नै थियो । कपडा हिजोआजका झैँ सिलाएका रेडिमेड पाइँदैनथ्यो । किनेर सिलाउनै पर्ने । दशैँमा घरैमा दर्जी ल्याएर लुगा छेकेर सिलाउने चलन थियो ।

जब बुबाले दशैँ लुगा लिएर घर आउनुहुन्थ्यो, मलाई कतिखेर सिलाएर लगाऊँ भन्ने कौतूहल हुन्थ्यो । म कपडा सिलाउन पुरानो गाउँ, जसलाई दमाईंगाउँ भनिन्थ्यो (अहिले दर्जी टोल भएको छ) बिहानै झर्थें । दशैँको समयमा ज्यादै व्यस्त हुन्थे दर्जीहरू । आफूलाई कतिखेर नयाँ लुगा सिलाएर लगाऊँ भन्ने हुन्थ्यो । फेरि दर्जीहरू पनि आआफ्नै हुन्थे । बालीमा सिलाउने चलन थियो । हाम्रो सात जनाको परिवार थियो । वार्षिक सात पाथी बाली भर्नुपथ्र्यो । त्यसवापत वर्षाभरि जो बाली लिने दर्जीले त्यो घरको सबै लुगा सिलाउनुपथ्र्यो अनि दशैँको छुट्टै भाग पनि दिने चलन थियो ।

अहिलेको समाज धेरै फेरिएको छ । त्यो समयमा जातीय विभेद निकै चर्को थियो । कामी, दमाईं, सार्की आदि पहाडे मूलका दलित तथा उत्पीडित जातिमा पर्थे तर अहिलेको कानुन र जनचेतनाको स्तरले धेरै परिवर्तन भएको छ । यद्यपि, छुवाछुत जस्ता घीनलाग्दा कुसंस्कार अहिले पनि पूर्ण रूपमा समाप्त भएका छैनन् । दमाईंलाई  दर्जी हुँदै टेलर भन्न थालिएको छ । विभिन्न राजनीतिकर्मीहरूले दलित शिल्पी आदिका नामले सम्बोधन गर्न थालेका छन् । तर, कामको सम्मान गर्न नजान्ने त्यसबेलाको उँच र नीच जातीय, वर्गीय विभेदले गर्दा कपडा सिलाउँदै गरेका दमाईंहरू पुख्र्यौली पेसा छाडेर अन्य पेसा वा वैदेशिक रोजगारीमा लागेका छन् ।

नेपालमा सामन्ती राज्यसत्ताले कामको आधारमा जात र वर्ग विभाजन गरेपछि दलित समुदायले गर्ने सबै पेसा कपडा सिलाइकटाइ, जुत्ता सिलाउने, फलामका काम गर्ने अर्थात् कृषि औजार निर्माण गर्नेजस्ता सीपमूलक पेसा व्यवसायहरू लोप हुँदै गएका छन् ।

दशैँ आयो कि मलाई ती नयाँ लुगा सिलाउने बलबहादुर दर्जी दाइको याद आउँछ । दशैँमा रहरले छेकेर सिलाइदिनुभएको तर सिलाइ बिग्रिएर दशैँको दिनमा लगाउन नपाएको मेरो ढुङ्ग्रे पाइन्टको सम्झना आउँछ । वास्तवमा मैले पनि रिसले उहाँलाई निकै गाली गरेको, हेपेको थिएँ । मलाई पनि कामी, दमाईंलाइ हेप्नुपर्छ, यी भनेका हाम्रा लागि काम गर्ने नै हुन् जस्तो लाग्थ्यो तर मनमनै किन यी दलित भएर जन्मिए होलान् भनेर माया भने लाग्थ्यो ।

पछि थाहा हुँदै गयो– यो त ज्यादै गलत संस्कार रहेछ । त्यसपछि हामीले २०५५ सालकै दशैँको अवसरमा स्थापना गरेको फूलपाती सेवा समाजबाट हाम्रो गाउँमा हुने सबै दलितको प्रतिनिधित्व हुने गरी सहभोजको आयोजना गरियो । त्यो निकै सफल पनि भयो । हामीले छुवाछुतमुक्त समाजको सुरुवात त्यही वर्षबाट गरेका हौँ । अहिले हाम्रो गाउँमा खासै छुवाछुतको अवस्था छैन । युवाहरूमा चेतना राम्रो छ । केही बुढाबुढीहरूमा मात्रै यो समस्या छ तर उनीहरूलाई पनि हामीले धेरै सचेत बनाइसकेका छौँ ।

पिङमा रमाइलो पक्षचाहिँ लोक दोहोरी हुन्थ्यो । मादल बजाउँदै दुई पक्ष बसेर दोहोरी गाउने, नाच्ने र रमाइलो गर्ने हुन्थ्यो । कतिले त पिङमा मायाप्रेम गरेर विवाह पनि गर्थे । हामीभन्दा अघिल्लो पुस्ता थियो, जो भाका बस्थे । भाका भनेको हाम्रो उभोखोलाको छुट्टै संस्कृति हो, जहाँ केटा र केटी ओडारमा बसेर मायाप्रेमका कुरा गर्ने, गीत गाउने, मीठोमीठो बनाएर बोकेर लगेर खाने संस्कृति हो ।

अर्को दशैँको सम्झनलायक विषय भनेको सांस्कृतिक कार्यक्रम हो । दशैँ–तिहारका अवसरमा हामी स्थानीय त्यागी कलाकार गंगा राईको नेतृत्वमा हाम्रो संस्था फूलपाती सेवा समाजबाट नाटक, नृत्य, गीत, संगीत, कविता आदिलाई समेटेर गाउँगाउँ, टोलटोल दशैँ–तिहारमा घुमाउने गथ्र्यौं, जसको प्रभाव नै आज म एउटा कवि, लेखक तथा गीतकारको रूपमा आफ्नो परिचय निर्माण गर्दै छु ।

मलाई मादल बजेपछि घरको जस्तोसुकै काम छाडेर पनि मादल र हार्मोनियम बजेका ठाउँमा पुग्नै पर्ने । कुनै दिन वस्तु एक बजे नै बाँधेर जान्थेँ, कहिले वस्तुलाई पानी नै खान नदिई भागेर जान्थेँ । त्यो समयका अग्रजहरूमा धनप्रसाद गिरी, जय गुरुङ, गंगा राई, संजिव राई, मण्डल राई थिए भने युवाहरूमा हातीराम राई, धनराज गुरुङ, राजन बानियाँ, पवन गिरी, मित्र गिरी, कमल राई, भूमिराज गुरुङ, खम्बासिंह राई मलगायतले निकै महत्त्वपूर्ण जिम्मेवारी निभाएका थियौँ । 

कमलदेवी बानियाँ, संगीता बानियाँ, आरती राई, नन्दकुमारी गुरङ आदिको निकै महत्त्वपूर्ण योगदान रहेको छ । गंगा राईको क्रियाशीलताले आज हाम्रो समाजको समाजिक सांस्कृतिक अभियानमा निकै महत्त्वपूर्ण भुमीका निभाएको छ । हामीले देउसी खेलेर उठेको रकम र जनश्रमबाट फूलपाती सेवा समाजको भवन निर्माण गरेका हौँ ।

मेरो दशैँ–तिहार सामाजिक योगदानमा काम गर्दै बित्ने गथ्र्यो । हामीले भलिबलमा राष्ट्रिय खेलाडीसम्म जन्माउन सफल भएका छौँ ।

पिङको सांस्कृतिक पक्ष

दशैँ–तिहारको अवसरमा पहिला फूलपाती डाँडामा रोटेपिङ थाप्ने चलन थियो । दशैँदेखि तिहारपछिको एकादशीसम्म पाँच पाँच दिनको अन्तरमा पिङ लाग्थ्यो । पिङ खेल्न नेर्पा, खार्मी पाथेकालगायत विभिन्न ठाउँबाट मान्छेहरू आउँथे । रातको समयमा भव्य पिङ लाग्थ्यो ।

डाइस सबैभन्दा बढी खेल्ने चलन थियो । म पनि दश–बीस रुपैयाँ बोकेर डाइस खेल्न बस्थेँ । कहिलेकाहीँ जति आफूसँग थियो, सबै हार्दा निद्रासमेत लाग्दैनथ्यो । कहिलेकाहीँ यो खेलकै विषयमा ठूलो झगडासमेत पथ्र्यो । झगडा सुरु हुन लाग्यो भने हामीचाहिँ भागा रे भाग हुन्थ्यौँ ।

पिङमा रमाइलो पक्षचाहिँ लोक दोहोरी हुन्थ्यो । मादल बजाउँदै दुई पक्ष बसेर दोहोरी गाउने, नाच्ने र रमाइलो गर्ने हुन्थ्यो । कतिले त पिङमा मायाप्रेम गरेर विवाह पनि गर्थे । हामीभन्दा अघिल्लो पुस्ता थियो, जो भाका बस्थे । भाका भनेको हाम्रो उभोखोलाको छुट्टै संस्कृति हो, जहाँ केटा र केटी ओडारमा बसेर मायाप्रेमका कुरा गर्ने, गीत गाउने, मीठोमीठो बनाएर बोकेर लगेर खाने संस्कृति हो । एउटा गाउँकी चेली अर्को गाउँका बाउमाइतीहरूसँग पनि भाका बस्ने चलन थियो । अहिले यो पूर्ण रूपमा लोप भइसकेको छ ।  यसबारेमा अनुसन्धान गरेर एउटा लेख लेख्ने नै छु ।

तिहारको मेरो निकै भावुक सम्झना छ । तिहारमा हामी समाजको देउसी खेल्नुभन्दा अगाडि अलिक सानै उमेरमा आफूआफू मिलेर देउसी खेल्न जान्थ्यौँ । हाम्रा दुईवटा लक्ष्य हुन्थे– एउटा रहर पूरा गर्ने र अर्को फूलटीका लगाउने अनि पैसा जम्मा गर्ने । म प्रायः देउसी भट््याउनेमा पर्थें । खेल्नेजति सबैले दामासाहीका दरले पैसा बाँड्दा आफूले पाएको पैसा गन्दै गोजीमा राख्दा क्या मज्जा आउँथ्यो ।

हामीले सामाजिक अभियानमा काम त गर्छौं तर सामाजिक कार्यको महत्त्वपूर्ण एउटा काम भनेको नेतृत्व निर्माण रहेछ । सही र असल नेतृत्व जन्माउन र नेतृत्व हस्तान्तराण गर्न सकिएन भने समाज निकै पछि पर्ने र कहिलेकाहीँ त दुर्घटनामै पर्नेरहेछ । मैले अनुभव गरेको निकै गम्भीर विषय हो यो । यो विषयले आज हरेक संघसंस्था, राजनीतिक दल र देशको नेतृत्वमा समेत बहुत महत्त्व राख्छ ।

गोरु तिहारको दिन रातै देउसी खेलेपछि भाइटीका लगाउन हामी तयार हुन्थ्यौँ । भाइटीकाको दिन गलाभरि चेलीले लगाइदिएका फूलमाला लगाएर गाउँभरि खाँदै र खेल्दै साथीभाइहरूसँग डुल्दाका यादहरू झनै ताजा लाग्छन् ।

पहिला घरमा दिदीबहिनीको हातबाट फूलटीका लगाएपछि हामी गाउँभरिका युवाहरू गंगा राई कान्छीकहाँ टीका लगाउन जान्थ्यौँ । त्यहाँ सबै भेला भएर नाचगानसहित फूलमाला लगाउँदाको क्षण क्या रमाइलो हुन्थ्यो ! पछि म गाउँ छाडेर काठमाडौं गएको केही वर्षपछि तिहारमा फेरि कान्छीकहाँ टीका लगाउन गएँ । त्यो दिन अगाडिको जस्तो कुनै रौनक थिएन । खासै कोही साथीभाइहरू पनि भेला भएका थिएनन् । कान्छीले त केही वर्ष अगाडि नै फूलटीका लगाउन छोडिछन् । उनका भाइहरू पनि गाउँतिर गएर टीका लगाउँदारहेछन् । किन उनले छोडिन् ? यो विषय अहिलेसम्म पनि मेरा लागि रहस्यमय नै छ । मनमा भने अझै पनि कस्तो कस्तो लागिरहन्छ ।

हामीसँग त्यो समय गाउँभरि युवाहरू थिए । दशैँ–तिहार आउँदा देउसी भैलो खेल्दै, सांस्कृतिक कार्यक्रम, दोहोरी, भलिबल, खेल्दै समाज परिवर्तन र जागरणका विषयमा काम गर्दै जाँदा ज्यादै आनन्द आउँथ्यो ।

समयको गतिसँगै त्यो समय र उमेरका हामी गाउँमै बसेर सधैँ काम गर्न सकेनौँ । कोही साथीहरू रोजगारीका लागि विदेश गए । कोही लाहुरे लागेर भर्ती गए । कोही विवाह गरेर व्यावहारिक भए । म पनि पढाइको सिलसिलामा गाउँबाहिर हुँदै गएँ ।

हामीले सामाजिक अभियानमा काम त गर्छौं तर सामाजिक कार्यको महत्त्वपूर्ण एउटा काम भनेको नेतृत्व निर्माण रहेछ । सही र असल नेतृत्व जन्माउन र नेतृत्व हस्तान्तराण गर्न सकिएन भने समाज निकै पछि पर्ने र कहिलेकाहीँ त दुर्घटनामै पर्नेरहेछ । मैले अनुभव गरेको निकै गम्भीर विषय हो यो । यो विषयले आज हरेक संघसंस्था, राजनीतिक दल र देशको नेतृत्वमा समेत बहुत महत्त्व राख्छ ।

चाडपर्वलाई हामीले सबैको अपनत्व दिएर मनाएका थियौँ । दशैँ–तिहार या अन्य चाडपर्वहरू हामी विभेदरहित बनाउने कोसिस गर्दै मनाउथ्यौँ । पछिपछि दशैँ–तिहार जस्ता चाडहरू निकै महँगा हुँदै गए । मानिसहरू ऋण पर्न थाले । यो समयमा खेलिने जुवातासले राम्रो सन्देश दिएनन् । त्यसैले कतिले त मान्न पनि छाडे । संस्कृतिले विकृतिको रूपमा लियो भने त्यो चिज सधैँभरि रहन पनि सक्दैन । हामीले कुनै पनि चाडपर्वका राम्रा पक्षहरूलाई आत्मसात् गरेर मान्नु राम्रो हो भन्ने मेरो विचार हो ।

निष्कर्ष

आज समयको सन्दर्भ सँगसँगै चाडपर्वका विषयमा विभिन्न खोज, अनुसन्धान भएका छन् । पछिल्लो समय राजनीतिक विषयहरू बनेका छन् नेपाली चाडपर्वहरू । दशैँ–तिहारप्रतिको मेरो व्यक्तिगत धारणा पनि बाल्यकाल र अहिलेमा निकै फरक बनिसकेको छ । त्यो समयको जस्तो मिठास पक्कै पनि अहिलेको दशैँ–तिहारले दिन सक्दैन ।

पहिलेका दशैँ–तिहार नयाँ लुगा र मीठो खानासँग जोडिएका हुन्थे । पारिवारिक तथा नातानाला भेटघाटसँग जोडिएका हुन्थे । अहिले समाज परिवर्तित बनिसकेको छ । दशैँ–तिहारभन्दा अन्य कार्यक्रमहरू दैनिक आइरहेका छन् ।

पुँजिवादी समाजको सम्बन्ध नै आम्दानीसँग जोडिएको हुन्छ । जन्मदिनको पार्टी, विदेश पढ्न जाने पार्टी, भोज जस्ता सामान्य कार्यमा पनि दशैँभन्दा बढी खर्च गर्न थालिसेका छन् हुनेखानेले भने आम्दानी नहुनेहरूको जीवनशैली निकै कठिन हुँदै गएको छ ।

दशैँ–तिहार परदेशिएका परिवारहरूको बाआमा भेट्ने गतिलो सन्दर्भचाहिँ अहिले पनि हो । यसले परिवारलाई जोड्ने गर्छ । आफ्नै नातिनातिनाले हजुरबा हजुरआमा चिन्न कठिन हुँदै आएको हाम्रो समाजमा यी चाडहरूले निकै महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् तर दशैँ–तिहार नमान्नेहरूका लागि यो दशैँ–तिहारको समयले निकै ठूलो मनोवैज्ञानिक असर भने पारेको देखिन्छ । समयअनुसार परिमार्जन गर्न र छोटो समयमा यी यस्ता चाडपर्वहरू मनाउन जरुरी छ ।  यसमा गरिने अनावश्यक खर्च र जुवातास खेल्ने कुसंस्कारहरूको अन्त्य नै गर्न जरुरी छ ।

बहुसांस्कृतिक मुलुकमा चाडपर्वहरूको उचित पहिचान र सुन्दर पक्षको प्रचार र संरक्षण अनि खराब पक्ष बहिष्कार गर्न सक्यौँ भने हामी सुसंस्कृत हुँदै जान्छौँ । सधैँ यी यस्ता विषयहरूलाई राजनीतिक विषय बनाएर जनतालाई विभाजन गर्दै गयौँ भने हामी सुसंस्कृत बन्न सक्दैनाँै । म समयअनुकूल परिमार्जित हुन चाहन्छु मेरो पुरानो सोच नयाँ समयअनुकूल परिमार्जित भएको छ । त्यो समयको दशैँ–तिहार सम्झनामा सधैँ आइरहन्छ । आज पनि ती दशैँ–तिहार सम्झिरहेको छु । फेरि सांस्कृतिक रूपान्तरणको पक्षमा हाम्रो अभियान सुरु पनि भएको छ । दशैँ–तिहारलाई हाम्रै कृषि उत्पादनसँग जोडेर कृषि पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन, पारिवारिक जमघट जस्ता विषयमा सुसंस्कृत दशैँ–तिहारको सुन्दरता भने सधैँ रहनेछ ।